अरुण ज्ञवाली
कोरोना संक्रमण चीनमा फैलिने क्रममा अमेरिकी तथा यूरोपियनहरुले यसलाई चाइनीज भाइरस नामाकरण गरी आनन्दसँग बसे । भारतीयहरुले टिकटक बनाई प्रहसनको बिषय बनाए । कोरोना फैलिने क्रममा विश्व स्वास्थ्य संगठनको भूमिका विवादित रहन गयो । कहिले मास्क अनिवार्य रुपमा लगाउनुपर्ने जानकारी प्रकाशन गर्यो भने कहिले रोगीले मात्र मास्क लगाउनुपर्ने निर्देशिका जारी गर्ने काम गरियो ।
कोरोना फैलावटको सम्बन्धमा १ मिटरदेखि ७ मिटरसम्मको दूरी कायम गर्नुपर्ने हास्यास्पद अनुसन्धान आयो । आजको मितिसम्म कोरोनाको प्रसार कसरी हुन्छ र नियन्त्रण कसरी गर्ने भन्ने सन्दर्भमा कसैसँग कुनै अनुसन्धान नभएकाले सम्पूर्ण विश्वभरी एकै सूत्र ‘लकडाउन’ रहेको छ । लकडाउनको कारण हामी ८३ दिनदेखि कुन्ठित जीवन बिताउन विवश भयौं । लकडाउन अवधिमा हरेक नेपाली शारीरिक रुपमा स्वस्थ रहेका छन् भने मानसिक रुपमा हरेक नेपाली बिरामी भएका छन् ।
कोरोना संक्रमण भारत प्रवेश गर्नुअघि भारतीय मिडियाको फूर्ति अर्कै थियो । ती मिडिया चना चटपटे र भाङभुटीमा हाल्ने मसला र तातोपानी खाएमा कोरोना भाग्छ भन्ने खालको प्रचार गर्न ब्यस्त थिए । तर भारतमा नै भटाभट मानिस मर्न थालेपछि कोरोनाको त्रासदीले हामी नेपालीलाई झनै तनावमा पारेको छ ।
विश्वका शक्तिशाल देश अमेरिकाका ‘वैज्ञानिक राष्ट्रपति’ डोनाल्ड ट्रम्पले मलेरियाको औषधि नै कोरोनाको अचूक हो भन्न पछि परेनन् । र, उक्त औषधि भारतले नदिए भारतलाई दुःख दिने चेतावनी दिए । ट्रम्पको चेतावनीले साँच्चै कोरोना महामारी रोकिने भयो भनेको त उनको भनाइ काले झाँक्रीको जस्तै भयो । कोरोना डढेलोसरी फैलिएको फैलियै छ ।
चाइनीजले रसियालाई माया गरेर कोरोना फैलिएन भन्ने पनि सुनियो । तर कोरोना पनि के कम रसियन प्रधानमन्त्रीलाई नै म्वाई खाई बिरामी पारेपछि अनुमानको संभावना समाप्त ।
गर्मी बढेपछि कोरोना आफैं मर्छ । सार्सको जिवाणु पनि यसैगरी मरेको थियो भन्ने एकथरीको अनुमान सार्वजनिक भयो । तर खाडी मुलुक साउदीअरबमा कफ्र्यु लागेपछि गर्मीको संभावना पनि समाप्त भयो ।
नेपाली निजी अस्पताल सुनसान भए । जनताले कोरोनाको बिरामीका अगाडि मुटु, कलेजो र मिर्गौलाका बिरामी बिर्सिए । डाक्टर बेरोजगार भई युट्युव च्यानलमा कोरोना रोग र लक्षणका बारेमा ब्याख्यान दिई दिन बिताउन थालेका छन् ।
नेपालभित्र कोरोना विदेशबाट आयो । जमातीहरुले ल्याए भनी एकातर्फ परीक्षण हुने क्रममा पर्साका मजदुर बागलुङ पुगेपछि कोरोना पुष्टि हुँदा परीक्षणको दायरा पनि भताभुंग हुने देखियो । अहिले भारतबाट आयातित कोरोनाको भेलबाट सम्पूर्ण नेपाली आक्रान्त छन् । लकडाउनको ८३ दिने तपस्या भस्मासुरको बरदानझैं भयो । नेपालमा कोरोनाप्रतिको जागरुकता उत्साहजनक रहेको छ । लकडाउन र क्वारेन्टिनको ब्यवस्था हेर्दा कसैको घरमा पल्ला गाउँबाट ज्वाई आएमा छिमेकीको उजुरीमा ज्वाई साबलाई अनिवार्य क्वारेन्टिन राख्नसम्म भ्याइएको छ विभिन्न ठाउँमा ।
हामी करिब ३ महिनादेखि जसका कारण भयभीत भई बाँचिरहेका छौं, त्यो कोरोना भाइरसलाई गीतामा भगवान कृष्णले आत्माको परिभाषा बताएझैं भएको छ, कोरोना जल, आकाश, पृथ्वी, बायु र तेज जहाँ पनि पाउन सकिन्छ, न यसको आदि छ, न यसको अन्त ।
यसको निराकरण आगामी ६ महिनाभित्र हुनसक्दछ भन्ने ठोकुवा रत्नपार्कदेखि सीएनएनसम्मका कुनै ज्योतिषले गर्न सकेका छैनन् । यसको अर्थ हामी सदाको लकडाउनमा बस्ने हो वा अन्य विकल्पतर्फ पनि हेर्ने हो त्यो आवश्यक छ । यद्यपि नेपालले पनि जनदबाब बढेपछि लकडाउन जेठ ३२ बाट खुकुलो पारेको छ ।
मुत्युको तथ्यांक
कोरोनाका कारण यूरोप र अमेरिका जस्ता शक्तिशाली देश असहाय हुँदा हाम्रो के हुने हो भन्ने भय सामाजिक संजालमा छन् । अतः नेपाल र चीनका बीच रहेका केही देशका तथ्यांक हेरौं । थाइल्याण्डको जनसंख्या ७ करोड छ । त्यहाँ ३,१३५ जना संक्रमित भए , ५८ जनाको मृत्यु भयो, २, ९८७ जना निको भएर फर्किएका छन् ।
त्यसैगरी भियतनामको जनसंख्या झन्डैै ९ करोड छ । त्यहाँ ३ सय ३४ संक्रमित भए । ती मध्ये ३ सय २३ जना निको भएर घर फर्किए । कम्बोडियाको जनसंख्या झन्डै पौने २ करोड रहेको छ । त्यहाँ १ सय २८ जना संक्रमित भए भने ती मध्ये १ सय २५ जना ठीक भएर फर्किसकेका छन् । लाओसको जनसंख्या झन्डै ७२ लाख रहेको छ । त्यहाँ १९ जनामात्र संक्रमित भएका छन् । सबै ठीक भएर फर्किसकेका छन् ।
भियतनाम, कम्बोडिया र लाओसमा कसैको पनि मृत्यु भएको छैन । म्यानमारको जनसंख्या साढे पाँच करोड छ, त्यहाँ २ सय ६१ जना संक्रमित भए । ६ जनाको मृत्यु भयो, १ सय ६७ ठीक भएर फर्र्किसकेका छन् ।
अतः हामीले हाम्रो नजिकका देशतर्फ विचार नगरी यूरोपको मृुत्युको आँकडाका आधारमा समुदायलाई आतंकित बनाउनु मनासिब हुँदैन । मृत्यु अन्तिम सत्य हो, तर मृत्युको डर देखाई समुदायलाई अकाल मृत्युतर्फ धकेल्नु हुँदैन ।
नेपालमा विगत बर्षको तथ्यांक हेर्ने हो भने सडक दुर्घटनाबाट प्रतिदिन ५ ब्यक्तिको ज्यान जाने गरेको छ । भारतकै तथ्यांकलाई हेर्ने हो भने सन् २०१५ मा १ लाख ५१ हजार ब्यक्ति सडक दुर्घटनामा मरेका छन् । यो मृत्युको आँकडा प्रतिदिन ४ सय १३ जना हो । निश्चय पनि लकडाउनले नेपालमा दुर्घटनाबाट हुने मृत्युबाट त जोगाएको छ । तर यसबाट हामीले ज्ञान लिन सकेका छैनौं । लकडाउन अवधिमा नेपालमा झन्डै २ हजारले आत्महत्या गरेको तथ्यांक सार्वजनिक भएको छ । वास्तविकता केलाउने हो भने अधिकांशमा कोरोनाको संयोग केही रुपमा भेटिन्छ ।
भाग्ने होइन बच्ने प्रयत्न गरौं
यूरोपियन देशमा कोरोना संक्रमण तीव्र गतिमा फैलनु तर साउथ इष्ट इण्डियामा कोरोना नियन्त्रित हुनुको कारण खोजौं । यसका विभिन्न कारण हुन सक्दछन् । पहिलो कारण भौगोलिक परिवेश । युरोपमा जनघनत्व बढी रहेको छ । तर घटी जनघनत्व भएको देशमा कोरोनाको प्रभाव फैलिनसकेको छैन । दोस्रो कारण खानपान एव जीवनशैली हो । साउत र इष्ट एशियाको खानामा अदुवालगायत मसालाको प्रचूरता रहेका विभिन्न सुपको बाहुल्यता रहेको पाइन्छ । ताजा खाना खानु पनि तिनको जीवनशैलीभित्र पर्दछ ।
तर यूरोपियन जीवनशैलीमा ताजा र झोलीय पदार्थको अभाव देखिन्छ । कोरोनाको कारण रक्तकोषमा अक्सिजनको मात्रा घट्न गई मृत्यु हुने हो । अतः रगतमा अक्सिजन बढाउने पदार्थको सेवन गर्नुपर्ने देखिन्छ । स्थानीय ऐसेलुदेखि काफल, अमला, कागतीको प्रयोगतर्फ अनुसन्धान गरी जनतालाई रोग लाग्न नदिने खाद्यपदार्थको अनुसन्धान गरौं ।तेस्रो, जीवनशैली परिवर्तन सम्बन्धमा अनुसन्धान हुन आवश्यक छ ।
