काठमाडौँ, ५ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तीन हप्तासम्म विद्यालय बन्द गर्न अपिल गर्नुभएको छ। उहाँले सो अवधिमा स्कुले उमेरका करिब ७० लाख बालबालिकालाई परिवारसँग घरमै बस्न अपिल गर्नुभएको हो।
एसईई परीक्षा शुरू हुनु दुई दिनअघि हिजो मंगलबार जारी गर्नुभएको अपिलमा मन्त्री पोखरेलले भोलि बिहीबारदेखि शुरू हुने माध्यमिक शिक्षा परीक्षा ९एसईई० भने नरोकिने जानकारी दिनुभएको छ। उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गरिने भएकाले परीक्षा नरोकिने स्पष्ट पार्दै उहाँले सबै विद्यार्थीलाई ढुक्क भएर परीक्षामा सहभागी हुन आग्रह गर्नुभएको छ।
‘संकटको अवस्थामा सबैले सहयोग गर्नुपर्ने दायित्व भएकाले अपिल गरेका हौं। विश्वविद्यालयले लिइरहेको र अब लिने परीक्षाको विषयमा कस्तो निर्णय गर्ने भन्ने विषयमा उपकुलपतिहरूसँग छिट्टै बैठक बसेर निर्णय दिइनेछ।’
मन्त्री पोखरेलले आज ५ गतेसम्म परीक्षा सकिएका १ देखि ९ कक्षासम्मका सबै विद्यार्थीलाई भोलिबाट परिवारसँग बस्न अपिल गर्नुभएको छ। कोरोना भाइरसको संक्रमणको त्रास रहेको अवस्थामा परीक्षा सकेका विद्यार्थीलाई घरबाहिर नजान र यो अवधिमा मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखी विद्यालयमा सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न उहाँले अपिल गर्नुभएको छ।
मन्त्रालयको अपिल सबैले पालना गर्नुपर्ने बताउँदै मन्त्री पोखरेलले भन्नुभएको छ– ‘कतिपय स्थानीय तहले मन्त्रालयको निर्देशन अटेर गरी आ–आफ्नै ढंगले परीक्षा सञ्चालन र विद्यालय भर्नासम्मका क्रियाकलाप गर्न थालेपछि शिक्षाले संघीय मन्त्रालयमार्फत सबै कार्यक्रम स्थगित गर्न मन्त्रालयले पत्र पठाउने तयारी गरेको छ।’
उहाँका अनुसार विशेष गरी भर्ना र वार्षिकोत्सवलगायतका कार्यक्रम रोक्न अपिल गरिएको हो। अटेर गर्ने विद्यालयलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयसँग राय लिइनेछ।
नेपाल समाचारपत्रसँगको कुराकानीमा मन्त्री पोखरेलले भन्नुभयो– ‘संकटको अवस्थामा सबैले सहयोग गर्नुपर्ने दायित्व भएकाले अपिल गरेका हौं। विश्वविद्यालयले लिइरहेको र अब लिने परीक्षाको विषयमा कस्तो निर्णय गर्ने भन्ने विषयमा उपकुलपतिहरूसँग छिट्टै बैठक बसेर निर्णय दिइनेछ।’
स्वास्थ्य क्षेत्रका विज्ञ तथा शिक्षाका सरोकारवालसँगको परामर्श र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको उच्चस्तरीय समितिसँगको छलफल तथा विश्लेषणका आधारमा एसईई परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै पर्याप्त सावधानी अपनाएर सञ्चालन र व्यवस्थापन गर्ने प्रबन्ध गरिएको मन्त्रीको अपीलमा उल्लेख छ।
नेपाल समाचारपत्र दैनिकबाट साभार