डा.प्रदीप ढकाल र डा.घनश्याम खतिवडा
काठमाडौं । पशुपतिनाथको नाम बेचेर कति व्यक्ति करोडपति भए, तर अहिले पनि नानीदेखि लागेको कमिसन खाने माग्ने बानी छुटेको छैन । त्यसैले पनि छाल गनेर भ्रष्टाचार र कमिसन खाने बानी परेका पदाधिकारीहरु ‘कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा राख्दा पनि उस्तै’ भन्ने उखानसँग मेल खाने गरेको छ ।
पशुपति क्षेत्र विकास कोषमा पहिला रानीको प्रियपात्र बनेपछि सातखत माफ हुन्थ्यो । अहिले २०६२-०६३ को जनआन्दोलनपछि बालुवाका ठेकेदार, दलाल ब्यापारीहरुले मन्त्री र सचिवसँग मिलेमतो गरी पैसाकै मोलतोलमा सदस्य सचिव नियुक्ति गर्ने, सञ्चालकहरु नियुक्ति गर्ने गरेका कारण सबैतिर कमिसन र भ्रष्टाचारले गन्हाएको छ । कोषको बदनाम गरिएको छ ।
वार्षिक अर्बौं रुपैयाँ पूजा र भेटीघाटीबाटै प्राप्त हुने कोषमा पैसा चाहियो भन्दै चन्दा उठाउनु कति जायज हो ? शव जलाउनेदेखि सदस्य सचिवसम्म कमिसन काण्डमा अछुतो नभएको एक पूर्व सुरक्षा प्रमुखले बताएका छन् । त्यसो त सुनका गहना चढाउँदा पनि भण्डारमा सुन जस्तो देखिने पित्तल भनेर मुचुल्का उठाएर खाने गरेका कर्मचारीहरुलाई कारबाही भएको छैन । मृगलाई आहारा खरिदमा समेत कमिसन लिएर काम गर्ने कर्मचारीका लागि पशुपति क्षेत्र विकास कोष कामाधेनु गाई नै बनेको छ ।
पशुपतिको भेटीघाटीलाई व्यवस्थित गर्नका लागि नेपाली पुजारी डा. विष्णु दाहाललाई २०६५ सालमा पुजारी नियुक्ति गरियो । तर, उनलाई हटाउन नेपाली कांग्रेसका नेताहरु नविन्द्रराज जोशीदेखि लैनचौर दरबारसमेत सक्रिय बन्यो । र, तत्कालीन मन्त्री गोपाल किराती यो योजनामा असफल भए । अहिले पनि पशुपति क्षेत्र विकास कोषमा सञ्चालकहरु र सदस्य सचिव भएर जग्गा ठेक्का, बालुवा ठेक्का, पशुपतिको गुठीको जग्गा कौडीको मोलमा दिन ठेक्का लगाएर करोडौं कमिसन असुल गदै आएका छन् । शेरबहादुर देउवा सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवलाई करोडौं थैली बुझाएर सदस्य सचिवमा नियुक्त भएका सदस्य सचिव प्रदीप ढकालले आफन्तहरु करारमा राख्ने र कोषको सम्पत्ति हिनामिना गर्ने काम गरेका छन् । उनीसँगै कार्यकारी निर्देशक डा.घनश्याम खतिवडासमेत मिलेर कोषमा ब्रम्हलुट गर्दैआएका छन् । मारवाडी ब्यापारीलाई सुनका नाममा चन्दा असली गर्ने छुट पनि उनीहरुले नै दिएका छन् ।
पशुपति क्षेत्रमा बाँदरले फालिदिन्छ भन्दै सीसी क्यामेरा राखिएको छैन । त्यसो गर्दा भेटीघाटीदेखि हरेक सामग्री खरिदमा अनियमिता देखिन्छ । सदस्य सचिवमा लामो समय बिताएका गोविन्द टण्डन पनि तिनै मतियाराको लाइनमा काम गर्दर्थे । त्यसैकारण उनको समयमा झनै पारदर्शी भएन । सुजाता कोइरालाकाका पीए सुशील नाहटासम्मले सदस्य सचिव भएर बस्दा ठूलो रकम घोटला गरेको समाचार सार्वजनिक भएकोे थियो । नाहटालाई कांग्रेस नेता मिनेन्द्र रिजाल संस्कृति मन्त्री हुँदा सदस्य सचिवमा नियुक्त गरेका थिए ।
पशुपति क्षेत्र विकास कोषले हालै प्रकाशन गरेको आफ्नो मुखपत्र “पशुपति दर्पण” मा एक भारतीय मूलका व्यापारीको इच्छामा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय गरेको खुलासा गरेका छन् । पत्रिकामार्फत् “श्रीपशुपतिनाथमा सुनको जलहरी निर्माणका लागि सहाभागिता आह्वान“ भन्दै भिक्षा समेत मागेर आफ्नो वास्तविकता उजागर गरेका छन् । उक्त मुखपत्रको पृष्ठ ६० मा प्रकाशित शिवलिङ्गमा १ सय ४१ किलो सुनको जलहरी शीर्षकको लेखमा सो रहस्य उद्घाटित भएको हो । कोषका पूर्व कोषाध्यक्ष एवम् वागमती प्रदेशका सांसद र स्थानीय मन्दिरका भण्डारीहरुले यो कार्यको विरोध गरे पनि परंपरागत चाँदीको जलहरी परिवर्तन गरी सुनको जलहरी राख्ने निर्णय गरिएको उल्लेख छ ।
स्मरणीय छ यस सम्बन्धमा कोषले सरोकारवाला संस्था पुरातत्व विभाग, विश्व सम्पदा, संस्कृति मन्त्रालय (संस्कृति विभाग) कसैको लिखित सहमति लिएको छैन । एक वर्षअघि आरोहण नेपालले सुनको जलहरी निर्माण गर्न मिल्दैन भनी कोषका पदाधिकारीहरुलाई लिखित सुझाव समेत दिएको थियो, डायरी एक्सप्रेस साप्ताहिकमा समाचार छ । उक्त बैठकमा सुनको जलहरी सम्वन्धमा उठेका जिज्ञासा समाधान गर्न नसकी पदाधिकारीहरु बैठकबाट भागेका थिए ।
यसै विषयमा कोषाध्यक्ष तथा समितिका संयोजक डा. मिलन कुमार थापासँग प्रतिक्रिया माग्दा उनले भने ‘पुरातत्व विभागसँग एक चरणको मौखिक सहमति लिएका छौं । तर, कोभिड–१९ का कारण अहिले काम गर्न सम्भव भएन ।’