काठमाडौं । गृहमन्त्रालयले गएको २६ गते मुगुमा भएको सवारी दुर्घटनामा मृत्यु भएका ३२ जनाका परिवारका लागि सरकारबाट दिइने राहत तथा घाइतेको उपचार सहयोग रकम भुक्तानीका लागि प्रक्रिया आरम्भ भएको जनाएको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी मुगुमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेका परिवारलाई सहयोग रकम भुक्तानी प्रक्रिया आरम्भ भएको जानकारी गराएको छ ।
नेपालगञ्जबाट मुगु जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस रारा नगरपालिका–७ तपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा १३ जना घाइते भएका थिए । सरकारले मृतकका परिवारलाई किरिया खर्चबापत रु २५ हजार र रु एक लाख आर्थिक सहायता दिने र घाइतेको उपचार गर्ने घोषणा गरेको थियो ।