काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कनिष्ट सचिव मधु मरासिनीलाई अर्थमन्त्रालयको जिम्मेवारी दिएर सुरु गरेको बेथिति भान्जीज्वाई भीमकान्त न्यौपानेलाई एशियाली विकास बैंकको सल्लाहकार बनाएपछि छरपष्ट भइसकेको छ ।
एनसेलको ७२ अर्ब पूँजीगत लाभकर छलीका मुख्य योजनाकार शोभाकान्त पौडेललाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएका शर्माले पछिल्लो पटक त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक लक्ष्मी निरौलालाई भन्सार जाँचपास कार्यालयमा लखेटेका छन् । अर्थमन्त्रालयमा भन्सार जाँचपास परीक्षण कार्यालय (पीसीएफ) मन्त्रीको सेटिङमा नचल्ने कर्मचारी थन्क्याउने ठाउँका रुपमा चिनिन्छ ।
मन्त्री शर्माका भाइ प्रकाश शर्माले दशैंअघि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक निरौलासँग मन्त्रीको नाम लिंदै ‘सहयोग गर्ने हो भने सरुवा नगर्ने’ भनी अप्रत्यक्ष रुपमा घुस माग गरेका थिए । तर निरौलाले आफूले दायाँबायाँ नगर्ने, जहाँ सरुवा गरे पनि जाने भन्ने जवाफ दिएपछि उनको दशैं लगत्तै सरुवा भएको छ ।
स्रोतका अनुसार विमानस्थलमा आधुनिक एक्सरे मेसिन राखी सुनजन्य र लागूऔषध ओसारपसार रोक्ने योजनामा निरौला थिए । उनले त्यसका लागि अत्याधुनिक एक्सरे मेसिन खरिदका लागि अन्तर्राष्ट्रिय ग्लोबल टेण्डर गर्ने अन्तिम तयारी गरेको बेला सुन र लागूऔषधको तस्करी गर्ने गिरोहले त्यो योजना चकनाचूर पारिदिएको छ । त्यस्तो अत्याधुनिक एक्सरे मेसिन राखेपछि विमानस्थलबाट हुने सुन र लागूऔषध ओसारपसार रोकिने र नेपालको अन्तर्राष्ट्रिय छविमा सुधार हुने अपेक्षा गरिएको थियो । तर त्यो टेण्डर नै अलपत्र परेको छ ।
अर्थमन्त्रालयका महेश भट्टराईलाई त्रिभुवन विमानस्थल भन्सारको प्रमुख भन्सार प्रशासकमा पठाइएको छ । ठूला करदाता कार्यालयमा सरुवा हुने चाहना राखेका भट्टराईलाई मन्त्री शर्माले ७ महिनासम्म झुलाएर विमानस्थल भन्सारमा पठाएका छन् । विमानस्थल भन्सारमा विवादमा पर्ने हुनाले प्रायः कोही पनि जान मान्दैनन् । मन्त्री शर्माले राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक शिवलाल तिवारीलाई ठूला करदाता कार्यालयको प्रमुखमा सरुवा गरेका छन् ।