काठमाडौं । नेपाली सेनाको उपरथीमा बढुवा भएका बाबुराम श्रेष्ठले उपरथीको दज्र्यानी चिन्ह लगाएका छन् । सैनिक मुख्यालय भद्रकालीमा श्रेष्ठलाई बुधवार प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
सोमबार बसेको मन्त्रीपरिषदको बैठकले श्रेष्ठलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो । श्रेष्ठ २०४४ मंसिर ९ गते नेपाली सेनामा सैनिक क्याडेटका रुपमा भर्ना भएका थिए । पाकिस्तानबाट एनडीसी गरेका उनि २६ बेसिकका अधिकृत हुन् ।
श्रेष्ठ २७ नम्बर बाहिनीको बाहिनीपति हुंदा भर्ना छनौटको विषयलाई लिएर पूर्वाग्रह साँधेर कारबाही गरिएको थियो । तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाले उनीमाथी पूर्वाग्रह राखेर कारबाही गरेपछि उनी दुईतारे हुनबाट बंचित भएका थिए । तर, हालका प्रधानसेनापति शर्मा आएलगत्तै उनको बढुवा प्रक्रिया अघि बढाएका थिए ।
उनको उपरथीमा बढुवासँगै श्रेष्ठ फेरि पनि तीन तारे जर्नेल हुने सम्भावना धेरै छ । सैनिक मुख्यालयको रेकर्ड अनुसार उनको जन्ममिति २०२४ फागुन २८ गते रहेको छ ।
श्रेष्ठलाई मध्यकमाण्ड पोखराको सेनापतिको जिम्मेवारी दिइएको छ । पोखरामा उनकै ब्याचका उपरथी विनयविक्रम राणा कमाण्डर थिए । उनको सरुवा भने राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा भएको छ ।
श्रेष्ठको यसअघि बढुवा रोकिएपछि उनीभन्दा पछिका सहदेव खड्का, सन्तोष ढकाल र हिरालाल जोशीको उपरथीमा बढुवा भइसकेको छ । वरियतामा यसअघि राणा एक नम्बरमा थिए भने श्रेष्ठ दुई नम्बरमा थिए ।