Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • स्वास्थ्यमन्त्रीका श्रीमान् डा. सरोज सिंह दोस्रो नम्बरमा बढुवा सिफारिस

    डा. श्रेष्ठलाई रोकेर डा. हमाललाई एसएसपीमा बढुवा गर्ने खेल तुहियो


    सोमबार, जेष्ठ १८ २०८३
    24.4K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । प्रहरीको संगठनलाई नै बदनाम गराएर विधि र पद्धतिलाई तिलाञ्जली दिने स्वार्थ समूहको फन्दामा परेका नेपाल प्रहरीका उच्च अधिकारीहरु अन्ततः समाचारका कारण विधिमा फर्कन बाध्य भएका छन् ।

    प्रहरी अस्पतालमा कार्यरत चिकित्सकहरुलाई विभेदपूर्ण रुपमा सरुवा, बढुवा, नियुक्ति र थमौति गरिँदा लामो समय देखि आफ्नो पहुँच नभएकाहरुका लागि जागिर नै घाँडो बनेको थियो । समाचार प्रभावका कारण छ महिनादेखि रोकिएको एसएसपी बढुवाका लागि डा. सेवक श्रेष्ठलाई २०८३ साल जेठ १३ गते बसेको प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी सदस्यसचिव रहेको बढुुवा समितिले सिफारिस गरेको छ । उनी बरिष्ठ भएकै कारण एकल सिफारिस भएका छन् । पुर्वगृहमन्त्री ओमप्रकाश अर्यालका जिल्लाबासी डा.अच्यूत हमाल भने यसपटक छुटेका छन् । उनको चाकरी र चाप्लुसीले हदै नाघेपछि प्रहरी अस्पतालमा नाटक नै मञ्चन भएको थियो । तथापि उनको सोर्सफोर्स र नातावादको कुनै अर्थ रहेन ।

    त्यसै गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताका श्रीमान् डा. सरोज सिंह दोस्रो नम्बरमा प्राविधिक प्रहरी उपरीक्षकका लागि बढुवाको सिफारिस परेका छन् । उनी प्रहरी अस्पताल महाराजगञ्जमा डेण्टल शाखामा कार्यरत छन् ।

    बढुवा भएका प्राविधिक प्रहरी नायव उपरीक्षकमध्येका उनी डेन्टिष्ट हुन् । मन्त्रीका श्रीमान् भएको हुँदा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी मुख्यालयमा प्रहरीको नियमावली संशोधनका लागि भन्दै घुमेरै तलव भत्ता खाने व्यवस्था मिलाइदिएका छन् । अहिले दाँतको उपचारका लागि आएका विरामीहरुका लागि डा. सिंहको दर्शनभेट अत्यन्तै दुर्लभ बनेको छ । उनी प्रायः जसो प्रहरी मूख्यालयमै दिन बिताउने गरेको एक जना जुनियर अधिकृतले खुलासा गरे ।

    गृहमन्त्री सुधन गुरुङसँग रोएर नाटक गर्न जान्ने महानिरीक्षक कार्कीले प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहले पटक–पटक भेटसमेत नदिएपछि अहिले जागिर जोगाउन न्वारानदेखिकै बल प्रयोग गरिरहेका छन् । कार्कीलाई हटाएर एआईजी मनोज केसीलाई आइजिपी बनाउन वालेन्द्र शाहको चाहना भएको पछिल्लो चर्चा पनि चुलिएको छ । त्यसैले पनि कार्कीले मन्त्रीका श्रीमानसँग नजिकको सम्बन्ध बनाएको बुझिएको छ ।

    यही जेठ १३ गते बसेको बढुवा समितिले नेपाल प्रहरीमा प्राविधिक प्रहरी उपसमूहमा नेपाल प्रहरी अस्पतालमा कार्यरत चिकित्सातर्फको प्रहरी उपरीक्षक पदमा नौ जनालाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवाका लागि सिफारिस हुनेहरुमा डेन्टल शाखाकी डा. शोभा वाग्ले, डा सरोज सिंह मन्त्रीका श्रीमान्, डा. विकल श्रेष्ठ छन् ।

    सर्जिकल शाखाका डा. बोधविक्रम कार्की, मेडिसिन शाखाका निर्मल घिमिरे, गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराका डा. नर्मन लामिछाने, प्रहरी अस्पताल महाराजगञ्जको प्रसूती शाखामा कार्यरत डा.दीपा चुडाल, नेपाल प्रहरी अस्पतालकै रेडियोलोजी शाखामा कार्यरत डा. सुवास थापा र कोशी प्रदेश प्रहरी अस्पताल मोरङमा कार्यरत डा. भवानी गुरुङ छन् ।

    त्यसैगरी स्वास्थ्य उपसमूह चिकित्सातर्फका नौ जना निरीक्षकहरुको पनि बढुवा सिफारिस गरिएको छ । यसरी बढुवा हुनेहरुमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जका आँखारोग शाखाका डा. अमितकुमार ठाकुर, हाडजोर्नी शाखाका डा.ऋतुराज बराल, डा. एलिना श्रेष्ठ र डा. प्रभाकर श्रेष्ठ, लुम्बिनी प्रहरी अस्पताल नेपालगञ्जका डा. रमन घिमिरे, नेपाल प्रहरी अस्पताल एनेस्थेसिया शाखाका डा. महादेव देउजा, डा. सञ्जीवकुमार यादव, डा. सुवासचन्द्र गौतम र डा. रजनी महर्जन छन् ।

    नेपाल प्रहरी अस्पतालमा आईजीपी दानबहादुर कार्कीका निकट मानिएका एसपी डा. अच्यूत हमाललाई जसरी पनि बढुवा गर्नुपर्छ भन्ने अडान भएपछि अस्पतालका प्रमुख एआइजी डा. सुन्दरप्रसाद ह्योजु किंकर्तब्यबिमुढ भएर बसेका थिए । तर, अन्त्यमा उनको बढुवा हुन सकेन ।

    डा. हमालले महानिरीक्षक कार्कीको आडमा एआईजीपी सुन्दरप्रसाद ह्योजुलाई नै टेर्न छाडेका थिए । उनलाई एसएसपी बनाउन एसपी भएको तीन वर्ष अवधि पूरा गर्नुपर्दछ । त्यसैले उक्त पद खाली राखिएको थियो ।

    आइजीपीले काखी च्यापकै कारण डेड दुई बर्षदेखि नेपालगञ्ज प्रादेशिक अस्पतालमा काम गरेका छन् । बीचमा एक वर्ष अन्य ठाउँमा सरुवा गरिएको थियो । आफन्तलाई काखी च्यापेर सरुवा, बढुवा, नियुक्ति र थमौती गर्दैआएको आरोप लागेका आईजीपी कार्कीले आफ्नो गलत कामको आलोचना गर्नेहरुलाई पूरै ईश्र्याको बाटो तय गर्ने गर्दछन् । त्यसको मारमा धेरे जना सिनियर र जुनियर अधिकृतहरु परिरहेका छन् । डा. हमाल प्रमुख रहेको नेपाल प्रहरी अस्पताल नेपालगञ्ज ब्यवस्थापनको कमजोरीका कारण बिरामीलाई आर्थिक भार बढ्नुका साथै धेरै बिरामीको उपचार नपुग्दा मृत्युसमेत हुन पुगेको छ ।

    यसैबीच डायरी एक्सप्रेस साप्ताहिकका प्रतिनिधि नारायण शर्माले डा दामोदर पौडेलले क्लोनोस्कपी गर्ने क्रममा एक जना बिरामी प्रही जवानको मृत्यु हुन पुगेको विषयमा सूचनाको हक अन्तर्गत विवरण माग गर्दा यो विषय थाहा नै नपाएको भन्दै अस्पतालका सूचना अधिकारी एसपी रामेश्वर अधिकारीले टेलिफोनमार्फत् जानकारी दिएका छन् । २०८३ जेठ १८ गतेको डायरी एक्सप्रेस साप्ताहिकबाट साभार

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार