काठमाडौं । जिल्लाको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा टिप्परको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको छ ।
गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलकी अन्दाजी ९ बर्षीया श्रेया तामाङ र ४ बर्षीया श्रृष्टी तामाङ को टिपरको ठक्करबाट मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको हो ।
आक्रोशित स्थानीयले ट्रिपरमा तोडफोड गरेका छन्, सडक अबरुद्ध पारेका छन् । स्थितिलाई नियन्त्रणमा लिन बाक्लो प्रहरी परिचालन गरिएको छ । केही राउण्ड अश्रूग्याँससमेत प्रहार गरिएको छ ।
बा ४ ख ६९६५ नम्बरको ट्रिपरले तामाङ बुबा छोरीहरू सवार बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई बिहान सवा ८ बजे ठक्कर दिएको थियो । ट्रिपर चालकलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।
घाइते भएका मोटरसाइकल चालक ३० बर्षीय रोहन तामाङको अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।