Nepal Face
  • शुक्रबार, ५ मंसिर २०८३
  • रास्वपामा ‘नेपो बेबी’ हरूकै हालीमुहाली, सांसदहरूबीच चरम असन्तुष्टि, परिवारवादविरुद्धको नारा आवरणमात्रै


    शुक्रबार, मंसिर ५ २०८३
    215
    Shares
    नेपाल फेस
  • १० मिनेट पाठ
  • भरत घिमिरे

    काठमाडौँ । “परिवारवाद, नातावाद र कृपावादको अन्त्य गर्छौँ, जान्नेलाई छान्ने र भुइँमान्छेलाई राजनीतिमा ल्याउँछौँ’’ भन्दै नेपाली राजनीतिको मञ्चमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र यतिबेला गम्भीर आन्तरिक विद्रोह र असन्तुष्टिको ज्वारभाटा विस्फोट हुन थालेको छ ।

    २०८२ फागुन २१ को निर्वाचनमा १ सय ८२ सिटसहित झण्डै दुई–तिहाइ बहुमत हासिल गरेर सत्ताको बागडोर सम्हालेको रास्वपाका अधिकांश सांसदहरू अहिले आफ्नै नेतृत्व र सरकारको कार्यशैलीप्रति चरम असन्तुष्ट बनेका छन् ।

    पार्टीभित्रको आन्तरिक लोकतन्त्र समाप्त पारिएको भन्दै सांसदहरूले सामाजिक सञ्जालमार्फत् नै नेतृत्वविरुद्ध आक्रोश छरपष्ट पार्न सुरु गरिसकेका छन् ।

    विगतमा पुराना राजनीतिक दलहरूमा रहेको अनुशासन, नैतिकता र सङ्गठनात्मक पद्धतिलाई ‘बन्धन र झोलेतन्त्र’ भन्दै खिल्ली उडाउने तथा राजनीतिक विरासत र पहुँचको आडमा शक्तिमा पुगेका ‘नेपो बेबी’ (Nepo Babies ) हरू नै अहिले रास्वपा र सरकारको फ्रन्टलाइन (अग्रपंक्ति) मा हावी भएका छन् ।

    राज्यको ढुकुटी दोहन गरी मन्त्री र सांसदहरू विलासी विदेश भ्रमणमा लिप्त हुन थालेपछि आशिका तामाङ लगायतका सांसदहरूले सार्वजनिकरूपमै तीव्र रोष प्रकट गरेका छन् । दुई–तिहाइ नजिकको मतले मात्तिएको रास्वपा नेतृत्व र सरकारका मन्त्रीदेखि सामान्य कार्यकर्तासम्ममा दम्भ र घमण्डले सीमा नाघेको विश्लेषण भइरहेको छ ।

    पुराना दलहरूलाई ‘बंशवाद र परिवारवाद’ को आरोप लगाउने रास्वपाको सत्ता समीकरण र संसद्मा कसरी शक्तिशाली परिवारका सन्तान र विवादित पृष्ठभूमि भएका ‘नेपो बेबी’ हरूको कब्जा छ भन्ने तथ्य तलका पात्रहरूको पृष्ठभूमिबाट स्पष्ट हुन्छः

    १. बालेन्द्र शाह (प्रधानमन्त्री)

    वर्तमान सरकारका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कुनै सामान्य भुइँमान्छे परिवारबाट आएका पात्र होइनन् । उनी वि.सं. २०५८ साल मङ्सिर २९ गतेदेखि २०६३ साल वैशाख ३१ गतेसम्म सिंहदरबार वैद्यखाना विकास समितिको कार्यकारी निर्देशक पदमा राजनीतिक नियुक्ति पाएका र भ्याएसम्म लाभ लिएका आयुर्वेदिक चिकित्सक स्व. रामनारायण शाहका छोरा हुन् ।

    प्रशासनिक अभिलेख अनुसार, कार्यकारी निर्देशकको कार्यकाल चार बर्षको मात्र भए तापनि म्याद नै नथपिएको अवस्थामा समेत रामनारायण शाहले चार बर्ष पाँच महिना पदमा बसेर तलब–भत्ता बुझेका थिए, जुन कानुनी रूपमा भ्रष्टाचार मानिन्छ । उनको कार्यकालमा वैद्यखानाको अवस्था झनै विकराल बन्न पुगेको थियो । त्यतिमात्र होइन, उनले भारतको पटनाबाट इन्टरमिडियट तहको नक्कली शैक्षिक प्रमाणपत्र खरिद गरी ल्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको थियो ।
    अख्तियारले पटनास्थित सम्बन्धित कलेजमा पत्राचार गर्दा उनको प्रमाणपत्रको कुनै आधिकारिक रेकर्ड नभेटिएको जवाफ आएपछि वि.सं. २०६६ सालमा उनीविरुद्ध भ्रष्टाचारको कसुरमा विशेष अदालतमा अभियोगपत्र समेत दर्ता भएको थियो ।

    २. डा. स्वर्णिम वाग्ले (अर्थमन्त्री)

    रास्वपाका उपसभापति एवं वर्तमान उपप्रधान तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उदय पनि राजनीतिक ‘सोर्सफोर्स’ कै जगमा भएको हो । नेपाली कांग्रेसका तत्कालीन प्रभावशाली मन्त्री चिरञ्जीवी वाग्लेको विशेष अनुरोधमा तत्कालीन शिक्षामन्त्री एवं बूढानीलकण्ठ स्कुल सञ्चालक समितिका अध्यक्ष गोविन्दराज जोशीको ठाडो आदेशमा स्वर्णिमका पिता जीवनराज वाग्लेलाई बूढानीलकण्ठ स्कुलमा शिक्षकको जागिर खुवाइएको थियो । सोही शिक्षक कोटाको सुविधा प्रयोग गर्दै स्वर्णिमले बूढानीलकण्ठ स्कुलमा निःशुल्क अध्ययन गर्ने अवसर पाएका थिए । पछि नेपाली कांग्रेसकै सिफारिसमा उनी राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्ष जस्तो गरिमामय पदमा दुई कार्यकाल पुगे ।

    उनका पिता जीवनराज वाग्लेको आर्थिक कारोबार समेत निकै विवादित रह्यो । जीवनराजले एक जना व्यवसायीलाई जग्गा उपलब्ध गराइदिने भन्दै तमसुक (कागज) नै गरेर ५० लाख रुपैयाँ लिएका थिए । तर, पैसा लिएपछि जग्गा दिनुको साटो उनी आफ्ना कान्छा छोरासँग अष्ट्रेलिया गएर बसे । सहकारीबाट महँगो ब्याजमा ऋण लिएर पैसा बुझाएका ती व्यवसायीले विभिन्न निकायमा उजुरी हालेपछिमात्रै ३ बर्षपछि बल्लतल्ल साँवा रकममात्र फिर्ता पाए । जग्गा लेनदेनको उक्त करारनामामा स्वर्णिमका स्वकीय सचिव एवं ज्वाइँ खोमनाथ अधिकारीको समेत साक्षीका रूपमा हस्ताक्षर रहेको स्पष्ट देखिन्छ ।

    ३. सस्मित पोखरेल (शिक्षामन्त्री)

    वर्तमान सरकारका शिक्षा तथा युवा खेलकुद मन्त्री सस्मित पोखरेल पनि उच्च प्रशासनिक घरानाका ‘नेपो बेबी’ हुन् । उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट सेवानिवृत्त भएका रमेशकुमार पोखरेलका छोरा हुन् । उनका पिता रमेश पोखरेलले वि.सं. २०७५ मङ्सिर १७ गतेदेखि २०७७ असार २२ गतेसम्म स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा रहेर समेत काम गरेका थिए । प्रशासनिक र राजनीतिक पहुँचकै विरासत बोकेर सस्मित रास्वपाको नेतृत्व तह हुँदै मन्त्रीको कुर्सीमा पुगेका हुन् । एमालेको सिफारिसमा नियुक्त भएका राष्ट्रबैंकका तत्कालीन गभर्नर युवराज खतिवडाले पोखरेललाई अमेरिकाको वासिङ्टनस्थित अन्तर्राष्ट्रिय मुद्राकोषमा पठाएका थिए । बाबु राज्यकै तर्फबाट मुद्राकोषमा जान पाएकै कारण सस्मितले अमेरिकामा अध्ययनको अवसर पाएका थिए ।

    ४. लिमा अधिकारी (समानुपातिक सांसद)

    रास्वपाकी समानुपातिक सांसद तथा सचिवालय सदस्य लिमा अधिकारी नेकपा (एमाले) का दिवङ्गत वरिष्ठ नेता तथा पटक–पटक अर्थमन्त्री बनेका भरतमोहन अधिकारीकी माहिली छोरी हुन् । उनको विवाह तत्कालीन नेकपा (माओवादी) का तर्फबाट अन्तरिम व्यवस्थापिका संसद्को सदस्य (सांसद) बनेका वरिष्ठ उद्योगपति कृष्णप्रसाद आचार्यका छोरा सुदीप आचार्यसँग भएको थियो । राजनीतिक र औद्योगिक दुवै शक्ति केन्द्रसँग जोडिएकी लिमा भरतमोहनका तीन छोरीमध्ये राजनीतिमा सक्रिय पात्र हुन् । उनी माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा थिइन् । पछि रास्वपामा प्रवेश गरेकी हुन् ।

    भरतमोहन अधिकारी पछिल्लो पटक अर्थमन्त्री हुँदा भ्याट छली प्रकरणमा मुछिएका उद्योगपति विनोद चौधरी लगायतका १८२ वटा ठूला उद्योगहरूलाई कर छुट दिएबापत ललितपुरको कुपण्डोलमा एक रोपनी क्षेत्रफलमा फैलिएको आलिसान महल उपहार पाएको चर्चा त्यतिबेला निकै तातो थियो । उक्त आलिसान महल भारतको सिक्किममा विवाह गरेकी भरतमोहनकी कान्छी छोरी (जसका श्रीमान् सिक्किम सरकारका इलेक्ट्रिकल इन्जिनियर हुन्) को नाममा रहेको बताइन्छ ।

    ५. सुशान्त वैदिक (सांसद)

    प्यूठानबाट रास्वपाको टिकटमा प्रत्यक्ष निर्वाचित सांसद सुशान्त वैदिक न्यायिक क्षेत्रको राजनीतिक भागबन्डाको विरासत बोकेका पात्र हुन् । उनी तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा न्यायपरिषद्को सदस्य बनेका पदमप्रसाद वैदिकका छोरा हुन् ।

    न्यायपरिषद् सदस्य पदम वैदिकले माओवादी कोटाबाट सर्वोच्च अदालतको न्यायाधीश बन्ने तीव्र लोभमा आफ्नो कार्यकाल केही महिना बाँकी छँदै पदबाट राजीनामा दिएका थिए । तर, माओवादी जनयुद्धकालमा रगत र पसिना बगाएका वरिष्ठ अधिवक्ताहरू एकराज भण्डारी, रमण श्रेष्ठ, रामनाथ मैनाली र वासुदेव सिग्देल लगायतलाई पाखा लगाएर कनिष्ठ र योगदान नभएका वैदिकलाई न्यायाधीश बनाउन खोजिएपछि कांग्रेस र एमालेका नेताहरूको कडा विरोधका कारण उनको नियुक्ति रोकियो र उनी ’घर न घाटको’ बने ।

    सर्वोच्चको न्यायाधीश सरहको पदमा बसिसकेकाले नैतिक रूपमा उनी वकालत पेसामा फर्किएनन् । यद्यपि, कांग्रेस समर्थित बारको सिफारिसमा न्यायपरिषद् सदस्य बनेका उपेन्द्रकेशरी न्यौपाने भने अहिले पनि जिल्ला अदालतहरूमा समेत वकालत गरिरहेको एक लमजुङका अधिवक्ता बताउँछन् । वैदिकले न्यायपरिषद सदस्य हुँदा हैसियत बिर्सिएर जिल्लाका मुद्दामा समेत न्यायाधीशलाई फोन गर्ने गरेको आरोप लाग्ने गरेको थियो ।

    ६. समीक्षा बास्कोटा (समानुपातिक सांसद)

    विवेकशील नेपाली दल हुँदै रास्वपाबाट समानुपातिक सांसद बनेकी समीक्षा बास्कोटा पूर्वगृहराज्यमन्त्री दीपक प्रकाश बास्कोटाकी छोरी हुन् । शेरबहादुर देउवाको पहिलो प्रधानमन्त्रीत्वकाल (वि.सं. २०५२ भदौ २७ देखि २०५३ फागुन २९ सम्म) मा खुमबहादुर खड्का गृहमन्त्री हुँदा दीपकप्रकाश बास्कोटा गृहराज्यमन्त्री थिए । सोही कार्यकालमा देशमा माओवादी सशस्त्र द्वन्द्व सुरु भएको थियो र राज्यपक्षबाट धेरै निर्दोष नागरिकहरूले माओवादीको आरोपमा ज्यान गुमाएका थिए ।

    दीपक बास्कोटाका आधा दर्जनभन्दा बढी सन्तानमध्येकी एक समीक्षाको पारिवारिक पृष्ठभूमि शक्ति र सहकारी अभियानसँग जोडिएको छ । पूर्वगृहराज्यमन्त्रीको पद भजाएर लामो समय राष्ट्रिय सहकारी संघको अध्यक्ष बन्दै विश्वका अधिकांश मुलुक घुमेका दीपक बास्कोटाकी छोरी समीक्षा अहिले रास्वपाको नीति निर्माण तहमा छिन् ।

    ७. विराजभक्त श्रेष्ठ (सांसद तथा ऊर्जामन्त्री)

    काठमाडौँ–८ बाट निर्वाचित सांसद तथा वर्तमान ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ काठमाडौँको परम्परागत सम्भ्रान्त नेवार व्यापारिक तथा राजनीतिक घरानाका सदस्य हुन् । उनको परिवार स्थानीय राजनीति र सामाजिक नेतृत्वमा लामो समयदेखि प्रभावशाली रहँदै आएको छ । यतिमात्र होइन, उनका ससुरा तराई–मधेशको राजनीतिको सदाबहार सत्ता खेलाडी एवं पञ्चायतकालदेखि गणतन्त्रकालसम्म गरी १८ पटक मन्त्री बनेका शरतसिंह भण्डारी हुन् । विराजभक्तले शरतसिंह भण्डारीकी छोरी सृष्टिसिंह भण्डारीसँग विवाह गरेका हुन् ।

    निष्कर्षः

    पुराना दलहरूलाई ’परिवारवाद र सिन्डिकेट’ को संज्ञा दिएर सत्तामा पुगेको रास्वपाभित्रको यी अनुहारले नयाँ राजनीतिको आवरणमा पुरानै कुलीनतन्त्र र ‘नेपो बेबी’ हरूको पुनरावृत्ति भएको पुष्टि गर्छ । जबसम्म पार्टीभित्र भुइँमान्छे र इमानदार कार्यकर्ताको सम्मान हुँदैन र केवल शक्तिशाली बाबु–ससुराको विरासत बोकेकाहरूले मात्र तर मार्ने प्रवृत्ति रोकिँदैन, तबसम्म रास्वपाभित्रको यो आन्तरिक विद्रोह अझ विकराल बन्दै जाने निश्चित छ । २०८३ कात्तिक ३० गतेको डायरी एक्सप्रेस साप्ताहिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार