Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली गरिबले बेचे सक्कलीको जग्गा


    शुक्रबार, भाद्र २५ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • बुटवल।  लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० मधुवनी स्थायी घर भएका ७० वर्षीय गरिब कोहार आफ्नो जग्गा धितो राखेर ऋणका लागि वडा कार्यालयमा सिफारिस लिन पुगे। ऋण निकाल्न चार किल्ला सिफारिस लिन पुगेका कोहारले वडाबाट सिफारिस पाएनन्। वडा अध्यक्ष रमजान अलि मियाँले आफूलाई सिफारिस दिन नमानेको कोहार सुनाउँछन्।

    सिफारिस नपाएपछि निरास भएर वडा कार्यालयबाट फर्किए। आफ्नै जग्गाको सिफारिस लिन खोज्दा वडाले किन दिएन ? उनको मनमा कौतुहल्ता जाग्यो। कुरा बुझ्दै गए। छिमेकी र जानेबुझेकासित उनले आफ्नो पीडा पोखे। रहस्य बुझ्दै जाँदा कोहारले थाहा पाए आफ्नो जग्गा नक्कली नागरिकता बनाएर बिक्री भइसकेछ। खबर सुन्दा कोहार ‘छाँगाबाट खसेजस्तो’ भए। 

    लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० महिलवार बजारदेखि १ किलोमिटर दक्षिणतर्फ उनको १० कठ्ठा १६ धुर जग्गा छ। कित्ता नम्वर ४८८ मा ९ कठ्ठा १ धुर र कित्ता नम्बर ५०७ मा १ कठ्ठा १६ धुर जग्गा कोहारको नाममा छ। हाल उक्त क्षेत्रमा प्रति कठ्ठा ३० लाख रुपैयाँमा जग्गा बिक्री भइरहेको स्थानीय बताउँछन्।

    नक्कली गरिब कोहारले योजनाबद्ध रुपमा उक्त जग्गा बिक्री गरेको पाइएको छ। वडा कार्यालयले नक्कली गरिबलाई २०७७ माघ २५ गते जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि दिनु भनि मालपोत कार्यालय सिद्धार्थनगर रुपन्देहीलाई फोटो टाँसेर सिफारिस दिएको छ। २०७७ फागुन १८ गते वडा कार्यालयले चारकिल्ला र नागरिकता प्रतिलिपी सिफारिस दिएको छ। प्रतिलिपी निकालेर उक्त जग्गा नक्कली गरिबले २०७७ फागुन १८ गते मदनपोखरा ४ पाल्पा निवासी सन्दिप कार्कीलाई बिक्री गरेका छन्। सन्दिपले १९ लाख ६७ हजार रुपैयाँ मालपोत कार्यालयमा थैली राखेर जग्गा खरिद गरेका छन्।

    सोही जग्गा सन्दिप कार्कीले दुई महिना नबित्दै २०७८ वैशाख १२ गते यशोधरा गाउँपालिका ८ कपिलवस्तु निबासी गोविन्दप्रसाद मल्लाहलाई १ करोड ९५ लाख रुपैयाँको थैली राखेर बिक्री गरेका छन्। गोविन्दले ऋण निकाल्नका लागि जग्गा बैंकमा धितो राख्ने उद्देश्यले थैली धेरै राखेको बुझिएको छ। २०७८ साउन १२ गते गोविन्दले जग्गा धितो राखी १ करोड ५० लाख रुपैयाँ ग्लोबल आइएमई बैंक तौलिहवा शाखाबाट ऋण लिएका छन्। तर, नक्कली नागरिकता बनाउने गरिब कोहार को हुन् ? अझै पत्तो लागेको छैन। उनको फोटो वडाले दिएको सिफारिस र नागरिकतामा देखिएपनि स्थानीयबासीले समेत उनको पहिचान गर्न सकेका छैनन्।  अन्नपुर्ण पोष्ट दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार