काठमाडौँ। विप्लव नेतृत्वको नेकपाले सम्झौता गरेको तीन साता हुँदा पनि मुद्दा फिर्ताको प्रक्रिया सुरु हुन सकेको छैन । सरकारले प्रतिबन्ध लगाएको दुई वर्षपछि यही २० फागुनमा सो पार्टीसँग तीनबुँदे सम्झौता गरेको थियो । सम्झौताको तेस्रो बुँदामा ‘नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी’को विषय छ ।
तर, यसअनुसार मुद्दा फिर्तीको प्रक्रिया भने अघि बढ्न सकेको छैन । मुद्दा फिर्तीका सन्दर्भमा हालसम्म राय माग्न कुनै औपचारिक पत्र सरकारका तर्फबाट नआएको महान्यायाधिवक्ताको कार्यालयका एक अधिकारीले बताए । ‘त्यस्तो कुनै पत्र आइसकेको छैन । मुद्दा फिर्ता लिन यति सजिलो पनि होइन । सरकारले अध्ययन गर्दै छ होला,’ उनले भने ।
मुलुकी फौजदारी कार्यविधिसंहिताको दफा ११६ मा मुद्दा फिर्ता लिन सक्ने व्यवस्था छ । उक्त दफाको उदफा २(क)मा झुटा राहदानी वा नागरिकता, अध्यागमन, भ्रष्टाचार, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध ओसारपसार वा कारोबार र वन्यजन्तुको अवैध सिकार तथा व्यापारका मुद्दा फिर्ता लिन नहुने उल्लेख छ । यसैगरी, सार्वजनिक उपभोगका वस्तुमा विष मिसाएको, विष प्रयोग गरी क्रुर, अमानवीय तवरले वा नियन्त्रणमा लिई ज्यान मारेको, सम्पत्ति शुद्धीकरण, प्राचीन स्मारक संरक्षणसम्बन्धी मुद्दा फिर्ता लिन मिल्दैन ।
यसबाहेक विभिन्न गम्भीर फौजदारी कसुरमा पनि मुद्दा फिर्ता लिन नमिल्ने कानुनले व्यवस्था गरेको छ । फौजदारी कार्यविधिसंहिताको दफा ११६(३)मा भनिएको छ, ‘नेपाल सरकारले उपदफा (२) बमोजिम फिर्ता लिने मुद्दाका सम्बन्धमा आवश्यक मापदण्डसहितको निर्देशिका बनाउनुपर्नेछ ।’ महान्यायाधिवक्ताको कार्यालयले निर्देशिकाको मस्यौदा निकै अघि बनाइसकेको जनाएको छ । तर, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय र आफैँ मस्यौदा बनाउने महान्यायाधिवक्ताको कार्यालयसमेत उक्त मस्यौदा मन्त्रिपरिषद्बाट पारित भए–नभएको वा कुन अवस्थामा छ भनी आफूलाई जानकारी नभएको बताउँछ ।
कानुुन मन्त्रालयका उपसचिव राजाराम दाहालले भने, ‘त्यो हाम्रो विषय होइन, गृह मन्त्रालयले हेर्ने हो । त्यसैले हामीलाई मुद्दा फिर्तासम्बन्धी र माफीसम्बन्धी निर्देशिकाको अवस्था के छ थाहा हुन्न ।’
गृह मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले भने यो विषय कानुन मन्त्रालयले हेर्ने बताए । ‘मस्यौदासम्बन्धी विषय कानुन मन्त्रालयले हेर्छ, हामीलाई थाहा हुन्न,’ उनले भने । महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले पनि निकै पहिले मस्यौदा बनेको आफ्नो जानकारीमा रहे पनि पारित भए वा नभएको, कुन मन्त्रालयमा पठाइएको आफूलाई जानकारी नरहेको बताए ।
यसैगरी मुद्दा फिर्ताका लागि महान्यायाधिवक्तासँग सरकारले परामर्श लिनुपर्ने सोही दफाको उपदफा (५)मा उल्लेख छ । ‘उपदफा (४)बमोजिम नेपाल सरकारले कुनै मुद्दा फिर्ता लिने निर्णय गरेमा महान्यायाधिवक्ता वा निजले अख्तियारी दिएको सरकारी वकिलमार्फत सम्बन्धित अदालतमा मुद्दा फिर्ता लिनुपर्ने कारणसहितको निवेदन दिनुपर्नेछ,’ उक्त उपदफामा छ । विप्लवका केही कार्यकर्तामाथि बम विस्फोट, हातहतियार तथा खरखजाना मुद्दा लगाइएको छ । ‘राजनीतिक सहमति भइसकेपछि त्यसको पालना गरिनुपर्छ । केही मुद्दा प्रचलित कानुनअनुसार फिर्ता लिन नमिल्ने खालको छ । यस्तोमा फिर्ता लिन रोक्ने कानुन संशोधन गरेर भए पनि सरकारले प्रतिबद्धता पालना गर्नुपर्छ,’ वरिष्ठ अधिवक्ता भण्डारीले थपे ।
जेलमा रहेका १४८ बन्दी रिहाबारे प्रधानमन्त्री–विप्लव छलफल
सरकारसँग तीनबुँदे सहमतिपछि शान्तिपूर्ण राजनीतिमा आएका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन् । सरकार र नेकपाबीच २१ फागुनमा तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएर पार्टीमाथिको प्रतिबन्ध फुकुवा भएपछि विप्लव र प्रधानमन्त्री ओलीबीच पहिलो भेट भएको हो ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले बताए । तीनबुँदे सहमतिमा उल्लेख भएअनुसार जेलमा रहेका पार्टीका नेता–कार्यकर्ता रिहाइबारे विप्लवले प्रधानमन्त्रीसँग चासो राखेको नेकपा केन्द्रीय सदस्य दीपक चलाउनले बताए । उनका अनुसार पार्टीका एक सय ४८ जना नेता–कार्यकर्ता जेलमा छन् ।
भेटमा प्रधानमन्त्रीले सहमति कार्यान्वयनका क्रममा रहेको र कानुनी विषय सुल्झाउने प्रक्रिया चलिरहेको जानकारी विप्लवलाई दिएका थिए । हिरासतमा रहेका नेता–कार्यकर्ता सबै रिहाइ भइसकेको र जेल चलान भएकाको हकमा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले त्यो अघि बढिरहेको ओलीको भनाइ थियो । अदालतमा पुगेका मुद्दाको हकमा प्रक्रिया मिलाउनुपर्ने भएकाले समय लागेको जानकारी प्रधानमन्त्रीले विप्लवलाई गराएका थिए ।
सरकार र नेकपाबीच तीनबुँदे सहमति भएपछि दुवै पक्षले प्रहरीले पक्राउ गरेका र हाल हिरासत तथा जेलमा रहेका नेता–कार्यकर्ताको यकिन संख्या संकलन गरेका थिए । नेकपाले जेलमा रहेका नेता–कार्यकर्ताको संख्या सरकारलाई उपलब्ध गराएपछि सोहीअनुसार प्रक्रिया अगाडि बढिरहेको गृह मन्त्रालयले बताएको छ । (नयाँपत्रिका दैनिक)
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend