बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ की २७ वर्षीया सीता भण्डारी पौड्यालको मृत्यु प्रकरणमा थप जटिलता पैदा हुँदै गएको छ। प्रहरीले यथार्थ सार्वजनिक नगरेको भन्दै मृतक पक्षले आन्दोलन दिनहुँ चर्काउदै आएका छन्।
गत भदौ २० गते आफ्नै घरको कोठामा मृत फेला परेकी भण्डारीको मृत्यु शंकास्पद भएको भन्दै माइती पक्षले आजसम्म पनि शव बुझेका छैनन्।
प्रहरीले पोस्टमार्टम रिपोर्टका आधारमा सिताले झुण्डिएर आत्महत्या गरेको बताएको थियो । तर उनका माइती पक्षले प्रहरीको भनाइ स्वीकार गरेका छैनन्। मृत्यु शङ्कास्पद भएकाले उनको हत्या गरिएको भन्दै माइती पक्षले प्रहरीविरुद्ध दैनिक जसो प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले गृहमन्त्री बालकृष्ण खाँणको गृहनगरमा हत्या भएको तीन साता बित्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै बिहीबार प्रहरी कार्यालयमा १ घण्टा धर्ना दिनुका साथै बुटवल-भैरहवा सडकखण्ड अवरुद्ध पारेका थिए ।
छोरीको हत्या नै भएको भन्दै मृतकका बाबु हरिप्रसाद भण्डारीले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए । तर, प्रहरीले जाहेरी लिन नमानेपछि मृतकका माइती पक्ष आन्दोलनमा उत्रिएका हुन् ।