काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले सन्तोषजनक काम नगरेको आरोपमा २४ प्रहरीलाई हाल कार्यरत जिम्मेवारीबाट हटाएको छ । जिम्मेवारीबाट हटाइएकामा २ प्रहरी निरीक्षक छन् । २२ जना सई, असई, हवल्दार र जवान छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौं र बृत्तहरुमा तानिएको छ । परिसर र मातहतका बृत्तमा तानिनेहरुमा महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक त्रिभुवन थापा र महानगरीय प्रहरी प्रभाग गोंगबुका प्रहरी निरीक्षक रमेश विष्ट छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले पद अनुसारको आचरण नगरेको आरोपमा उनीहरुलाई तानेको जनाएको छ । तर महानगरीय प्रहरी कार्यालयले सिभिल ड्रेसमा अतिरिक्त असुलीका लागि डीएसपी नवराज भट्टराई र सई सुवास कटवाललाई परिचालन गरेकोबारेमा भने परिसरले केही गर्नसकेको छैन । प्रहरी प्रधान कार्यालयले पनि मातहतका कार्यालयबाट हुने गरेको आचरण बिपरीतको क्रियाकलापमा दृष्टि पुग्न सकेको छैन । आइजीपी शैलेश थापा क्षेत्री प्रहरीमा इमान्दार छविका मानिन्छन् तर मातहतका कार्यालयबाट खटिएका प्रहरीले दशैंको मुखमा असुली गरेकोबारेमा भने सुक्ष्म छानबिन गर्न सकेका छैनन् ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी हरिबहादुर पालका विश्वासपात्र हुन् डीएसपी भट्टराई र सई कटुवाल । भट्टराई र कटवाल अवैध हुन्डी, डलरदेखि सुनका कारोबारी मारवाडीहरुसँग कहिले लाजिम्पाटस्थित आन्तरिक राजस्व कार्यालय अगाडिको पूर्वडीएसपी सुरेन्द्र सिंहको रेष्टुरेन्टमा त कहिले कालिकास्थानमा रहेको बिमल पोद्दारका छोराको भीभीआईपी क्याफेमा डिल गर्न ब्यस्त रहने गरेका छन् । त्यो डिलमा पूर्वएआइजी हेमन्त पालदेखि सुरेन्द्र सिंहसम्म हुन्छन् । हेमन्त पाल गीतेन्द्र राईसँग कानुनत अवैध मानिएको नेटवर्किङ ब्यापारमा पनि संलग्न छन् । कालिकास्थानको रेष्टुरेन्टमा त हुन्डीका डन बिमल पोद्दारदेखि तरुण खेम्कासहितका मारवाडीहरुको जमघट हुने गर्दछ । पोद्दार हुन्डी, डलर र सुनका ठूला कारोबारी हुन् ।
डीएसपी भट्टराई शान्ति मिसनबाट फर्किएपछि महानगरीय आयुक्त कार्यालयमा कार्यरत छन् । शान्ति मिसनबाट फर्किएकालाई काठमाडौं बाहिर खटाइन्छ, तर डीएसपी भट्टराईले भने मिसनबाट फर्किएपछि महानगरीय आयुक्त कार्यालयमा काम गर्न पाउने भाग्यमानी अधिकृत हुन् । उनलाई सिभिल ड्रेसमा उपत्यकाका तीनवटै जिल्ला हेर्नेगरी घुमुवाका रुपमा एआइजीले पालले अतिरिक्त आम्दानीका लागि खटाएका छन् । उनले मेट्रोका एआइजीका विश्वासपात्र भएर राजधानीमा बस्न र कमाउन छुट पाएका छन् ।
सई कटवाल ललितपुर परिसरमा ३ बर्ष घुमुवा बसेका थिए । ललितपुर परिसरमा टेकप्रसाद राई एसएसपी हुँदा त उनी छायाँ एसएसपी नै थिए । राईले उनलाई असुलीमा सिपालु भएकाले आफूसँगै लगेका थिए । ललितपुर परिसरमा त लेखापाललाई समेत उनले तह लगाएका थिए । हालका एआइजी मेट्रोमा आएपछि उनी घुमुवा भएर अतिरिक्त आम्दानीका लागि मारवाडीहरुकै संगतमा हरबखत रहने गरेका छन् । उनले मेट्रोबाट आर्थिक लेनदेनको पाटो सबै हेर्ने अख्तियारी पाएका छन् ।
२०५४ सालतिर रविन्द्रप्रताप शाह अपराध अनुसन्धान महाशाखाको प्रमुख(एसपी) हुँदा हरि पाल इन्स्पेक्टर थिए । कुनै पनि पार्टीको बहुमत नभएको (हङ पार्लियामेन्ट) भएकाले सरकार ढाल्ने र बनाउने खेल खुब हुने त्यस समयमा खुमबहादुर खड्काहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन, चाँदी, भारु र डलरको कारोबारलाई सत्ताकै आडमा छुट दिएका थिए । अघोषित रुपमा विमानस्थलबाट तस्करीको लाइन सुचारु थियो । तस्करीको लाइन बिमल पोद्दारहरुले पाएका थिए । सेटिङ मिलाउने जिम्मेवारी पालकै भएकाले उनको मारवाडीहरुसँगको कनेक्सन राम्रो त्यसबेलादेखिकै रहँदैआएको उनलाई चिन्नेहरुलाई राम्रो थाहा छ । बिमल पोद्दारले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको छानबिन गर्न गठित इश्वरराज पौडेल नेतृत्वको छानबिन समितिसमक्ष दिएको बयानमा हरि पालको प्रसंग पनि उल्लेख गरेका छन् । उनले पौडेल समितिलाई दिएको बयानमा भनेका छन्–‘एसएसपी हरि पाललाई भेट भएको समयमा रक्सी खुवाएको छु, उहाँ मेरो मिल्ने साथी पनि हो ।’
पोद्दारले छानबिन समितिसँग अवैध हुन्डीको कारोबार गरेको स्वीकार गरेका छन् । अवैध हुन्डी कारोबार गरेको स्वीकार गरेका पोद्दारलाई जिल्ला अदालत मोरङले २०७८ असोज १९ मा सफाइ दिएको छ । माथि नै सेटिङ गरेकाले पोद्दार, बाजेको स्ेकुवाका मालिक चेतन भण्डारी, मनाङ होटलका संचालक भुजुङ गुरुङ, सम्बीर तोलाङ्गे, आरके ज्वेलर्सका राजेन्द्र शाक्यले सफाइ पाएको समाचार सार्वजनिक भइसकेको छ ।