काठमाडौं । संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेका रिटलाई हेर्दा हेर्दैमा शुक्रबार राखिएको छ । अब रिटमाथि आगामी बुधबार सुनुवाइ हुनेछ ।
संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गत वर्ष संवैधानिक परिषद बैठकका केही प्रावधान परिवर्तन गर्नका लागि अध्यादेश ल्याइ तत्कालै विभिन्न संवैधानिक पदमा नियुक्ति गरेको थियो ।
उक्त अध्यादेश संविधानको मर्म विपरीत रहेको र संसदीय सुनुवाईसमेत नगरी नियुक्ति दिएको भन्दै नियुक्ति खारेजीको मागगरि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।