Nepal Face
  • सोमबार, २२ भाद्र २०८३
  • विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडाबापत प्रतिपरिवार १० हजार उपलब्ध गराउने


    सोमबार, भाद्र २२ २०८३
    95
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • नवाकोट। भोटेकोशी बाढीबाट प्रभावित भएकालाई विदुर नगरपालिकाले कोठा भाडा बापत रकम उपलब्ध गराउने भएको छ ।

    आइतबार बसेको नगर कार्यपालिकाको १३४औँ बैठकले बाढीको कारण बस्न योग्य घर नभएका स्थानीयवासीहरुलाई नगरपालिकाले घर भाडामा लिएर बस्न अनुरोध गर्दै भाडाबापतको रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

    नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बाढी प्रभावितलाई बस्न प्रतिपरिवार रु १० हजार कोठा भाडाबापत नगद उपलब्ध गराउने निर्णय गरेको हो । बाढी प्रभावितलाई ‘होल्डिङ सेन्टर’ को बसाइ छोट्याउन तथा यहाँबाट विस्थापित भएर अन्यत्र जान बाध्य भएकालाई पुनस्स्थापनामा प्रोत्साहन गर्दै कोठा भाडा लिएर बस्न अनुरोधसहित त्यसबापत प्रति परिवार रु दश हजार नगरपालिकाले उपलब्ध गराउने निर्णय गरेको हो ।

    नगरप्रमुख श्रेष्ठको अनुसार घर भाडा रकम उपलब्ध गराउने र परिवारको लागी आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, भान्साको लागी चाहिने भाडा वर्तन, दैनिक प्रयोगका सरसफाइ लगायतका सामग्री राहत स्वरुप समेत उपलब्ध गराउने निर्णय भएको छ ।

    कोठा भाडामा लिँदा वा दिँदा कोही कसैले प्रचलित चलनचल्तीको भाडादर भन्दाबढी नलिन अनुरोध गर्दै यदि लिएको पाइएमा प्रचलित कानून अनुसार कारबाही हुने समेत नगर कार्यपालिकाको बैठकले चेतावनी दिएको छ ।

    बाढीबाट प्रभावित भएको करिब दुई साता हुन लागेको भन्दै अब दीर्घकालीन पुनस्उत्थानतर्फ अघि बढ्नुपर्ने समय भएकाले तीनै तहको सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्था र दाताहरूको सहकार्यमा अस्थायी आवास निर्माणमा नगरपालिकाले जोड दिने उल्लेख छ ।

    “बाढीले प्रभावित भएर घरमा क्षति भएकाले सोही स्थानमा नयाँ आवास निर्माणको लागी तत्कालै सम्भव हुने अवस्था छैन ।” बैठकको निर्णय सार्वजनिक गर्दै नगरप्रमुख श्रेष्ठले भने, “विपद् पश्चात् तत्कालका लागि उपलब्ध गराउने राहतको सट्टा दिगो रूपमा उपभोग गर्न सकिने उपभोगका सामग्री र आवासीय प्रयोजनसँग सम्बन्धित सहयोग जुटाउनुपर्दछ ।”

    बैठकले विदुर नगरपालिकाभित्र सञ्चालित ‘होल्डिङ सेन्टर’मा बाढीबाट प्रभावित अन्य जिल्ला तथा पालिकाको नागरिकलाई सम्बन्धित जिल्ला तथा पालिकालाई नै व्यवस्थापनको प्रबन्ध मिलाउन आग्रह गर्ने निर्णय भएको छ । विदुर नगरपालिकाभित्र सञ्चालित होल्डिङ सेन्टरमा बसोबास गरिरहेका मध्ये करिब आधा सङ्ख्या अन्य जिल्ला वा पालिकाको रहेको पाइएकाले सम्बन्धित पालिका तथा जिल्लाले व्यवस्थापनमा सहजीकरण गरेर होल्डिङ सेन्टरको बसाइ हटाइ स्थायी बसोबासको प्रबन्धतर्फ विदुर नगरपालिका अघि बढ्ने लक्ष्य लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार