Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • सम्पत्ति शुद्धीकरणका शक्तिशाली सुब्बाको सरुवा, ४० दिनसम्म रमाना लिएनन्


    शुक्रबार, भाद्र २६ २०८३
    385
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्‍याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको सरुवा रोक्न पत्र लेखेका छन् ।

    भूमिब्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बर्षौदेखि काठमाडौं उपत्यकामा कार्यरत नायबसुब्बाहरुको सरुवा गर्दा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागका प्रकाशचन्द्र सापकोटा पनि परेका थिए । तिनै नासु सापकोटाको सरुवा रोक्न ढकालले पत्र लेख्न पुगेका थिए ।

    २०६८ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभाग स्थापना भएदेखि नै कार्यरत शक्तिशाली नायबसुब्बा प्रकाशचन्द्र सापकोटाको ४० दिनअघि साउन १८ गते गृहमन्त्रालय वा अन्तर्गत सरुवा भएको थियो ।

    निजामती सेवा नियमावलीअनुसार सरुवा भएको २१ दिनभित्र खटाएको कार्यालयमा रमाना लिई जानुपर्ने प्रावधान छ । तर नासु सापकोटा ४० दिनसम्म पनि सरुवा भएको कार्यालयमा हाजिर हुन गएका छैनन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागमै कार्यरत छन् । र, सरुवा रोकाउन र बिभागमै थमौती हुन शक्तिकेन्द्र धाइरहेका छन् । उनले सरुवा भएकै दिनदेखि सरुवा रोकाउन साम, दाम, दण्डभेद सबै नीति अंगिकार गरेका छन् ।

    बिभाग स्थापना भएदेखि हालसम्मका २० जनै महानिर्देशकलाई आफ्नो प्रभावमा राख्न सफल नासु सापकोटाले वर्तमान महानिर्देशक निर्मल ढकाललाई पनि आफ्नो सरुवा रोकाउनका लागि प्रयोग गरे छन् । महानिर्देशक ढकालले नासु सापकोटाको सरुवा भएको एक सातामै २०८३ साउन २५ गते भूमिब्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखी विभागमै राख्न अनुरोध गरेका थिए ।

    विभागका नायब सुब्बा प्रकाशचन्द्र सापकोटालाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय मूल्यांकन, जोखिम मूल्यांकन तथा अनुसन्धानका महत्त्वपूर्ण काममा संलग्न रहेको कारण देखाउँदै सन् २०२७ जनवरीसम्म नेपाल ग्रेलिस्टमा रहने अवधिभर विभागमै राख्न महानिर्देशक ढकालले पत्र पठाएका थिए । साउन १८ गते सामान्य प्रशासन मन्त्रालयले ५६ जनाको नायबसुब्बाको सरुवा गर्दा सापकोटा पनि परेका थिए ।

    हरेक डीजीका विश्वासपात्र नासु सापकोटा, सेटिङ र डिलमा अनुभवी

    सम्पत्ति शुद्धीकरण बिभागका प्रकाश सापकोटा १५ बर्षदेखि अर्थात् स्थापनादेखि नै कार्यरत रहेका छन् । उनी हरेक महानिर्देशकका विश्वासपात्र बन्न सफल हुँदैआएका छन् । यसअघि पनि उनको सरुवा भए पनि उनी खटाएको ठाउँमा कहिल्यै गएका छैनन् । यो पटक पनि उनी सरुवा रोकाउनकै लागि रमाना नलिई बसेका छन् ।

    बिभागमा परेका सम्पत्ति शुद्धीकरणका उजुरीमा सेटिङ गर्ने र तलदेखि माथिसम्म मिलाउन सफल हुँदैआएका सापकोटाले सेटिङ मिलाएपछि नै तत्कालीन बिभागका डीजी प्रेम भट्टराईले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेरका भाइ प्रभुशमशेर राणाको उजुरी तामेलीमा राखेका थिए । आइपेक्स मलको जग्गा हडपेकोदेखि मुस्ताङ्गी राजाखलकको ठमेलको जग्गा प्रकरणमा पनि प्रभुलाई नासु सापकोटाकै सेटिङमा बिभागले उजुरी तामेलीमा राखेको थियो ।

    न्यूरोडका सुनतस्करमिा मुछिएका लक्की ज्वेलर्सका ऋषि ठाकुर, मोहनकुमार अग्रवाल, रविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल, ओटुको सिद्धनाथ सुनचाँदी खार्नीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खार्नी पसलका नन्दकुमार मर्गले लगायतका धेरैसँग सेटिङ गरी सम्पत्ति शुद्धीकरणका उजुरी तामेलीमा हाल्ने बिचौलिया नै नासु सापकोटा रहेको स्रोेत बताउँछ ।

    पवन गोल्यान समूहका लगानी भएका बैंकका सीईओदेखि बिशाल ग्रुपका अशोक अग्रवाल, तुलसीराम अग्रवालको ३० करोडभन्दा बढी रकम हुन्डी गरेको भेटिए पनि सम्पत्ति शुद्धीकरणले तामेलीमा हाल्ने काममा सापकोटाकै भूमिका रहेको स्रोत बताउँछ । त्यसो त रामचन्द्र संघाई, मनिष राजभण्डारी र बिभिन्न बैंकका सीईओहरुसँग सेटिङ मिलाएर उजुरी तामेलीमा हाल्न लगाइएको आरोप पनि सापकोटामाथि लाग्दैआएको छ ।

    बिशेषगरी बिभागका महानिर्देशकहरु रुपनारायण भट्टराई, प्रेम भट्टराई, पुष्पराज शाही, कमल भट्टराई, गजेन्द्र ठाकुरका पालामा सम्पत्ति शुद्धीकरणका उजुरी तामेलीमा राख्ने मुख्य बिचौलियाको भूमिका नै नासु सापकोटाले गर्दैआएका थिए । अनुसन्धानमा होइन, उजुरीमा सेटिङ गर्न र बुझाउन सिपालु भएकाले सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागमा सापकोटा हरेक डीजीका दाहिने हात मानिन्छन् ।

    वर्तमान महानिर्देशक ढकालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय मूल्यांकन, जोखिम मूल्यांकन तथा अनुसन्धानका महत्त्वपूर्ण काममा संलग्न रहेको कारण देखाएर उनको सरुवा रोक्न पत्र लेख्नुको भित्री पाटो उनको सेटिङ नै भएको स्रोत बताउँछ । बिभागमा केही बर्ष काम गरी सरुवा भएका एक अधिकृत भन्छन्–‘नासुको सरुवा हुँदा बिभागको अनुसन्धानमा कुनै असर र प्रभाव पर्ने डीजीको कुरा हास्यास्पद छ । ती नासुको क्षमता ‘सेटिङ’ मा भएकाले डीजीले उनको सरुवा रोक्न हारगुहार गरेका हुन् ।’

    १५ बर्षको बीचमा सापकोटाले सेटिङ गरी यति अथाह आर्जन गरिसकेका छन् कि उनकै सम्पत्ति छानबिन गर्नुपर्ने भइसकेको बिभागमा काम गरिसकेका एक अधिकृत बताउँछन् ।

    डीजी ढकालको पत्रले पनि सामान्य प्रशासन मन्त्रालयले उनको सरुवा बदर नगरेपछि उनी रास्वपाका नेतादेखि बिभिन्न ठाउँमा दौडधूपमा लागेका छन् ।  नायबसुब्बा सापकोटाहरुले उजुरीमा बार्गेनिङ गर्ने र असुली गरी सफाइ दिने गर्दा बिभाग असुली अड्डामा परिणत भएको आरोप लाग्ने र देश ग्रेलिष्टमा परेको छ । सम्पत्ति शुद्धिकरण विभागलाई असुली केन्द्र बनाउने र गैरकानुनी आर्जन गर्नेमा नासु सापकोटा नै मानिन्छन् । उनी दर्जाले नासु भए पनि हरेक डीजीलाई आफ्नो इशारामा नचाउँदैआएका छन् । उनको इशारामा नाच्न नचाहनेहरु तुरुन्तै सरुवा भएका दृष्टान्तहरु पाइन्छन् ।

    सापकोटा र तत्कालीन उपसचिव लामिछानेको इशारामा नाच्न नमानेपछि तत्कालीन महानिर्देशक दामोदर रेग्मी २ महिनामै त्यहाँबाट हिंडेका थिए । विगतमा उनलाई सेटिङमा तत्कालीन उपसचिव (हाल सहसचिव) विनोद लामिछानेले पनि सहयोग गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार