काठमाडौं । कोरोना भाइरस सङ्क्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा यही असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘भेरोसेल’ खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकहरुलाई दोस्रो मात्रा खोप लगाइने जनाएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंहले हिजो सूचना जारी गर्दै ‘भेरोसेल’ को पहिलो मात्रा लगाएका तीन लाख ७० हजार ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाइने जानकारी दिएका छन् ।
दोस्रो खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कार्ड अनिवार्य देखाउनुपर्ने छ । नेपालमा अहिलेसम्म सात लाख ३१ हजार ६५३ जनाले दोस्रो र २५ लाख १९६ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।
गत जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा लगाइएको थियो । यसअघि पहिलो मात्रा लगाएका लाई समेत दोस्रो मात्राको खोप दिइने छ ।