काठमाडौैं, १८ बैशाख । अवैतनिक बाणिज्यदूतको कूटनीतिक सुविधाप्राप्त गाडीमा ज्वरो नाप्न प्रयोग हुने थर्मोगनको कालोबजारी गर्दागर्दै पक्राउ परेका शंकर ग्रुपका संचालक सुलभ अग्रवाल आज २५ लाख ५० हजार धरौटीमा छुटे लगत्तै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पक्राउ गरेको थियो । तर उनीसँग कार्यालय समयपछि पनि बयान लिएर अहिले राति साढे ८ बजे छोडिएको छ ।
सरकारी वकिलकोमा मेडिकल चेक गराएर लानुपर्नेमा उनलाई विभागमै कागजी रुपमा प्रक्रिया पूरा गरी छाडिएको छ । विभागका महानिर्देशक रुपनारायण भट्टराई हस्याङफस्याङ गरी कार्यालयमा पुगी मुख्यसचिव लोकदर्शन रेग्मीले आजै छाड्न दबाब दिएको भन्दै अग्रवाललाई छाडिएको छ । विभाग स्रोतका अनुसार सुलभ अग्रवालका भाइ साहिल अग्रवालले बुधबार नै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका उपसचिव विनोद लामिछानेसँग सेटिङ मिलाइसकेकाले कार्यालय समयपछि पनि बयान लिएर आजै राति छाडिएको स्रोतको दाबी छ ।
अग्रवाल आजै जिल्ला अदालत काठमाडौंको आदेशले धरौटीमा छुटेका थिए । छुटेलगत्तै उनी पक्राउ परेका थिए । उनी थर्मोगन कालोबजारी गर्दागर्दै चैत २५ मा पक्राउ परेका थिए ।