एजेन्सी । चेन्नई सुपर किंग्सले १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ।
शुक्रबार राति दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको फाइनल खेलमा कोलकत्ता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो। १९३ रनको लक्ष्य पछ्याउने क्रममा कोलकत्ता २० ओभरमा १६५ रन मात्र बनाउन सक्यो।
कोलकाताका लागि शुबमन गिलले ५१ तथा भेकंटेस ऐयरले ५० रन को योगदान दिए।
चेन्नईको बलिंगमा शार्दुल ठाकुरले सर्वाधिक ३ तथा जडेजाले २ र दिपक चाहर तथा ड्वेन ब्राभोले समान १/१ विकेट लिए।
यसअघि टस हारेर ब्याटिंग गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट क्षतिमा १९२ रन बनाएको थियो।
चेन्नईका लागि फाफ डु प्लेसिसले सर्वाधिक ८६ रन बनाए। यस्तै मोईन अलीले २० बलमा २ चौका र ३ छक्का मद्दतले अविजित ३७ रन बनाए । रुतराज गायकवाडले ३२ तथा रोबिन उथप्पाले १५ बलमा ३ छक्का मद्दतले ३१ रन बनाए।
कोलकाताको बलिंगमा सुनिल नारायणले २ तथा शिभम माभीले १ विकेट लिए।
चेन्नईले पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै फाइनल पुगेको थियो। कोलकाता भने इलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोर र दोश्रो क्वालिफायरमा दिल्लीलाई पराजित गर्दै फाइनल पुगेको थियो।
चेन्नईले चौंथो पटक आईपीएलको उपाधि जितेको हो । यसअघि सन् सन् २०१०, २०११ र २०१८ मा महेन्द्र सिंह धोनीकै कप्तानीमा चेन्नईले उपाधि जितेको थियो।