Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • घर झिलिमिली, सम्बन्ध धमिलो : बदलिँदो चाडपर्व संस्कृतिको कथा 


    सोमबार, कार्तिक २४ २०८३
    35
    Shares
    नेपाल फेस
  • १० मिनेट पाठ
  • भोलाप्रसाद रोका

    आडम्बर, महँगा पहिरन र सामाजिक प्रतिष्ठाको प्रतिस्पर्धामा हाम्रा चाडपर्वको मौलिकता हराउँदै त छैन ? आस्था, आत्मीयता र भाइचाराको उज्यालोभन्दा घरको झिलिमिली ठूलो हुन थालेको त होइन ?

    “दाइ, यसपालि तिहारमा घर कति झिलिमिली बनाउने योजना छ नि ?”

    “अघिल्लो बर्षभन्दा अलि बढी नै गर्नुपर्ला छिमेकीको घरमा नयाँ बत्ती थपिएछन् । हाम्रो घरचाहिँ अँध्यारो देखियो भने के इज्जत रहला र !”

    “अनि लक्ष्मीपूजाको तयारी ?”

    “त्यो त भव्य हुनैर्पयो नि ! घर सजावट, पूजा सामग्री, मिठाई, सेलरोटी सबै विशेष हुनुपर्छ । सामाजिक सञ्जालमा फोटो राख्दा पनि तिहार आएको देखिनुर्पयो नि !”

    “तर दाइ, लक्ष्मी त घरको झिलिमिली हेरेर आउने हो कि घरपरिवारको सुख, शान्ति र सन्तुष्टि हेरेर ?”

    “त्यो त ठीकै हो भाइ, तर अहिलेको जमानामा खुसी मनाउनु मात्र कहाँ छ र, खुसी देखाउन पनि त जान्नुपर्छ !”

    यो संवाद काल्पनिक भए पनि हाम्रो बदलिँदो चाडपर्व संस्कृतिको एउटा प्रतिनिधि चित्र हो । तिहार नजिकिँदै गर्दा बजारमा बत्ती, सजावटका सामग्री, मिठाई र उपहारको चहलपहल बढेको छ । घरआँगन उज्यालो बनाउने तयारीसँगै सामाजिक सञ्जालमा आफ्नो तिहार कति आकर्षक देखाउने भन्ने तयारी पनि सुरु भएको छ । प्रश्न यतिमात्र हो—हामी तिहार मनाउने तयारी गर्दै छौँ कि तिहारका नाममा आफ्नो सम्पन्नताको विज्ञापन गर्ने तयारी ?

    हाम्रा चाडपर्व केवल धार्मिक अनुष्ठान होइनन् । यी आफन्त भेट्ने, सम्बन्ध नवीकरण गर्ने, खुसी साट्ने र सामाजिक सद्भाव बढाउने अवसर हुन् । बर्षभरि काम, जिम्मेवारी र व्यस्ततामा अल्झिएका मानिसलाई परिवार र समुदायसँग जोड्ने सांस्कृतिक सेतु पनि हुन् । तर पछिल्लो समय चाडपर्व मनाउने हाम्रो शैलीमा एउटा रोचक परिवर्तन देखिन थालेको छ । आस्था र आत्मीयताका लागि बनेका पर्वहरू कतै आर्थिक हैसियत प्रदर्शन गर्ने प्रतिस्पर्धामा त परिणत भइरहेका छैनन् ?

    तिहारलाई नै हेरौँ । यो दियो बाल्ने, घरआँगन सफा गर्ने, लक्ष्मीपूजा गर्ने, भाइटीका लगाउने र दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने पर्व हो । तर आज तिहारमा कसको घरमा कति झिलिमिली बत्ती बल्यो, कसको छत कति आकर्षक देखियो र कसको सजावट छिमेकीको भन्दा राम्रो भयो भन्ने प्रतिस्पर्धा पनि देखिन्छ । घरभित्रको अँध्यारो हटाउने परम्परा घरबाहिरको सम्पन्नता देखाउने माध्यम बन्न थालेको छ ।

    लक्ष्मीपूजामा धनकी देवीको आराधना गरिन्छ, तर कतै हामीले लक्ष्मीको स्वागतभन्दा आफ्नो आर्थिक हैसियतको प्रदर्शनलाई प्राथमिकता दिन थालेका त छैनौँ ? घर उज्यालो बनाउन लगाइएको बत्तीको बिजुली बिलले अर्को महिनाको घरबजेट अँध्यारो बनाउने अवस्था आउनु कस्तो समृद्धि हो ?

    दसैँमा पनि यस्तै दृश्य देखिन्छ । मान्यजनको आशीर्वाद, टीका, जमरा र पारिवारिक पुनर्मिलन यसको मूल आत्मा हो । तर दसैँ आउनासाथ नयाँ लुगा, महँगा जुत्ता, गरगहना, नयाँ मोबाइल र घरको रङरोगनको सूची तयार हुन्छ । कसले कति खर्च र्गयो, कसले कस्तो पहिरन लगायो र कसको घरमा कति भव्य भोज भयो भन्ने कुराले पनि सामाजिक प्रतिष्ठा निर्धारण गर्न थालेको छ । ऋण लिएर भए पनि दसैँमा नयाँ लुगा लगाउनुपर्ने मनोविज्ञानले सामान्य आय भएका परिवारलाई समेत दबाबमा पार्छ। दसैँमा आशीर्वाद लिन जाँदा ऋणको भारी पनि सँगै लैजानुपर्ने हो र?

    तीज महिलाहरूको भेटघाट, सांस्कृतिक अभिव्यक्ति र आत्मीयताको पर्व हो । तर कतिपय ठाउँमा दरको भव्यता, महँगा साडी, गरगहना, मेकअप र महिनौ दिन अघिबाटै पार्टी प्यालेसको आकर्षणले पर्वको मौलिक पक्षलाई छायामा पार्न थालेको छ। कसको दर महँगो, कसको पहिरन आकर्षक र कसको नाच सामाजिक सञ्जालमा बढी चर्चित भयो भन्ने प्रतिस्पर्धाले महिलाको खुसीलाई पनि प्रदर्शनसँग जोड्न थालेको छ। तीज महिलाले आफ्नो मनको खुसी व्यक्त गर्ने अवसर हो कि आफ्नो आर्थिक हैसियत प्रमाणित गर्ने मञ्च ?

    छठ पर्वले सूर्यप्रति कृतज्ञता, प्रकृतिप्रतिको सम्मान, स्वच्छता, अनुशासन र सामूहिक आस्थाको सन्देश दिन्छ । नदी, पोखरी र जलाशयका किनारमा सामूहिक रूपमा मनाइने यस पर्वको सुन्दरता नै सामाजिक एकतामा छ । घाट सफा राख्नु, व्यवस्थित बनाउनु र सजाउनु सकारात्मक पक्ष हुन् । तर कतै घाटको सजावट, विद्युत् प्रकाश, महँगा पण्डाल र ठूलो साउन्ड सिस्टमले नै पर्वको भव्यता मापन गर्न थालिएको त छैन? सूर्यलाई अघ्र्य दिँदा हाम्रो ध्यान आस्थामा होस्, आयोजनाको खर्च र प्रदर्शनमा होइन ।

    होलीमा रङले मनका दूरी मेटाउनुपर्ने हो । तर कतिपय ठाउँमा महँगा रङ, विशेष पोसाक, डिजे र भव्य पार्टीबिना रमाइलो हुँदैन भन्ने सोच विकास हुँदैछ । माघे सङ्क्रान्तिमा चाकु, तरुल, तिल र घिउको सांस्कृतिक स्वादभन्दा भोजका परिकारको संख्या महत्त्वपूर्ण बन्न थालेको छ । ल्होसार, उभौली–उधौलीलगायतका पर्वमा पनि मौलिक संस्कृति, भेषभूषा र सामूहिक पहिचानको संरक्षण महत्त्वपूर्ण हो । तर सांस्कृतिक कार्यक्रमको खर्च, मञ्चको आकार र अतिथिको तामझाम नै प्रतिष्ठाको आधार बन्नु उचित होइन । ईदमा बाँडिने आत्मीयता, क्रिसमसमा साटिने प्रेम र अन्य धार्मिक तथा सांस्कृतिक पर्वले दिने सद्भावको सन्देश पनि महँगा उपहार र सजावटभन्दा धेरै मूल्यवान छन् ।

    यसको अर्थ चाडपर्वमा नयाँ लुगा लगाउनु, घर सजाउनु, मीठो खानु वा रमाइलो गर्नु गलत हो भन्ने होइन । मानिसले आफ्नो क्षमताअनुसार खुसी मनाउन पाउनुपर्छ । समस्या त्यतिबेला सुरु हुन्छ, जब आफ्नो आर्थिक क्षमताभन्दा सामाजिक देखासिकी ठूलो हुन्छ । अरूको घरमा बलेको बत्ती देखेर आफ्नो घर अँध्यारो लाग्ने, अरूको भोज देखेर आफ्नो भान्सा सामान्य लाग्ने र सामाजिक सञ्जालमा देखिएका महँगा पहिरनसँग आफ्नो जीवन तुलना गर्ने प्रवृत्तिले अनावश्यक उपभोग बढाउँछ ।

    सामाजिक सञ्जालले यो प्रवृत्तिलाई थप मलजल गरेको छ । पहिले चाडपर्व परिवार र छिमेकीबीच मनाइन्थ्यो, अहिले त्यसको एउटा हिस्सा मोबाइलको स्क्रिनमा पनि पुगिसकेको छ। पूजा गर्नुभन्दा पूजाको फोटो राम्रो आउनुपर्ने, आफन्त भेट्नुभन्दा भेटघाटको तस्बिर आकर्षक हुनुपर्ने र खुसी मनाउनुभन्दा अरूलाई खुसी देखाउनुपर्ने मनोविज्ञान बढ्दै गएको छ। लाग्छ, अब चाडपर्वको सफलता घरमा कति खुसी बाँडियो भन्नेमा होइन, सामाजिक सञ्जालमा कति प्रतिक्रिया आयो भन्नेमा मापन हुन थालेको छ ।

    यसको सामाजिक र आर्थिक असर पनि सामान्य छैन । चाडपर्वको नाममा ऋण लिने, अनावश्यक सामान किन्ने र देखासिकीमा खर्च गर्ने प्रवृत्तिले न्यून तथा मध्यम आय भएका परिवारलाई आर्थिक दबाबमा पार्न सक्छ । चाड सकिएपछि खुसीका सम्झनासँगै ऋण तिर्नुपर्ने चिन्ता बाँकी रहनु विडम्बना हो । अर्कोतर्फ, चाडपर्व स्थानीय अर्थतन्त्रका लागि अवसर पनि हुन्। स्थानीय फूल, माटाका दियो, परम्परागत पोसाक, कृषि उपज, घरेलु उत्पादन र हस्तकलाको प्रयोग बढाउन सके चाडपर्वले स्थानीय उत्पादक, किसान, साना व्यवसायी र उद्यमीलाई सहयोग र्पुयाउन सक्छन् ।

    यसका लागि स्थानीय सरकारको भूमिका पनि महत्त्वपूर्ण छ । स्थानीय तहले चाडपर्वका अवसरमा औपचारिक शुभकामना कार्यक्रम र मञ्चीय समारोहमा मात्र सीमित नभई स्थानीय उत्पादन र संस्कृतिलाई जोड्ने कार्यक्रम सञ्चालन गर्न सक्छन्। तिहारमा स्थानीय फूल किसान र माटाका दियो बनाउने कुमाल समुदायलाई बजार उपलब्ध गराउने, दसैँ र तिहारमा स्थानीय कृषि तथा घरेलु उत्पादनका मेला आयोजना गर्ने, छठका घाट तथा अन्य धार्मिक स्थलमा सरसफाइ र वातावरण संरक्षणलाई प्राथमिकता दिने र विभिन्न समुदायका पर्वलाई समान सम्मानका साथ सांस्कृतिक पहिचान संरक्षणको माध्यम बनाउने काम गर्न सकिन्छ ।

    टोल विकास संस्था, आमा समूह, युवा क्लब र सहकारीसँग सहकार्य गरेर सामूहिक तथा मितव्ययी उत्सवको अभ्यास विकास गर्न सकिन्छ । आर्थिक रूपमा कमजोर परिवार, ज्येष्ठ नागरिक, एकल महिला र अभिभावकविहीन बालबालिकालाई पनि चाडपर्वको खुसीमा सम्मानपूर्वक सहभागी गराउने वातावरण बनाउनुपर्छ । आखिर स्थानीय सरकारको सफलता सडकमा झिलिमिली बत्ती झुन्ड्याउनुमात्र होइन, त्यो उज्यालोबाट छुटेका घरसम्म खुसी र्पुयाउन सक्नुमा पनि छ ।

    अब चाडपर्वलाई पुनः यसको मौलिक उद्देश्यसँग जोड्ने बेला आएको छ । परिवारले आफ्नो क्षमताअनुसार खर्च गर्ने, बालबालिकालाई देखासिकीभन्दा संस्कार सिकाउने र समुदायले तडकभडकभन्दा सामूहिक सहभागितालाई प्राथमिकता दिने अभ्यास गर्नुपर्छ । चाडपर्वले मानिसलाई ऋणको भारी होइन, आत्मीयताको उपहार दिन सक्नुपर्छ । आफ्नो घर सजाउँदा छिमेकीको अवस्था पनि सम्झने, आफू रमाउँदा अरूको खुसीमा पनि सहभागी हुने र आफ्नो धर्म तथा संस्कृतिको सम्मान गर्दा अरूको आस्थालाई पनि उत्तिकै सम्मान गर्ने संस्कार नै सभ्य समाजको परिचय हो ।

    हामीले बुझ्नुपर्ने कुरा सरल छ—तिहारको उज्यालो बिजुलीको बत्तीमा मात्र होइन, छिमेकीको घरमा बाँडिएको खुसीमा पनि हुन्छ । दसैँको समृद्धि नयाँ लुगामा होइन, मान्यजनको आशीर्वाद र परिवारको मिलनमा हुन्छ । तीजको सुन्दरता गरगहनामा होइन, महिलाको सम्मान र स्वतन्त्रतामा हुन्छ । छठको पवित्रता घाटको सजावटमा होइन, आस्था र प्रकृतिप्रतिको सम्मानमा हुन्छ । होलीको रङ महँगो पिचकारीमा होइन, मनको वैमनस्य मेटाउन सक्ने क्षमतामा हुन्छ ।

    चाडपर्वले हामीलाई धनी देखाउनुभन्दा असल मानिस बन्न सिकाउनुपर्छ । घरको छतमा हजारौँ बत्ती बालेर पनि छिमेकीको दुःख नदेख्ने समाज कसरी समृद्ध हुन सक्छ ? महँगो पहिरन लगाएर पनि आफन्तसँगको सम्बन्ध जोगाउन नसक्ने जीवन कति सुखी होला ? आखिर हामी चाडपर्व मनाइरहेका छौँ कि आफ्नो सम्पन्नताको विज्ञापन गरिरहेका छौँ ?

    समृद्धिको वास्तविक उज्यालो घरमा कति बत्ती बल्छन् भन्नेमा होइन, हाम्रो मनमा अरूका लागि कति उज्यालो बाँकी छ भन्नेमा खोजौँ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार