काठमाडौं, २७ फागुन । नेकपा नेतृ एवं राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव दीपा शर्माले आफ्नो शुभ विवाहको अवसर पारी अक्षय कोष स्थापनाको घोषणा गर्नुभएको छ । पुख्र्यौली घर खोटाङ रहेका हाल भक्तपुर बालकोट निवासी प्रशान्त ढकालसँग मंगलबार विवाह बन्धनमा बाँधिनुभएकी शर्माले ‘देवी हरि भवानी स्मृति अक्षय कोष’को घोषणा गर्नुभएको हो ।
दैलेख नारायण नगरपालिका २ रुपाखेत निवासी शर्माले स्वर्गीय बाजेबज्यै देवीप्रसाद शर्मा, हरिमाया शर्मा र भवानी शर्मा रुपाखेतीको नाममा स्थापित कोषबाट दैलेख जिल्लाबाट सामुदायिक विद्यालयहरुबाट माध्यमिक शिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने छात्र–छात्रा गरी दुई जनालाई आर्थिक सहायता प्रदान गर्ने उद्देश्य रहेको बताइएको छ । शुरुमा २ लाख ९० हजार रुपैयाँको कोष निर्माण गर्ने र वर्षेनि कोषमा रकम थप्दै जाने शर्माले बताउनुभयो ।
कोषमा शर्माका बुवा विष्णुप्रसाद शर्मा, आमा चित्रा शर्मा, माइलो बुवा भीमराज शर्मा, माइली आमा मोहनकुमारी शर्मा, कान्छा बुवा रविन्द्रराज शर्मा र जानकी शर्माले पनि अक्षय कोषका लागि सहयोग घोषणा गर्नुभएको छ । अनेरास्ववियू, अखिल नेपाल महिला संघको केन्द्रीय नेतृत्वमा रहेर काम गर्नुभएकी उहाँले अक्षय कोषले दैलेख जिल्लाको शिक्षा क्षेत्र सुधारका लागि मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । कोरोना भाइरसको कारणले विवाहलाई पारिवारिक जमघटमा सीमित राखेकोले निकै नजिकका आफन्तको मात्रै बैवाहिक कार्यक्रममा उपस्थिति रहेको थियो ।