Nepal Face
  • शनिबार, १३ भाद्र २०८३
  • भूमिब्यवस्था मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतदेखि क्षतिको विवरण संकलन तथा अद्यावधिक गर्ने


    बिहिबार, भाद्र ११ २०८३
    160
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कार्यमा मन्त्रालयको तर्फबाट आवश्यक सहयोग तथा समन्वय गर्ने ७ वटा निर्णय गरेको छ ।

    १. बाढी प्रभावित जिल्लाका सबै स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा परिचालित भई प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कार्यमा आवश्यक सहयोग र सहकार्य गर्न अनुरोध गर्ने ।

    २. विपद् उद्धार तथा राहतका लागि स्थानीय तहले विपद् व्यवस्थापन कोष तथा अन्य स्रोतबाट आवश्यक बजेट नियमानुसार परिचालन गर्ने ।

    ३. मन्त्रालयले प्रभावित स्थानीय तहका कार्यालयहरुमा भएको क्षतिको विवरण सम्बन्धित स्थानीय तहमार्फत संकलन तथा अद्यावधिक गर्ने ।

    ४. नापी विभागले प्रभावित क्षेत्रको निजी तथा सार्वजनिक जग्गाको क्षतिको विवरण संकलन र विपद् नक्साङ्कन (डिजास्टर म्यापिङ) को कार्य गर्ने ।

    ५. अर्काे व्यवस्था नभएसम्म बाढी प्रभावित जिल्ला तथा स्थानीय तहका कर्मचारीले आफ्नो कार्यस्थल नछोड्ने र कार्यस्थल बाहिर रहेका सबै कर्मचारीलाई अविलम्ब कार्यस्थलमा फर्कन सूचित गर्ने ।

    ६. राहत सामग्री व्यवस्थापन गर्न, लाभग्राहीको विवरण तयार गर्न तथा अन्य कार्यका लागि थप जनशक्ति व्यवस्था गर्नुपर्ने भएमा मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी उपलब्ध गराउने ।

    ७. विपद् सम्बन्धी कार्यमा समन्वय तथा सहयोगका लागि मन्त्रालयका विपद् सम्पर्क व्यक्तिको व्यवस्थापन तथा सामाजिक समावेशीकरण शाखाका उपसचिव, दीपक ढकाल र शाखा अधिकृत तुलसीराम पौडेललाई तोकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार