Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • पैसा मोलमोलाई गरेको आरोपमा सिआइबीका सई पक्राउ


    मंगलबार, मंसिर २८ २०७८
    705
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । मुद्दा मिलाइदिने भन्दै पैसाको मोलमोलाई गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का एक कर्मचारी पक्राउ परेका छन्।

    सम्पत्ति शुद्धिकरणसम्बन्धी विभागमा परेको मुद्दा मिलाइदिन्छु भन्दै मोलमोलाई गरेको आरोपमा सिआइबीका प्रहरी नायब निरीक्षक (सई) विष्णु ढुङ्गाना पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

    परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार नक्साल क्षेत्रबाट उनलाई पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। प्रहरीमा परेको जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको हो।

    उनीमाथि आपाराधिक लाभ (एक्सटर्सन) कसुर गरेको आरोप छ। मुलुकीअपराध संहिताको परिच्छेद २१ को दफा २५३ मा यससम्बन्धी कानुनी व्यवस्था छ।

    उक्त व्यवस्थानुसार कसैले कुनै व्यक्तिलाई निजको वा अरु कसैको कुनै क्षति पुर्याउने डर त्रासमा पारी निजबाट बेइमानीपूर्वक आफ्नो वा अरु कसैको लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गराएमा वा निजलाई कुनै काम गर्नबाट रोकेमा आपाराधिक लाभ लिएको मानिनेछ।

    उक्त आरोप प्रमाणित भएमा कम्तीमा एक वर्ष कैद र १० हजार जरिवाना हुने व्यवस्था छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार