Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • आकर्षक ठाउँमा फर्कन र थमौती हुन नापीका दुई हाकिमको अस्वभाविक चलखेल


    मंगलबार, भाद्र ३० २०८३
    350
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौ । आकर्षक मानिने उपत्यकाका नापी कार्यालयमा थमौती हुन र सरुवा हुन दुई प्रमुख नापी अधिकृत (उपसचिव)ले अस्वभाविक चलखेल गरेको पाइएको छ ।

    उपत्यकाका नापी कार्यालयहरुमध्ये भक्तपुर नापी कार्यालय र ललितपुर नापी कार्यालय आकर्षक कार्यालयमा मानिन्छन् । ती दुई कार्यालयमा प्रमुख नापी अधिकृतमा सरुवा हुन नापीका उपसचिवहरुबीच हरेक बर्ष अस्वभाविक चलखेल हुने गरेको छ ।

    ललितपुर र भक्तपुरबाहेक चावहिल, कलंकी र डिल्लीबजार आकर्षक कार्यालय मानिन्छन् । काठमाडौं उपत्यकामा आउन चाहेका तर भनेजति अर्थ बुझाउन नसकेका नापीका उपसचिवहरु चावहिल, डिल्लीबजार र कलंकीमा पनि चित्त बुझाउने गर्छन् । त्यहाँ पनि पैसाको चलखेल हुने गर्छ तर ललितपुर र भक्तपुरमा जस्तो हुँदैन ।

    एक कार्याकाल भन्दा बढी समय भक्तपुर नापीमा बसिसकेका र सधैंजसो आकर्षक ठाउँमा मात्रै खोज्ने स्वभावका प्रमुख नापी अधिकृत ज्ञानेन्द्र बिष्टले यसपटक ललितपुर नापी कार्यालयमा आउन अस्भाविक चलखेल गरिरहेका छन् ।

    पोहोर साल बिष्टलाई तत्कालीन भूमि व्यवस्था मन्त्रालयले नापी कार्यालय बाँकेमा सरुवा गरेको थियो । त्यतिबेला नापी कार्यालय नेपालगञ्जको भवन जलेको थियो । खासै काम हुँदैनथ्यो । केही थोरै सेवामात्र बाँके नापी कार्यालयले दिइरहेको थियो । त्यसैले त्यहाँ कार्यरत प्रमुख नापी अधिकृतको त्यति कमाइ हुने अवस्था थिएन । कमाइ नआउने ठाउँमा विष्टले टेक्नै चाहेनन् । अर्थात् सरुवा भएको ठाउँमा उनी गएनन् । पावर सेटिङ गरी विष्ट पुन काठमाडौं र्फकिए । नापी विभागमा उनी सधैं राम्रो र आकर्षक ठाउँमा बस्ने कर्मचारीको रुपमा चिनिन्छन् । भक्तपुर बस्दा उनको कार्याशैली राम्रो थिएन । उनी विवादित बनेका थिए ।

    यसैगरी उपत्यकाका नापी कार्यालयहरुमा सबैभन्दा कमजोर कार्यक्षमता भएका ललितपुर नापीका प्रमुख अजित कुँवर ललितपुरमै थमौती हुन अनेक जोडबल गरिरहेका छन् । उनको कार्यशैलीदेखि ललितपुरका जनता दिक्क भएका छन् ।

    २०७९ सालमा नापी कार्यालय ललितपुरले ठेँचो गाउँ ब्लकको गाउँ जग्गा ब्लक दर्ता गर्न सूचना निकालेको थियो । तर अहिलेसम्म केही काम हुनसकेको छैन । सूचना निकाल्ने बेला कुँवर ललिपुरमा थिएनन् । अहिले काम गर्ने बेला भएको छ, तर कुँवरले कामको नाममा सिन्को भाँचेका छैनन् ।

    स्वबासी जग्गा दर्ता गर्ने काम पनि कुँवरले गरेका छैनन् । जबकि भक्तपुर नापी कार्यालयले स्वबासीको जग्गा दर्तामात्र गरिरहेको छैन, लालपुर्जासमेत बाँडिसेकेको छ । ललितपुरमा भने २०७९ सालमै यसको सूचना निकालिसकिएको थियो । तर काम केही हुनसकेको छैन ।

    यसैगरी छुट जग्गा दर्ता तथा अव्यवस्थित जग्गाको विषयमा पनि उनले केही काम गरेका छैनन् । तर लाभ हुने ठाउँमा भने उनले फायल एक घण्टा पनि अड्काउने गरेका छैनन् । ‘उहाँले धेरै राम्रो गरेको छु भनी आफ्नो बयान आफैं गर्नुहुन्छ । तर काम केही गर्नुहुन्न । लाभ हुने काममात्र गर्नुहुन्छ’ नापी कार्यालय ,ललिपुरकै एक जुनियर कर्मचारी भन्छन् ।

    प्रमुख नापी अधिकृत बिष्टको काठमाडौंको नापी कार्यालयको प्रमुख हुने र कुँवरको ललितपुरको प्रमुखमा थमौती हुने दौडधूप देखेर भूमिब्यवस्था मन्त्रालयका कर्मचारीहरु ‘कसैलाई खातमाथि खात, कसैलाई पुर्पुरोमा हात’ भन्ने उखान जुन सरकार आए पनि चरितार्थ हुँदोरहेछ भन्न थालेका छन् ।

    भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिनमै केही नापी कार्यालयहरुमा प्रमुख नापी अधिकृतहरुको सरुवा गर्न खोजिरहेको छ । त्यसका लागि अहिले गृहकार्य भइरहेको छ । यही बेला नापीका उपसचिवहरु आकर्षक ठाउँमा जान र थमौती हुन चलखेल सुरु गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार