डडेल्धुरा । डडेल्धुराको अजयमेरू गाउँपालिकामा अवैध काठ तस्करी भइरहेको छ। गाउँपालिका-२ स्थित वेताल सामुदायक वनमा व्यापक वन फँडानी गरेर अवैध काठ तस्करी भइरहेको हो ।
दाउरा काट्न र काठ चिर्न बन्देज गरे पनि दोगाड चोर चोर्लेक सडक निर्माण भइरहेको मौका पारी वन पैदावार नियमविपरीत बिक्री भइरहेको स्थानीयको आरोप छ। यस विषयमा गाउँपालिका भने जानकारविहीन छ ।
गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले यसबारे आफूलाई खबर आएको र सवडिभिजन र वडाध्यक्षलाई बुझ्न लगाएको प्रतिक्रिया दिए। सरोकारवाला निकाय उदासीन देखिएका कारण अवैध काठ तस्करी मौलाएको स्थानीय बताउँछन् ।
‘सामुदायिक वनबाट वन कार्ययोजनाविपरीत अवैध रूपमा रूख फँडानी कार्य तीव्र छ। सामुदायिक वनमा भएको तस्करीमा मुख्य रूपमा सामुदायिक वन उपभोक्ता समितिकै पदाधिकारीको मिलेमतो हुन सक्छ,’ एक स्थानीयले भने ।
यता, डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख रामबिचारी ठाकुरले सडक बनाउने क्रममा रूख कटान गरेको खबर आएको बताए। उनले भने, ‘टोली गएको छ। प्रतिवेदन आउनेवित्तिकै खबर गर्छु ।’