काठमाडौ फागुन २७
गीत र गजललाई सँगसँगै अगाडि लैजाने उद्देश्यले दुई वर्षअघि सुरु गरिएको गीत, गजल र शीतलू द्वैमासिक शृङ्खलाको नियमित श्रष्टा सम्मान अन्तर्गतको १३ औंं अंकमा लोकप्रिय युवा गायक शिव परियार सम्मानित भएका छन् । ‘कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ क्या दामी भो ; लगायतका चर्चित गीत र गजलका गायक परियारलाई शनिबार कुञ्ज थिएटरले सम्मान गरेको हो ।
नेपाल टेलिभिजनका निर्देशक टंक पन्त र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र कार्यक्रम संयोजक शीतल कादम्बिनीले परियारलाई खादा, माला र दोसल्लासहित अभिनन्दन–पत्र प्रदान गरे ।
सम्मानित गायकले यश सम्मानबाट आफूलाई अझै धेरै जिम्मेवारी थपिएको बताउँदै नेपाली गीतसंगीतको उत्थान र विकासमा निरन्तर लागिरहने बताए । उनले कार्यक्रममा ‘कहाँ थियौ तिमी’, ‘संगी’, ‘पिलायो साथीले’ लगायतका गजल गायन प्रस्तुत गरे । कार्यक्रममा कवि तथा गीतकार विप्लव प्रतीक र गजलकार शीलत कादम्बिनीले गीत र गजलको प्रस्तुति दिए ।
प्रेमभाव बोकेका ‘एक्लै गयौ पर’, ‘फरक यात्रा हामी दुईको’, ‘फूलको चर्चामा सहर’ लगायतका आधा दर्जनभन्दा बढी गीत प्रस्तुत गरेर स्रोता दर्शकको ध्यान खिचे । कार्यक्रममा संयोजक समेत रहेकी कादम्बिनीको रोचक प्रसङ्ग सहित गजल वाचन र केही गजल तरनुम्माबाट कार्यक्रमलाई विट मारेकी थिइन् । कार्यक्रम कुन्ज थियटर थापागाउँमा सम्पन्न भएको थियो । नयाँ पत्रिका बाट