काठमाडौँ । दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी बबरमहल निवासी सरस्वती प्रधान रिहा भएकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहले सरकारी वकिलको आदेशमा प्रधानलार्ई छोडिएको बताएका छन् ।
प्रधानलाई तीन दिनअघि महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट गएको प्रहरीले पक्राउ गरेको थियो । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारले आफूमाथि जातीय विभेद भएको भन्दै जाहेरी दिएकी थिइन् ।
सञ्चारकर्मी सुनारलाई दलित भएको भन्दै कोठा दिन अस्वीकार गरेको आरोपमा पक्राउ परेकी घरधनीलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको रोहबरमा छाडिएको हो ।
पक्राउ परेकी घरधनीलाई छुटाउन बुधबार शिक्षामन्त्री श्रेष्ठ आफै महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए । बुधबारै ती घरधनी रिहाइको माग गर्दै बबरमहलस्थित सरकारी वकिलको कार्यालयअगाडिको सडकमा प्रदर्शन गरिएको थियो ।