Nepal Face
  • आइतबार, ११ असोज २०८३
  • वर्षा रोकिए पनि पहिरोको जोखिम कायमै, सडक खुलाउन २५० बढी उपकरण तयारी अवस्थामा


    आइतबार, असोज ११ २०८३
    50
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ । लगातारको वर्षाले जमिन भिजिसकेकाले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम तत्काल नहट्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    प्राधिकरणकी प्रवक्ता शान्ति महतले नदीमा बढेको बहावबाट हुने कटान र पहिरो अहिलेको मुख्य जोखिम रहेको बताउँदै वर्षा कम भए पनि केही दिनसम्म उच्च सतर्कता आवश्यक रहेको बताएकी छन्।

    उनका अनुसार लामो समयसम्म परेको वर्षाका कारण जमिन अत्यधिक भिजेको अवस्थामा रहेकाले मौसम खुलेर घाम लाग्न थालेपछि समेत पहिरो खस्ने सम्भावना रहन्छ। विशेषगरी भिरालो भूभाग र पहिरो प्रभावित क्षेत्रमा थप जोखिम रहन सक्ने उनको भनाइ छ।

    नदी कटान र पहिरोबाट सडक प्रभावित

    लगातारको वर्षाका कारण नदीको बहाव बढ्दा कतिपय स्थानमा कटान तीव्र भएको तथा बस्तीसमेत जोखिममा परेको प्राधिकरणले जनाएको छ। बाढी र पहिरोका कारण राजमार्ग तथा ग्रामीण सडकका विभिन्न खण्ड अवरुद्ध भएका छन्।

    सडक अवरोध हटाएर यातायात सञ्चालनमा ल्याउन सडक विभागले २५० भन्दा बढी हेभी इक्विपमेन्ट विभिन्न स्थानमा पूर्वतयारी अवस्थामा राखेको महतले जानकारी दिइन्।

    उनका अनुसार आवश्यकताअनुसार उपकरण र अपरेटरलाई प्रभावित क्षेत्रमा परिचालन गरी सडक खुलाउने काम भइरहेको छ। वर्षाको मात्रा घट्दै गएर मौसममा सुधार आएपछि सडक सफाइ तथा पुनस्सञ्चालनको कामलाई थप तीव्रता दिइनेछ।

    पहिरोका कारण अवरुद्ध भएका कतिपय सडक खण्ड भने सञ्चालनमा आइसकेको प्राधिकरणले जनाएको छ।

    प्राधिकरणका अनुसार तत्काल बाढी तथा पहिरोको जोखिम पूर्ण रूपमा हटेको छैन। आइतबार रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदी तथा खोलामा पानीको बहाव थप बढ्न सक्ने सम्भावना छ।

    प्रवक्ता महतले वर्षा रोकिएर मौसम खुले पनि पहिरोको जोखिम केही दिन कायम रहने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेकी छन्।

    नदी कटान भइरहेका क्षेत्र, पहिरो प्रभावित सडक तथा भिरालो भूभागमा अनावश्यक आवतजावत नगर्न र सम्भावित जोखिम देखिए सुरक्षित स्थानतर्फ सर्नसमेत प्राधिकरणले आग्रह गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार