काठमाडौँ, ५ चैत । पाँचजना विदेशी नागरिकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ। उनीहरुलाई कोरोना भाइरस (कोभिड १९) को आशंकामा अस्पताल भर्ना गरिएको हो ।
अस्पतालका निर्देशक डा. सागरराज भण्डारीका अनुसार भर्ना भएकामध्ये चारजना आइसोलेसनमा रहेका र एकजनालाई आइसियूमा राखेर उपचार गरिरहेको छ ।
भर्नाका सबै जना अमेरिका र स्कटल्याण्डका नागरिक हुन्। गत सोमबार उनीहरुलाई भर्ना गरिएको थियो।
एकजनालाई भने गम्भीर निमोनिया देखिएपछि सोमबार नै आइसियूमा राखेर उपचार गरिएको भण्डारीले बताए।
'उहाँको अवस्था अलिक जटिल देखिएपछि आइसियूमा भर्ना गर्यौ' उनले भने, 'तर उहाँको परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ। फेरि दोस्रो परीक्षण गर्ने तयारी गर्दैछौं।'
आइसियूमा रहेका उक्त व्यक्तिको अवस्थामा राम्रो सुधार आएको भन्दै उनले आजै आइसियूबाट बाहिर निकाल्ने तयारी गरेको बताए। उनले भने 'सबै विरामीको परीक्षणको नतिजा बेलुकासम्म आउने छ ।'
टेकु अस्पतालमा पाँच वटा मात्र आइसोलेसन बेड रहेकोमा सबै भरिएका छन्। यो बेला थप शंकास्पद बिरामी आए पाटन अस्पतालमा पठाइने निर्देशक भण्डारीले बताए।