केपी ओली, सूरज बैद्य र बिजय दुगड
काठमाडौं । कोरोना महामारीका कारण अस्पतालमा उपचार नपाएर दैनिक ५८ जनाको मृत्यु भइरहेको छ । अक्सिजन र आइसियुको अभाव भएर अस्पतालमा मृत्युबरण गरेकाहरुको आफन्तको चित्कार सरकारले सुनेको छैन । प्राइभेट अस्पतालमा उपचार गर्नसक्ने हैसियत ९० प्रतिशत नेपालीको छैन, सरकारी अस्पतालमा बेड अभाव छ ।
प्राइभेट अस्पताले एक दिनको ३० हजारदेखि ५० हजार शुल्क असुली गरिरहेका छन् । तर केपी ओली नेतृत्वको संवेदनहीन सरकार धरहरा उदघाटन र राम मन्दिर बनाउने नाममा बालुवाटारमा भोजभतेरमा रमाइरहेको छ । अरुलाई विवाह गर्न र मलामी जान रोक्छ, बालुवाटारमा सयौंको भीड जम्मा गर्छ, भरतपुरमा हजारौंको भीडमा पर्यटन मन्त्री भानुभक्त ढकाल गएर राम मन्दिर बनाउनु अहिलेको अवस्थामा सबैभन्दा जरुरी र ओली सरकारको उपलब्धी भएको भाषण गर्छन् । भरतपुरबाट फर्किएपछि ढकाल नै कोरोना संक्रमणको शिकार भएका छन् ।
कोरोना महामारी नियन्त्रणका लागि भारतको सेरुम इन्डष्ट्रिजबाट २० लाख डोज खोप खरिदको लागि नेपालले रकम भुक्तानी गरिसकेको थियो । १० लाख डोज आएर नेपालीले खोप लगाए । १० लाख डोज खोप प्रधानमन्त्री ओली निकट ब्यापारी सूरज बैद्य र बिजय दुगडको कमिसन नमिलेका कारण आउन सकेको छैन । ढिलोमा पनि चैतको दोस्रो सातामा आउनुपर्ने खोप बैशाख बितिसक्न लाग्दा पनि आएको छैन ।
सुरज बैद्य र बिजय दुगडको हुकुम इन्टरप्राइजेजलाई १० प्रतिशत कमिसन नदिएका कारण उक्त खोप रोकिन पुगेको खुलासा भएको छ । बैद्यको कनेक्सन सिधै बालुवाटारसुँग छ । सेरुमबाट थप ५० हजार कोभिसिल्ड खोप आयात गर्ने तयारीमा सरकार थियो । यो थाहा पाएपछि ब्यापारी बैद्य र दुगडले बालुवाटारसँग कनेक्सन मिलाएर खोपको १० प्रतिशत कमिसन स्थानीय एजेन्ट हुकुमलाई नदिएसम्म खोप आयात हुन दिएनन् ।
खोपको मूल्य पनि प्रतिडोज बढाएर खरिद गरी महामारीमा लुट कान्छा लुट को खेतीमा लागेका थिए । बालुवाटारको संरक्षणमा बैद्य र दुगडले महामारीमा लुट्न खोेजेको कतैबाट लुकेको छैन । महामारीमा पनि आफ्ना विश्वासपात्र ब्यापारीमार्फत् कमाउधन्दा संचालन गरेर बालुवाटारले संवेदनहीनताको चरम विन्दूमा आफूलाई उभ्याएको छ ।
प्रधानमन्त्री ओलीका अति निकट ब्यापारी हुन् सूरज बैद्य । हुकुम इन्टरप्राइजेज उनकी श्रीमती ऋतु बैद्य र बिजय दुगडको नाममा दर्ता छ । हुकुमकै कारण खोप रोकिएको पुष्टि भइसकेको छ । बैद्यले खोप आयात गरी अरबौं कमिसन चप्काउनका लागि बालुवाटारकै संकेतमा एजेन्सी दर्ता गरेको देखिन्छ ।
यदि खोप आयातको कमिसनमा बालुवाटारको रुची छैन भने बैद्य र दुगडलाई पक्राउ गरी मानवताबिरोधी अपराध गरेको अभियोग लगाउन कसले रोकेको छ सरकार ? महामारीमा खोप आयात रोक्ने जस्तो अपराध अरु के हुनसक्छ ? संक्रामक रोग सम्बन्धी ऐन २०२० अनुसार बैद्य र दुगडलाई कारबाही गर्न ओली सरकार तयार छ ?