काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले आगामी सातादेखि देशभर इन्टरनेट सेवा बन्द हुने चेतावनी दिएका छन् । सेवा प्रदायकले विज्ञप्ति नै निकालेर अर्को सातादेखि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टाटा, एयरटेल र सिफी जस्ता कम्पनीलाई विदेशी रकममा भुक्तानी सिफारिस पूर्ण रूपमा बन्द गरेको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘जसकारण विगत ६ महिनादेखि भुक्तानी रोकिएको छ ।’
मन्त्रालयले विदेशी मुद्रामा भारतीय इन्टरनेट प्रोभाइडरलाई भुक्तानी रोकेको विरोधमा यही वैशाख १९ गते मनाइने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा सहभागि नहुने इन्टरनेट व्यवसायीले घोषणा गरेका छन् । यही वैशाख १४ गते बसेको कार्यसमिति बैठकले दिवसलाई पूर्ण रूपमा बहिस्कार गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
आगामी सातादेखि इन्टरनेटसहित टिभी सेवा प्रदायकहरूको सेवा पनि रोकिन सक्ने बताइएको छ । विदेशी मुद्रा सिफारिस नगरी सहजीकरण नगरेकाले टिभी सेवा पनि बन्द हुने स्थिति आउन सक्ने एसोसिएसनले बताएको छ ।