माटोको भाँडा बनाउने एक ब्यक्तिले कपडाको मास्क प्रयोग गरी हिलो खेलाएको देख्दा यो पंक्तिकारलाई बिरक्त लाग्यो । मास्कको प्रयोग, सामाजिक दूरी लगायतका बिषयमा नेपालको परिप्रेक्ष्यमा अनुसन्धान गरी नागरिकलाई सचेत गर्न आवश्यक छ । सरकारले यसतर्फ कुनै गृहकार्य गरेको पाइँदैन ।
चौथो नेपालमा रहेका साना ठूला सबै अस्पतालले आफ्नो नामको पछाडि रिसर्च सेन्टर झुल्ड्याएको पाइन्छ । त्यति नाम राखेबापत करमा सहुलियत पाउने गरेका छन् । तर रिसर्च केही भएको पाइन्न । नेपालका २० भन्दा बढी मेडिकल कलेजले रिसर्च लेख्ने गरेका छन् । यी अस्पतालहरुको लागि कोरोना सम्बन्धमा अध्ययन एक सुनौलो अवसर रहेको छ । निजी अस्पताल र कलेजले कोरोना सम्बन्धी महामारीमा पेशागत सक्रियता देखाउन सकेको देखिदैन ।
समाधानको दिशा
नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरेको छ, स्थानीय, प्रदेश र संघीय । यी तीनवटै सरकारले कोरोना अवधिमा १० अर्ब(सरकारले ८ अर्ब ३९ करोड सार्वजनिक गरेको छ) खर्च गरेर प्राप्त गरेको उपलब्धी खाद्यान्न बितरण, क्वारेन्टिन निर्माण र मेडिकल सामानको आपूर्ति मात्र देखिएको छ । त्यसमा पनि गुणस्तरहीन कामको बिरोधमा जनता सडकमा आउने डरले लकडाउन बढेको विश्लेषण गर्न सकिन्छ ।
लकडाउनको औचित्य आवागमनमा रोकावट हो तर यो दिशामा सरकार असफल भएको छ । नेपाली कोरोनाको अस्तित्वको तुलनात्मक अध्ययन गर्न त्रिभुवन विश्वविद्यालयले माग गर्दा स्वास्थ्य मन्त्रालयले अनुमति दिएको छैन । कोरोनाको तुलनात्मक अध्ययन गर्न नेपालमा सम्भव नभएका कारण टेकूका चिकित्सकहरुले नेपाली बिरामीको तन्तु अमेरिका पठाउँदा स्पष्टीकरण खानुपरेको छ । निजी स्वास्थ्य संस्थालाई कोरोना परीक्षणका लागि निरुत्साहित हुने नीति अघि सारिएको छ । अतः सरकार कोरोना परीक्षण, पहिचान र निराकरणमा असफल भएको छ ।
कोरोना नियन्त्रत्रणका लागि सरकारले सेनाको नेतृत्वमा विशेष दर्जाको संस्था खडा गरे पनि यसको औचित्य क्वारेन्टिनको पहरा र लासको सदगतमा सीमित भएको पाइन्छ ।
देशको सरकार असफल भएको खण्डमा देश असफल हुने होइन । तर देशबासीले हरेश खाएमा देशको औचित्य समाप्त हुन जान्छ । अतः कोरोना लागेका ब्यक्ति एवं तिनका परिवारप्रति दयावान भई ब्यवहार गर्न हामीले सिक्नुपर्यो । यो रोगको औषधिको अनिश्चितता भएकाले तपाई हामी नै यसको शिकार बन्दैनौं भन्ने छैन । वनको बाघले बालक, बृद्ध र रोगी जनावरलाई शिकार बनाएझैं कोरोनाले पनि यो प्रक्रिया पछ्याएको देखिन्छ ।
त्यसैले बालक, बृद्ध र रोगीप्रति संवेदनशील हुनुपर्यो । स्थानीय तहका जनप्रतिनिधिहश्रुले कोरोनासंक्रमित एप संचालन गरी स्वस्थ ब्यक्तिलाई काममा फर्कने वातावरण तयार गर्नुपर्ने हुन्छ । कोरोना अस्पतालको ब्यवस्था र कोरोना संक्रमितको संख्या हेर्दा निजी अस्पतालहरुलाई पनि कोरोना सम्बन्धमा उपचार सेवा दिन स्थानीयस्तरमा बाध्य पार्नुपर्ने देखिन्छ ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend