काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संघको राष्ट्रिय अधिवेशन समयमा सम्पन्न गर्न नसक्दा सधैं आलोचना खेप्दै आएको छ । किसान संघको अधिवेशन हुन नसकेको झन्डै १५ वर्ष भइसकेको छ । नेपाल प्रेस युनियनको पनि अधिवेशन गर्न नसक्दा दुई कार्यकाल यसै गुज्रिइसकेको छ ।
नेपाल विद्यार्थी संघको अधिवेशन दुई वर्षअघि नै हुनुपर्ने हो । तर, सधैं तदर्थ समितिमार्फत काम चलाइँदै आएको छ । नेविसंघका वर्तमान अध्यक्ष राजीव ढुंगाना कांग्रेस केन्द्रीय समिति निर्वाचित भइसकेका छन् । कांग्रेस विधानअनुसार उनी अध्यक्षबाट स्वतः मुक्त हुनुपर्ने हो । तर, कांग्रेस नेतृत्वले अहिलेसम्म उनलाई निरन्तर काम गर्न निर्देशन दिएको छ ।
गत ३० साउनमा कांग्रेसका नौवटा भ्रातृसंगठनको कार्यकाल ६ महिना तोकिएको थियो । जसअनुसार माघ मसान्तसम्म सबैको अधिवेशन भइसक्नुपर्ने हो । तर, अहिलेसम्म कुनैको तयारीसमेत थालिएको छैन । यही बीचमा नेविसंघमा आबद्ध विद्यार्थी नेताहरूले तत्काल अधिवेशन गराउन माग गर्दै केन्द्रीय सदस्यहरूलाई ज्ञापनपत्र बुझाउन थालेका छन् ।
नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले अधिवेशनको मागसहितको ज्ञापनपत्र पार्टी नेतृत्वलाई बुझाउने तयारी भइरहेको जानकारी दिए । तत्काल अधिवेशन गराउनुपर्ने पक्षमा रहेका विद्यार्थी नेताहरूले सामूहिक रूपमा ज्ञापनपत्र बुझाउने उनको भनाइ छ ।
२०७३ भदौमा काठमाडौंमा सम्पन्न ११औँ अधिवेशनमार्फत अध्यक्षमा नैनसिंह महर निर्वाचित भएपछि विधानतः प्रक्रियागत ढंगले नेविसंघले नेतृत्व पाउन सकेको छैन । महरको कार्यकाल सकिएपछि समय थप गरेर उनको कार्यकाल केही समय लम्ब्याइएको थियो । त्यसमा विवाद भएपछि पार्टीले राजीव ढुंगानाको नेतृत्वमा तदर्थ समिति गठन गरेको हो । ढुंगानालाई २०७६ माघमा अध्यक्षको जिम्मा दिइएको थियो ।
नेविसंघमा निर्वाचनमार्फत नयाँ नेतृत्व ल्याउन भनेर गठन गरिएको तदर्थ समितिका अध्यक्ष ढुंगाना कांग्रेस केन्द्रीय सदस्य बनेकाले केही समययता नेविसंघ कोमामा पुगेको भन्दै विद्यार्थी नेताहरूले अधिवेशन गराउन दबाब दिन थालेका हुन् ।
विधानअनुसार नेविसंघको अधिवेशन दुई वर्षमा गर्नुपर्ने व्यवस्था छ । पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित र मनोनीत भएपछि नेविसंघसहित कांग्रेसमा पाँचवटा भ्रातृ संघका प्रमुख पद रिक्त भएका छन् । नेविसंघसहित नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल दलित संघ र मुस्लिम संघका अध्यक्ष पार्टीको केन्द्रीय सदस्य भएपछि पार्टीको विधानअनुसार उनीहरूको पद रिक्त भएको हो ।
रिक्त भएका पदसहित पार्टीका सबै संघ तथा शुभेच्छुक संस्थाको अधिवेशन गराउन कांग्रेसलाई दबाब बढेको छ । यसैलाई प्राथमिकतामा राखेर छलफल गर्ने गरी कांग्रेसले यही हप्ताभित्र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने तयारी गरेको छ । बैठकमा भ्रातृसंस्थाहरूको अधिवेशन गराउने विषयलाई प्रमुख एजेन्डा बनाएको पार्टी उपसभापति धनराज गुरुङले बताए ।
सबै भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाहरूको अधिवेशनलगायत काम सम्पन्न गर्न पार्टीका महामन्त्रीहरूले त्यसको प्रस्तावित विधानबारे आन्तरिक छलफलमा जुटिरहेका छन् । नेता एनपी साउद नेतृत्वको टोलीले भ्रातृसंस्थाहरूको बारेमा तयार पारेको विधान प्रतिवेदनमाथि महामन्त्रीहरूले छलफल गरिरहेको पार्टीले जनाएको छ ।
महामन्त्री विश्वप्रकाश शर्मा शुभेच्छुक संस्थाहरूको अधिवेशन प्रक्रियागत ढंगले अगाडि बढाउने बताउँछन् । कुनै व्यक्ति वा पार्टीको लागि मात्रैभन्दा पनि राज्य व्यवस्था, प्रशासन र देशकै लागि नमुना हुने गरी भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको अधिवेशन गराउने उनको भनाइ छ ।
नेविसंघकी महामन्त्री उर्मिला थपलियाका अनुसार नेविसंघको महाधिवेशन गराउनेबारे विशेष तयारी भएको छैन । वर्तमान कमिटीले महाधिवेशन गराउने वा अधिवेशन गराउन अर्को कमिटी बनाउने भन्ने विषयमा पार्टीले निर्णय गरिनसकेको अवस्था भएकाले अधिवेशनको विषय अझै अन्योलमा परेको उनले बताइन् । अधिवेशन गर्न नसक्दा नेविसंघलाई ऊर्जाशील र चलायमान बनाउन नसकेको यसमा आफ्नो पनि कमजोरी रहेको थपलिया स्वीकार्छिन् ।
राजनीतिक विश्लेषक जैनेन्द्र जीवन माउ पार्टीलाई अझै व्यवस्थित बनाएर भ्रातृ तथा शुभेच्छुक संस्थालाई सुधार्न ढिला भइसकेको बताउँछन् । पार्टीभित्रको गुट–उपगुट तथा शक्ति सन्तुलनका कारण पनि भ्रातृसंगठन लथालिंग बन्न पुगेको उनको बुझाइ छ ।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend