Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • चुनावकाे मुखमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूबीच झडप बढ्दाे


    बुधबार, बैशाख २८ २०७९
    710
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरूबीच भएका झपडका घटनाहरू बढेका छन् । दुई सातायता भएका हिंसात्मक घटनामा राजनीतिक दलका नेताहरुको संलग्नता देखिएको हो । प्रहरी प्रधानकार्यालयका अनुसार दुई सातायता डेढ सयभन्दा बढी कुटपिट र विवादका घटना भएका छन् । 

    मंगलबारमात्र तनहुँ, दार्चुला, स्याङ्जा र प्युठानमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भए । ३० वैशाखमा स्थानीय तह निर्वाचन हुँदै छ । तर, राजनीतिक दलका कार्यकर्ताहरुबीच भने झडपका घटना बढेका छन् । मंगलबार तनहुँको भिमादमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा सात घाइते भए ।  

    मंगलबार साँझ दार्चुलाको दुहु गाउँपालिका ५ का एमालेका वडा अध्यक्ष पदका उम्मेदवार मानसिंह बडालमाथि कुटपिट भयो । सत्तरुढ गठबन्धनका कार्यकर्ताको कुटपिटबाट घाइते उनको जिल्ला अस्पताल दार्चुलामा उपचार गरेपछि थप उपचारका लागि राति नै धनगढी पठाइएको थियो । सो घटनामा घाइते भएका अन्य दुईजनाको अवस्था भने सामान्य रहेको छ । 

    प्युठानको नौबहिनी गाउँपालिका–८ फोप्लीमा मंगलबार नै एमाले र सत्तारुढ गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा दुईजना घाइते भएका छन् । 
    सोमबार महोत्तरी, मकवानपुर, गुल्मी, रुकुमपश्चिम, रुपन्देही, दैलेख, बैतडीसहित जिल्लामा झडपका घटना भए । महोत्तरीको रामगोपालपुर– ७ मा एमाले र माओवादी कार्यकर्ताबीच झडप भएको थियो भने मकवानपुरको बकैया गाउँपालिका–७ मा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा दुईजजना घाइते भएका थिए । 

    गुल्मीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच सोमबार कुटाकुट भयो । झपडमा परेर माओवादीका गाउँपालिका कमिटीका अध्यक्ष लिलबहादुर केसी घाइते भए । 

    रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– १० मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार चक्र कुमारीले प्रचारमा प्रयोग गरेका मोटरसाइकल माओवादी कार्यकर्ताले तोडफोड र आगजनी गरेपछि दुवै पक्षबीच झडपको अवस्था सृजना भयो । पछिल्ला केही दिनयता रुकुमपश्चिममा दैनिकजसो विवाद र झडप भइरहेका छन् ।  

    यस्तै सोमबार नै रुपन्देहीको बुटवलमा वडा नम्बर १२ का अध्यक्ष उम्मेदवार देवीप्रसाद रेग्मीको बा.२०च ६७८५ नम्बरको गाडीमा आक्रमण भयो । दैलेखको आठबिस नगरपालिका–४ मा एमालेका उम्मेदवारले चुनावी प्रचारका लागि प्रयोग गरेको बा.१९च ५५७९ नम्बरको गाडीमा आगजनी भयो । 

    बैतडी डिलासैनी गाउँपालिकाको अध्यक्षको उम्मेदवार रहेका माओवादीका लोकेन्द्र राना कुटपिट गरेको आरोपमा पक्राउ परे । चुनावको मिति नजिकिँदै जाँदा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुबीच झडप भएका हुन् । उम्मेदवार चयनदेखि प्रचारप्रसारका विषयमा विवाद हुँदा कुटपिट, विवाद र झडपका घटना भएका हुन् । 

    निर्वाचनमा सहभागी भएका दलहरुबीचकै झडपको अवस्थाले प्रहरीलाई चुनौती थपेको छ । यसअघिका निर्वाचनमा भूमिगत समूहबाट सुरक्षा चुनौैती रहेको निष्कर्षसहित रणनीति तय गरेको प्रहरी यसपटक निर्वाचनमै सहभागी झडप नियन्त्रणमा खटिएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार