काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कार्यकाल सकिन २ महिना बाँकी छँदा फोरजी सेवा विस्तारको लागत १८ अर्बंबाट बढाएर २८ अर्ब पुर्याउन लागेका छन् ।
३ बर्षअघि एनसेलको भन्दा तीन गुणा महंगोमा फोरजी सेवा विस्तारको ठेक्का हुवावेलाई दिएर १२ अर्ब रुपैयाँ घोटाला गरेको आरोप लागेका प्रबन्ध निर्देशक अधिकारीले त्यसमा पनि थप १० अर्ब थप गरी २८ अर्ब पुर्याउन लागेका छन् । आगामी २०७८ पुस २२ मा अवकाश हुन लागेका प्रबन्ध निर्देशक अधिकारीले फोरजीको ठेक्का पाएको चिनियाँ कम्पनी हुवावेसँग ४० प्रतिशत घुसको सेटिङ गरी १० अर्ब लागत थप गरी टेलिकम डुबाउने खेलमा लागेका छन् । डिल्लीराम अधिकारीको अक्षमताका कारण नेपाल टेलिकमलाई एनसेलले उछिनिसकेको छ ।
एनसेलले ३ बर्षअघि ६ अर्ब रुपैयाँ लागतमा विस्तार गरेको फोरजी सेवा नेपाल टेलिकमले १८ अर्ब रुपैयाँमा हुवावेलाई ठेक्का दिएको थियो । एनसेलको फोरजी सेवा पनि हुवावेले नै ठेक्का लिएको थियो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र त्यतिबेलाका संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले हुवावेसँग ५ अर्ब भन्दा बढी घुस खाएर १८ अर्बमा ठेक्का दिएको आरोप लागेको थियो ।
प्रबन्ध निर्देशक अधिकारीले ३ बर्षअघि नै ३ गुणा बढी लागतमा हुवावेलाई फोरजीको ठेक्का दिएर १२ अर्ब राज्यलाई घाटा पारेका थिए । अहिले पुनः १० अर्ब थप गरी जाँदाजाँदै नेपाल टेलिकमलाई धरासायी बनाउन लागेका छन् । ३ बर्षअघि हुवावेले नेपाल टेलिकमको फोरजी सेवा विस्तारको ठेक्का लिए पनि २५ प्रतिशत पनि काम नगरेको टेलिकमका अधिकारी बताउँछन् । २५ प्रतिशत पनि काम नगरेको हुवावेलाई कारबाही गर्नुपर्नेममा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उल्टै १० अर्ब लागत थप्न लागेका छन् । कारबाही गर्नुपर्ने हुवावेलाई १० अर्ब थप लागत बढाउने र जाँदाजाँदै कुस्त घुस लिन अधिकारी लागेका छन् ।
एनसेलले उही क्षमताको फोरजी सेवा विस्तार ६ अर्बमा गरेको तर टेलिकमले १८ अर्बमा ठेक्का दिएको बिषयमा संसदको अर्थ समितिमा २०७५ माघ २३ मा सांसदहरुले प्रश्न उठाएका थिए । तत्कालीन अर्थसमिति सदस्य रामकुमारी झाँक्री(हाल मन्त्री)ले टेन्डर प्रक्रियामा धेरै आशंका प्रकट गरेकी थिइन् । उनले भनेकी थिइन्–‘त्यही काम निजी सेवाप्रदायकले ४ अर्बमा सक्ने, अनि सरकारीले १८ अर्ब खर्च गर्ने ? यो कसरी पुष्टि हुन्छ ?’, उनले भनेकी थिइन्–‘एकातिर बजार निजीले लिइसकेको छ र अर्कोतिर हामीले फोरजी ल्याउँदा विश्व बजारमा फाइभ जी आइसक्छ अनि हामीले १८ अर्ब किन खर्चिने ?’
अर्थ समितिमा फोरजी सेवा विस्तारको टेण्डरमा १२ अर्ब घोटाला गरेकोबारेमा छलफल गराएको भोलिपल्टै सभापति कृष्णप्रसाद दाहाललाई तत्कालीन संचारमन्त्री गोकुल बाँस्कोटाले बोलाएर हप्कीदप्की गर्दै अर्कोपटक मकवानपुरबाट सांसदको टिकट पनि नदिने, पार्टीको कुनै पनि तहमा आउन नदिने धम्की दिएका थिए । त्यो धम्कीपछि दाहालले पुनः अर्को बैठक राख्नै सकेनन् ।
शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि नेपाल टेलिकमलाई धरासायी बनाएका अधिकारीलाई प्रबन्ध निर्देशकबाट हटाउनका लागि टेलिकमका कर्मचारीहरु ४० दिनसम्म धर्नामा बसे । अधिकारीलाई प्रवेश निषेध गरियो । तर सरकारले कर्मचारीको चित्कार नसुनेको गुनासो ट्रेड युनियन नेताहरुले गर्दैआएका छन् ।
टेलिकम संचालक समितिका अध्यक्ष संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुन्ठ अर्याललाई प्रभावमा पारी प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पद सुरक्षित गरेका छन् । टेलिकम डुबाउन अधिकारीले गरेका भ्रष्टाचारका फेहरिस्त नै सार्वजनिक भए पनि सचिव अर्यालले उनलाई संरक्षण गरेका छन् । भ्रष्टाचारको हिस्सा सचिव अर्यालसम्म पुगेकाले उनले संरक्षण गरेको टेलिकमका कर्मचारी नेताहरु बताउँछन् । फोरजी सेवा विस्तारको ठेक्कामा १० अर्ब लागत बढाएबातिको कमिसनको रकम बुझाउने सर्तमा उनले संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत मिलाइसकेको भन्ने गरेका छन् ।
नेपालभर फोरजी सेवा विस्तारका लागि टेलिकमले ३ बर्षअघि हुवावेलाई १८ अर्ब रुपैयाँमा ठेक्का दिएको थियो । हुवावेले उक्त ठेक्का १८ अर्ब रुपैयाँमा लिए पनि ३ बर्षमा २५ प्रतिशत पनि काम नगरी पुनः लागत बढाउनका लागि माग गरेको छ । हुवावेको प्रस्तावपछि कोरोनाका बहाना बनाई पुनः १० अर्ब लागत बढाउनका लागि प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी लागेका छन् ।
गोकुल बाँस्कोटाले कामिनी राजभण्डारीलाई हटाएर ५७ औं नम्बरका कनिष्ट कर्मचारी डिल्लीराम अधिकारीलाई २०७५ पुस २२ मा टेलिकमको प्रबन्ध निर्देशक बनाएका थिए ।