Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाली राजदूतद्वारा इरानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश


    मंगलबार, बैशाख १३ २०७९
    700
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानका राष्ट्रपति अयातोल्लाह सैयद इब्राहिम राइसीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

    तेहरानस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित समारोहमा इरानका गैरआवासीय राजदूतका रूपमा अधिकारीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । त्यसक्रममा राजदूत अधिकारीले इरानका राष्ट्रपतिको स्वास्थ्य, सुख, शान्ति र इरानका मित्रवत जनताको निरन्तर प्रगति एवं समृद्धिको कामना गरेका थिए ।

    उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपाली जनताका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरेको इस्लामावादस्थित नेपाली राजदूतावासले मंगलबार जनाएको छ ।

    राष्ट्रपतिले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपालका जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दै आफ्नातर्फबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा र नेपाली जनतामा शुभकामना व्यक्त गर्न राजदूत अधिकारीलाई आग्रह गरेका छन् ।

    राजदूत अधिकारीले नेपाल र इरानबीचको सम्बन्ध सधैँ आपसी विश्वास र सहयोगमा आधारित रहेको बताए । उनले नेपाल र इरान असंलग्न आन्दोलन, समूह ७७, संयुक्त राष्ट्रसङ्घलगायत अन्य महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा साझा सरोकारका विभिन्न विषयमा मिलेर काम गरिरहेको पनि बताए । राजदूत अधिकारीले नेपाल र इरानबीचको सम्बन्धलाई प्रगाढ बनाउन आफूले इमान्दार प्रयास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार