निर्मल बाबु लामिछाने / काठमाडौं । दोश्रो चरणको कोरोना महाब्याधी दिउँसो दुइगुना रात चौगुनाका दरले फैलदैछ।
बुधबार मात्र देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र १०५१ जना थपिएका छन् ।
पछिल्ला दिनहरुमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि कोरोनाको जोखिम पनि उच्च बन्दै गएको छ । यस्तैमा देशका कतिपय ठाउँहरुमा शैक्षिक संस्थाहरु बन्द भइसकेका छन् भने केही जिल्लाहरुमा पुन लकडाउन समेत सुरु भइसकेको छ।
यसैबीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबैले जनस्वास्थ्य मापदण्ड पालन गरौं भन्दै आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत् जसपा संघिय परिषद अध्यक्ष समेत रहेका भट्टराईले पूर्व राजादेखि वालवालिकासम्म संक्रमित बनेकोमा प्रधानमन्त्रीलगायत साधारण नागरिकहरुले केही नभए झैं गरी आमसभा, जात्रा, अनुष्ठान, भोजभतेर गरिरहेकोमा भने आपत्ति जनाएका छन्।
उनले लेखेका छन्, दोश्रो चरणको कोरोना महाब्याधी दिउॅसो दुइगुना रात चौगुनाका दरले फैलदैछ । पूर्व राजादेखि वालवालिकासम्म संक्रमित बन्दैछन् । तर प्रमदेखि साधारण नागरिकसम्म सबै केही नभए झैं गरी आमसभा, जात्रा, अनुष्ठान, भोजभतेर गरिरहेछौं । आफ्नो र अरूको जीवनसंग खेलबाड नगरौं ! सबैले जनस्वास्थ्य मापदण्ड पालन गरौं !’