काठमाडौं । मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने नेपाल स्वास्थ्य ब्यवसायी महासंघमा आवद्ध ३७ संस्थाका संचालकसँग अध्यक्ष कैलाश खड्काले प्रतिकामदार थप २ हजार रुपैयाँ माग गरेपछि विवाद सृजना भएको छ । कोभिड–१९ महामारी सुरु हुनुअघि कलिङ भिसा लागेका करिब ५० हजार कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गरिसकिएको छ । ती ५० हजार कामदारसँग ब्यवसायीहरुले स्वास्थ्य परीक्षणबापत प्रतिब्यक्ति ७ हजार ६ सय ६५ रुपैयाँ शुल्क लिने गरेका छन् । त्यसमा स्वास्थ्य परीक्षणबापत ४ हजार ५ सय रुपैयाँ, ३ हजार १ सय ६५ रुपैयाँ मेडिकलबापत मलेसियालाई दिनुपर्ने शुल्क भनेर लिइन्छ । यो ३ हजार १ सय ६५ रुपैयाँ कैलाश खड्का नै संचालक रहेको म्याक्रोटेक प्रा.लि.मा जान्छ ।
कैलाश खड्काले ब्यवसायीहरुले कामदारसँग लिने शुल्क ७ हजार ६ सय ६५ मा ३ हजार १ सय ६५ रुपैयाँ मलेसियामा बुझाउनुपर्ने भन्दै आफैं संचालक भएको म्याक्रोटेकमा जम्मा गर्न लगाउँछन् भने बाँकी ४ हजार ५ सय रुपैयाँमा २ हजार घुसबापत भनेर मागेपछि ब्यवसायीले जम्मा २ हजार ५ सय मात्र पाउँछन् । कार्यालय भाडा, स्वास्थ्य उपकरण खरिद गर्दा लिएको बैंकको ब्याज लगायत तिर्न समेत नपुग्ने भन्दै ब्यवसायीहरु बिरोधमा उत्रिएका छन् । महासंघको आइतबारको बैठकमा कैलाश खड्काले २ हजार बुझाउनुपर्ने भनेपछि किन बुझाउने भन्दै ब्यवसायीबीचमै हात हालाहालको अवस्था सृजना भएको थियो ।
खड्काले प्रतिकामदार २ हजार रुपैयाँ घुस बुझाउनुपर्छ भनेर मागेपछि ब्यवसायीहरुबीच नै हात हालाहालको अवस्था सृजना भएको छ । अध्यक्ष खड्काले प्रतिकामदार २ हजार रुपैयाँ महासंघमा आवद्ध ३७ वटै संस्थाका संचालकहरुसँग मागेका छन् । बंगलादेशी मूलका मलेसियन नागरिक अमिनलाई घुस बुझाउनुपर्छ भनेर उनले उक्त रकम माग गरेको आरोप छ ।
पहिला कलिङ भिसा लागेका कामदारको स्वास्थ्य परीक्षण शुल्कबाट कटाएर प्रतिकामदार २ हजारका दरले बिचौलिया अमिनलाई बुझाउनुपर्छ भनेर मागेका खड्काले अब भिसा प्राप्त गर्ने कामदारको स्वास्थ्य परीक्षणबापत पनि घुस बुझाउनुपर्ने उर्दी जारी गरेका छन् । यसरी ब्यवसायीसँग बिचौलिया अमिनलाई बुझाउनुपर्छ भनेर २ हजार रुपैयाँ आजसम्म नदिए स्वास्थ्य परीक्षण गर्ने अनुमतिपत्र नै रद्द गर्ने धम्की उनले दिएको एक ब्यवसायीले गुनासो गरेका छन् ।
बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरुसँग अमिनलाई घुस बुझाउनुपर्छ भनेर एक कामदार बराबर २ हजार रुपैयाँ बुझाउन दबाब दिएको र नदिनेको अनुमतिपत्र खारेज गरिदिने धम्की दिएकोबारेमा बुधबार बिहान १०.१९ मा कैलाश खड्कासँग प्रतिक्रियाका लागि ९८५१० मा पटक पटक प्रयास गर्दा पनि उनले मोवाइल रिसिभ गरेनन् ।
कैलाश खड्काले मलेसिया जाने कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नका लागि ३७ वटा संस्थाको सिन्डिकेट बनाई महासंघ खडा गरेका थिए । त्यो महासंघको स्थापनादेखिको अध्यक्ष उनै खड्का छन् । उनले यसअघि बालुवाटार (आरजु राणा), खुमलटार(प्रचण्ड), बालकोट(केपी ओली)लाई दिनुपर्छ भनेर विगत ५ बर्षदेखि ३७ संस्थाबाट प्रतिकामदार २ हजारका दरले उठाउने गरेका छन् । अहिले अमिनलाई दिनुपर्छ भनेर उठाउने गरेका छन् । उनले बुढानीलकन्ठ(आरजु देउवा), खुमलटार (प्रचण्ड) र बालकोट(ओली)लाई बुझाउन भनेर यसअघि डेढ अर्ब रुपैयाँ उठाएर खाएको आरोप छ ।
एक ब्यवसायीले भने– बुढानीलकन्ठ, खुमलटार र बालकोट मिलाउनुपर्छ भन्दै उठाएको रकमले उनले अरबौंको सम्पत्ति जोडेको तथ्य फेलापरेको छ । कैलाश खड्काले बालुवाटार, खुमलटार र बालकोटमा बुझाउने भन्दै प्रतिकामदार असुली गरेको २ हजार घुसबाट केही महिनाअघि लाजिम्पाटस्थित शिशु अर्यालको ४२ आनामा निर्मित बंगला २७ करोडमा खरिद गरेका थिए । जुन बंगलामा पहिला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड बस्थे । २०७० सम्म सामान्य आर्थिक हैसियत पनि नभएका कैलाश खड्का अहिले अरब भन्दा बढी सम्पत्तिका मालिक बनेका छन् ।
