Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अफगानिस्तानका लागि अमेरिकी उच्च दूतद्वारा राजीनामाको घोषणा


    बिहिबार, कार्तिक ४ २०७८
    325
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । अफगानिस्तानका लागि अमेरिकी उच्च दूतले आफ्नो भूमिका परित्याग गर्न लागेका छन्। अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता भएको दुई महिना पनि नहुँदै जालमाई खलिलजादले राजीनामा दिन लागेका हुन्।

    खलिलजादले तालिबानसँग हुने गरेका वार्ताहरूमा अमेरिकाको नेतृत्व गर्दै आएका थिए। यद्यपि महिनौँयताको कूटनीतिक वार्ताहरूले तालिबानलाई सत्ता कब्जा गर्नबाट रोक्न सकेनन्। राजधानी काबुलमाथि कब्जा गरेपछि गत अगस्टमा तालिबानले अफगानिस्तानमाथि पूर्ण रूपमा नियन्त्रण कायम गरेका थिए।

    सोमवार राजीनामाबारे एउटा वक्तव्यमार्फत्‌ घोषणा गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले खलिलजादको पत्रलाई उद्धृत गर्दै भनेका छन्, “अमेरिकी नागरिकहरूलाई दशकौँ सेवा गर्न पाएकोमा म आभार व्यक्त गर्न चाहन्छु।”

    ब्लिन्केनका अनुसार उक्त जिम्मेवारी अब थोमस वेस्टले सम्हाल्नेछन्। ब्लिन्केनलाई लेखेको पत्रमा खलिलजादले अफगान सरकार र तालिबानबीच गरिएको राजनीतिक व्यवस्थापन “परिकल्पना गरिए अनुरूप अगाडि बढ्न नसकेको” पनि स्वीकार गरेका छन्।

    “त्यसो हुनुका कारण एकदमै जटिल छन् र आउँदा दिन एवं साताहरूमा त्यसबारे म आफ्ना विचारहरू राख्ने नै छु,” पत्रमा उल्लेख गरिएको छ।अमेरिका अफगानिस्तान नीतिको “नयाँ चरणमा प्रवेश गर्न लागेकाले” आफूले पदबाट राजीनामा दिएको खलिलजादले बताएका छन्।

    अफगान नागरिकहरूले अहिलेको अवस्था देख्नु परेकोमा आफू “दुःखी” भएको उनले उल्लेख गरेका छन्। अफगानिस्तानमा जन्मेका सतरी वर्षीय खलिलजाद काबुलमा हुर्किएका थिए। उनी लामो अनुभव भएका अमेरिकी कूटनीतिज्ञ हुन्।

    उनले पूर्वराष्ट्रपतिहरू डोनल्ड ट्रम्प, बराक ओबामा र जर्ज डब्ल्यू बुशको कार्यकालमा पनि काम गरेका छन्। (बीबीसीको सहयोगमा) 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार