Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना भाइरस फैलिन नदिन सरकारका १९ रणनीति 


    शुक्रबार, फाल्गुन ३० २०७६
    530
    Shares
  • ५ मिनेट पाठ
  • काठमाडौं, ३० फागुन ।

    सरकारले कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिने १९ निर्णय सार्वजनिक गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललेको संयोजकत्वमा रहेको उच्चस्तरीय समन्वय समितिले कोरोना रोकथामका लागि विभिन्न १९ वटा निर्णय गरेको छ । विश्व स्वाथ्य संगठनले नेपाललाई कोरोना उच्च जोखिम मुलुकको रुपमा राखेपछि सरकारले यस्तो निर्णय गरेको हो । सरकारले गरेका १९ निर्णय यस्ता छन्ः 

    १.नेपाल आगमन विन्दुमा विदेशीहरूलाई दिइँदै आएको अन अराइभल भिसाको व्यवस्था १४ मार्च २०२० को राति १२ बजेबाट लागु हुने गरी अप्रिल ३०, २०२० सम्मका लागि स्थगन गर्ने ।
    २. यसपूर्व भिसा लिइसकेका विदेशीहरूले नेपालको आगमन विन्दुमा आइपुग्ने मितिभन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र आगमन विन्दुको अध्यागमन कार्यालयमा पेश गर्ने व्यवस्था लागु गर्ने । 
    ३. अति जरूरी कारणबाट नेपालमा यात्रा गर्नु पर्ने व्यवस्थाका विदेशीले सम्बन्धित मुलुक वा नजिक रहेका नेपाली नियोगहरूबाट नेपाल आइपुगुने मिति भन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र सहित भिसा आवेदन गर्नुपर्ने व्यवस्था लागु गर्ने  । 
    ४. गैर आवासीय नेपालीहरूलाई गैरआवासीय नेपाली परिचय पत्रका आधारमा  आगमन विन्दुमा दिइँदै आएको अन अराइभल भिसा १४ मार्च २०२० को राति १२ बजेबाट लागु हुने गरी ३० अप्रिल २०२० सम्मका लागि स्थगन गर्ने । 
     अत्यावश्यक कारणले नेपाल आउनुपर्ने अवस्थामा नेपाल आइपुग्नु पर्ने मितिभन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र संलग्न गरी सम्बन्धित मुलुक वा नजिकमा रहेको नेपाली नियोगहरूबाट भिसा लिनुपर्ने व्यवस्था लागु गर्ने । 
    ५. मार्च १४ २०२० देखि नेपाल प्रवेश गर्ने विदेशीहरूले सेल्फ क्वारेन्टिनमा  र नेपाली नागरिक तथा गैरआवासीय नेपालीले१४ दिनसम्म  होम क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था लागु गर्ने । 
    ६. कूटनैतिक र अफिसियल भिसा प्राप्त विदेशीहरू पहिलो पटक नेपाल प्रवेश गर्दा वा बाहिर यात्रा गरी नेपाल फर्किदाको अवस्थामा १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था लागु गर्ने । 
    ७. व्यवसायिक अध्ययन र कामदार भिसा प्राप्त गरेका विदेशीहरू विदेश यात्राबाट नेपाल फर्केपछि  १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था लागु गर्ने । 
    ८. विदेशमा रहेका नेपाली नागरिकहरूलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता र सावधानी अपनाउन अनुरोध गर्ने । 
    ९. तेस्रो मुलुकका नागरिकहरूलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न दिइँदै आएको सुविधा १४ मार्च २०२० राति १२ बजेदेखि लागु हुने गरी ३० अप्रिल २०२० सम्मका लागि स्थगन गर्ने । 
    १०. नेपाल भारतबीचको यात्रु आवागमनलाई व्यवस्थित गर्न परराष्ट्र मन्त्रालयले अर्थ, उद्योग, वाणिज्य तथा गृह मन्त्रालयसँगको सहकार्यमा भारतीय पक्षसँग समन्वय गरी निश्चित विन्दुहरूबाट मात्र यात्रु आवागमन गर्ने व्यवस्था मिलाउने । 
    ११. अर्को सूचना नभएसम्म वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने । 
    १२. अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई ३० अप्रिल २०२० भित्र विदेश यात्रा गर्ने गरी नो अब्जेक्सन सर्टिफिकेट जारी नगर्ने । 
    १३. संक्रमणको रोकथाम र नियन्त्रणका लागि अति आवश्यक पर्ने औषधी, औजार तथा उपकरण लगायतका सामग्रीहरू सार्वजनिक खरिद ऐनको विशेष परिस्थितिको प्रावधान अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद गर्ने ।
    १४. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण रोकथाम, निदान र उपचारका लागि आवश्यक पर्ने आइसियू तथा आइसोलेसन कक्ष सहितको विशेष पूर्वाधार काठमाडौं उपत्यकामा आवश्यक संख्यामा र हरेक प्रदेशमा कम्तीमा १–१ वटा विकास गर्न विस्तृत प्रस्ताव तयार पारी समितिको अर्को बैठकमा पेस गर्ने ।  त्यसका लागि आवश्यक पर्ने स्रोतको व्यवस्था अर्थ मन्त्रालयले गर्ने । 
    १५.स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी समायोजन भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई संक्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यकता अनुसार परिचालन गर्ने ।
    १६.संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा आवश्यकताअनुसार परिचालन गर्न मेडिकल तथा ननमेडिकलहरूको सूची तयार गरी व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी आवश्यक व्यवस्था गर्न निर्देशन दिने । 
    १७. नेपालमा पर्वतारोहण गर्ने गरी सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएका वा जारी गरिने अनुमति पत्र हाललाई स्थगित गर्ने । 
    १८.नेपालमा आयोजना हुने अन्तराषर््िट्रय सभा सम्मेलन समारोहहरूलाई मे ३१ २०२० सम्मका लागि स्थगित गर्ने । 
    १९. संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एंव मेला महोत्सव सहभागी नहुन आम जनसमूदायलाई आह्वान गर्ने ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार