Nepal Face
  • आइतबार, २४ साउन २०८३
  • प्रहरी कर्मचारीको आचरण सुधारसँगै नियम कार्यान्वयन प्रभावकारी बनाउन जोड


    आइतबार, साउन २४ २०८३
    115
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक व्यवस्थापनमा संस्थागत सुधारसँगै प्रहरी कर्मचारीको आचरण र कार्यसम्पादनमा पनि कडाइ आवश्यक रहेको बताएका छन्।

    आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्ने व्यवहारलाई मर्यादित, शिष्ट र जिम्मेवार बनाउनुपर्नेमा जोड दिए।

    ट्राफिक प्रहरीका केही कर्मचारीबाट हुने कमजोरीका कारण समग्र संगठनप्रतिको जनविश्वास प्रभावित हुन नहुने उल्लेख गर्दै गजुरेलले अनुशासन र व्यावसायिक आचरणलाई प्राथमिकतामा राख्नुपर्ने बताए। नियम उल्लंघन गर्ने चालकलाई कारबाही नगरी आर्थिक लेनदेनमार्फत उन्मुक्ति दिने गरेको गुनासोप्रति पनि उनले ध्यानाकर्षण गराए।

    उनका अनुसार ट्राफिक प्रहरीको कार्यसम्पादनमा शिष्ट बोली, विनम्र व्यवहार र आर्थिक पारदर्शिता अनिवार्य आधार बन्नुपर्छ। ट्राफिक प्रहरीलाई आवश्यक स्रोत–साधन, प्रविधि, सुरक्षा र सेवा-सुविधा उपलब्ध गराउँदै जिम्मेवारी निर्वाहमा पनि समान रूपमा उत्तरदायी बनाउनुपर्ने उनको भनाइ छ।

    गजुरेलले ट्राफिक व्यवस्थापनका लागि नीति बनाउने मात्र नभई त्यसको प्रभावकारी कार्यान्वयनमा समेत ध्यान दिनुपर्ने बताए। राष्ट्रिय यातायात नीति २०८३ मा समेटिएका सुधारका प्रावधानलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।

    ट्राफिक नियम उल्लंघनमा एक लाखदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना गर्ने विषयमा छलफल भइरहेको भए पनि हालसम्म त्यस्तो व्यवस्था लागू नभएको उनले स्पष्ट पारे। जरिवानाको दर निर्धारण गर्दा नागरिक तथा सम्बन्धित सरोकारवाला पक्षसँग आवश्यक परामर्श गर्नुपर्ने उनको धारणा छ।

    उनले सडक अनुशासन कायम गर्न कानुनी प्रबन्धको कडाइसँगै नागरिक लक्षित सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औँल्याए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार