Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैंकिङ प्रणालीमा तरलता अभाव: १० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक


    बुधबार, कार्तिक ३ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाल राष्ट्र बैंकले भोलि अर्थात् कात्तिक ४ गते रु १० अर्ब बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ ।

    केही समय अघिदेखि बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिँदा राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो ।

    राष्ट्र बैंकले बुधबार जारी गरेको सूचनाअनुसार बैंकले आगामी कात्तिक ११ गते परिपक्व हुने रु १० अर्ब बराबरको रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् ।

    बजारमा तरलताको अभावले बैंक तथा वित्तीय संस्थाले निक्षेप सङ्कलन गर्न ब्याजदर बढाउन थालेका छन् । निक्षेप बढाउन र आफ्नो निक्षेप बाहिर जान नदिन बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको सुरुआतमै दुई अङ्कको ब्याजदर कायम गरेका थिए । त्यसरी बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर असाधारणरूपमा बढाएको भन्दै ब्याजदर व्यवस्थित गर्न राष्ट्र बैंकले मङ्गलबार तीन बुँदे निर्देशन जारी गरेको थियो ।

    बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ । गत असोज २० गते बैंकले रु २० अर्ब बराबरको १४ दिन अवधिको रिपो जारी गरेको थियो । तरलता अभाव समस्याको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्ने गर्दछन् । बैंक तथा वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरिरहे पनि तरलता व्यवस्थापन सहज हुनसकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार