काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले पार्टीमा प्रवेश गर्ने तयारी गरेकी छन् ।
बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँगै बालकोट पुगेकी अभिनेत्री मानन्धरले आफू एमाले प्रवेश गर्ने तयारीमा रहेकाे जानकारी दिइन् ।
यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आवद्ध भएकी करिश्मा केही वर्षयतादेखि भने राजनीतिबाट टाढाजस्तै थिइन् ।
ओलीसँग बिहीबार भएकाे छलफलपछि करिश्माले भनिन्, ‘सहकार्य गरेर अघि बढ्ने भनेर छलफल भएको हो । एउटा विचार लिएर अघि बढ्नैपर्छ, यदि राजनीतिमा लाग्ने हो भने त ।’
उनले अगाडि भनिन्, ‘यसबारेमा मैले आफ्नो मनस्थिति धेरै पहिलेदेखि बनाएकी थिएँ । मेरा धेरै साथीभाइ एमाले निकट हुनुहुन्छ । आज चाहिं भेटेर छलफल गरें ।’