सिनामंगलमा २० करोड लगानीमा आफ्नै पीसीआर ल्याब खोलेका छन् । श्रीमती, सासु, जेठीसासु र भिनाजुको नाममा विभिन्न ठाउँमा घरजग्गा खरिद गरेको तथ्य पनि फेलापरेको छ । कामदारसँग असुली गरेको पैसाबाट अरबपति बनेका कैलाश खड्काले काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा पत्नी प्रविना प्रजापतिको नाममा कित्ता नं. ७५, सिट न. ११४७–०५ भएको ७ आना ३ पैसा जग्गा खरिद गरेका छन् । भक्तपुरको साविक दधिकोट गा.वि.स.(हाल सूर्यविनायक नगरपालिका) कित्ता नम्बर २१२० क्षेत्रफल ७ आना जग्गा किनेका छन् । ललितपुरको टीकाथलीमा ३ कित्ता जग्गा खरिद गरेका छन् । टीकाथली ४ (ख) कित्ता नम्बर १०४२ को ४ आना, टिकाथली ४ (ख) कित्ता नं. १०४१ को ४ आना, टिकाथली ४(ख) को कित्ता नम्बर ८६४ को २ रोपनी जग्गा कैलाश खड्काले पत्नी प्रविनाका नाममा खरिद गरेका छन् ।
त्यसैगरी उनले पत्नी प्रविनाको नाममा काठमाडौं महानगरपालिकामै ८ आना जग्गा रहेको जानकारी प्राप्त हुन आएको छ भने गागलफेदी ६ (ख)मा २ कित्ता छ । कित्ता नम्बर १५७ को करिब २ रोपनी(९२२ स्क्वायर) छ भने ८ सय ४३ कित्ता नम्बरको १०१.३४ बर्ग स्क्वायर फिट छ । कैलाश खड्काले आफ्नै नाममा पनि १० आना जग्गा गागलफेदीमा किनेका छन् ।
त्यसैगरी काठमाडौंको इन्द्रायणी ७ मा ६ कित्ता जग्गा छ । जसको क्षेत्रफल १०२९ क्वायर फिट अर्थात २ रोपनी भन्दा बढी हुन आउँछ । कैलाश खड्काले यसअघि बालुवाटार, खुमलटार र बालकोटमा घुस बुझाउनुपर्छ भन्दै प्रतिकामदारबापत २ हजार रकमबाट असुली गरेको झन्डै डेढ अर्ब रकमबाट ज्ञानी प्रजापतिको नाममा भक्तपुरको सिरुटार, दधिकोट र बालकोटमा १५ आना, ४ आना २ पैसा र ६ आना १ पैसा २ दाम गरी ३ कित्ता जग्गा खरिद गरेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १० मा ७ आना किनेका छन् । यसका अलावा उनले चितवन लगायतका धेरै ठाउँमा जग्गा खरिद गरेका छन् ।
५ बर्षअघिसम्मको कैलाश खड्का, उनकी श्रीमती र सासुको सम्पत्ति र हालको सम्पत्तिको स्रोत के हो त्यसको स्वतन्त्र अनुसन्धान गर्ने हो भने उनले बालुवाटार, खुमलटार र बालकोटमा बुझाउनुपर्छ भनेर लिने तर परिवारका नाममा सम्पत्ति जोड्ने गरेको खुलासा हुन्छ । गरिब कामदारसँग स्वास्थ्य परीक्षणका नाममा चर्को शुल्क लिएर कैलाश खड्काजस्ता ब्यक्तिहरु कसरी रातारात अरबपति हुन सफल भए, यसको छानबिन कसले गर्ने ? कालोधनको छानबिन गर्ने जिम्मा पाएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग टोले गुण्डाको छानबिन गर्ने र मोलमोलाइ गर्नेमा सीमित छैन भनेर यस्ता सफेदपोशहरुकोबारेमा छानबिन गर्नुपर्ने माग स्वास्थ्य ब्यवसायीले गरेका छन् ।
अमिन को हुन् ?
अमिन बंगलादेशी मूलका मलेसियन हुन् । बंगलादेशमा अपराधिक गतिबिधि गरेपछि मलेसिया पलायन भएका हुन् अमिन । त्यहाँका पूर्व उपप्रधान एवम् गृहमन्त्री अहमद जाहिद हमिदीका भतिजीसँग विवाह गरेका अमिनले बंगलादेशका मन्त्री र कर्मचारीलाई प्रभावमा पारी ३० वटा म्यानपावरलाई मात्र मलेसिया कामदार पठाउनेगरी सिन्डिकेट लगाएर कुस्त लाभ लिएका उनी नेपालमा पनि त्यही गर्ने खेलमा थिए । तर नेपालफेसले त्यसको भण्डाफोर गरेपछि श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ त्यसलाई लागू नगर्ने अडानमा कायम रहेका छन् । बायोमेट्रिक स्वास्थ्य परीक्षणमा ३९ स्वास्थ्य संस्थाको सिन्डिकेट बनाएर बार्षिक ५ अर्ब मलेसिया लान सफल भइसकेका छन् । गोकर्ण बिष्ट श्रम मन्त्री हुँदा कामदारसँग बायोमेट्रिक स्वास्थ्य परीक्षणका नाममा असुली गरिएको रकम ठगी गरेको भन्दै कैलाश खड्कासहितलाई पक्राउ गर्न खोज्दा उनी फरार भएका थिए ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend