Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विपद् ब्यवस्थापनका लागि दुई वटा हेलिकप्टर तयारी हालतमा राखिनेछ: गृहमन्त्री


    बुधबार, चैत्र १८ २०८२
    450
    Shares
    नेपाल फेस
  • ७ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपदमा परेका नागरिकको तत्कालै उद्धारको गर्नको लागि दुई वटा हेलिकप्टर तयारी हालतमा राखिने बताएका छन् ।

    चैत १७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण आएका गृहमन्त्री गुरुङले सो कुरा बताउनुका साथै विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो ज्यानको प्रवाह नगरी नागरिकहरुको उद्धार कार्यमा खटिएकोमा हार्दिक धन्यवाद समेत दिएका थिए ।

    उनले आम नागरिकको जीउज्यान भन्दा ठूलो पैसा नभएको उल्लेख गर्नुहुँदै आपद् विपदमा परेका नागरिकहरुको सेवा सुरक्षा गर्नका लागि नेपाल सरकार, गृहमन्त्रालय लगायत सुरक्षार्मीहरु तयारी हालतमा रहन निर्देशन समेत दिएका छन् ।

    गुरुङले विगत केही वर्षअगाडि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट विपद् व्यवस्थापन सम्बन्धी तालिम समेत लिएको स्मरण गर्दै कोभिड–१९ महामारी र सीमा नाकामा नेपाल झण्डा राख्ने जस्ता कार्यमा सशस्त्र प्रहरी बल नेपालसँग नजिक भएर काम गरिसकेको हुँदा सुरक्षार्मीको काम, कर्तव्य र अधिकार तथा दुःख कस्तो हुन्छ भन्ने बारेमा समेत आफु जानकार रहेको बताएका थिए ।

    गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई विपद् शुरु हुनु आगाडि नै तयारी हालतमा रहन निर्देशन दिनुका साथै सशस्त्र प्रहरी बल नेपालको जनशक्ति अब व्यारेकमा होईन फिल्डमा हुनुपर्ने बताउँदै विपद् व्यवस्थापनको लागि भरपुर मेहनत गर्नुपर्ने समेत बताए ।

    उनले ड्युटीको समयमा जुनसुकै ठाउँमा परिचालन हुदाँ नागरिक र सुरक्षाकर्मी एउटै हो भन्ने भावना बोकी सबैमा नम्र व्यवहार गर्नुपर्ने उल्लेख गर्दै आपद् विपदमा परेका नागरिक हरुको उद्धारमा खटिदाँ नागरिकको मात्र उद्धार नभई उद्धारमा खटिने सुरक्षाकर्मीको आफ्नो सुरक्षा अपनाई परिचालन हुने व्यवस्था ल्याउनुपर्नेमा मन्त्रालयले काम गरिरहेको बताए ।

    सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको परिचालन

    गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा तस्करी रोक्नको लागि मन्त्रालय कठोर भएर अगाडि वढ्ने बताउनुहुदै त्यस्ता कार्यमा कुनैपनि सशस्त्र प्रहरी कर्मचारीहरु संलग्न नरहन आग्रह गरेका छन् ।

    उनले सीमा क्षेत्रमा राखिएको नेपालको झण्डालाई कपडाको रुपमा मात्र नलिई देशको अस्तित्व बोकेको पहिचान भएको बताउँदै बोर्डर क्षेत्रमा फहराएको नेपाली झण्डा च्यातिएको अवस्थामा देखियो भने तत्कालै त्यस ठाउँमा खटिएका कर्मचारीलाई सिधै आफूले प्रतिक्रिया राख्ने बताए ।

    संगठन सुधारका प्रयास

    गृहमन्त्री गुरुङले कार्यक्षेत्रमा परिचालित हुदाँ आइपरेका समस्या समाधनका लागि सशस्त्र प्रहरी बल नेपालमा कानूनी व्यवस्था स्पष्ट नभएको बनाउनको लागि मन्त्रालय सकारात्मक रहेको बताउँदै नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कर्मचारीहरु सगँसगै बसि काम गरेको हुदाँ सशस्त्र प्रहरी कर्मचारीहरुको समस्या समाधान गर्न आफु हरदम तयार रहेका बताए ।

    उनले आफ्नो घर परिवार चलाउन समेत कठिनाई परेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको सेवा सुविधामा हेरफेर गर्न नेपाल सरकार लगायत गृहमन्त्रालय सकारात्मक रहेको बताए ।

    उनले सशस्त्र प्रहरी कर्मचारीहरु १३÷१४ बर्षसम्म एउटै पदमा रही कार्य गर्नुपर्ने बाध्यतालाई समाधान गर्न मन्त्रालय अगाडि बढ्ने बताउँँदै संगठनलाई अगाडि बढाउन तथा कार्य क्षेत्रमा परिचालन हुदाँ आइपरेका समस्या समाधानका लागि आवश्यक नीति तथा कानुनी व्यवस्था लिखित रुपमा मन्त्रालयमा पेश गर्न निर्देशन दिए ।

    गृहमन्त्री गुरुङले देशबासी नागरिक र सुरक्षाकर्मीको लागि केही गर्छु भन्ने आसा र भरोसा बोकी आफू मन्त्रालय आएको बताउँदै सशस्त्र प्रहरी बल नेपालका जुनसुकै दर्जाका कर्मचारीहरुले सरुवा, बढुवा लगायतका सेवा सुविधा समय आयपछि सबैलाई पारदर्शी तरिकाले अवसर दिने बताए ।

    सोही अवसरमा गृहमन्त्री गुरुङले सशस्त्र प्रहरी बल नेपालमा भए गरेका कामकावाहीको बारेमा जानकारी लिनुकासाथै केन्द्रीय परिचालन कक्ष, अनुगमन तथा गुनासो व्यवस्थापन इकाई, बोर्डर रिसोर्स एण्ड सेन्टर तथा विपद् उद्धार सामाग्रीहरुको समेत अवलोकन गरेका थिए ।

    सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निरीक्षण भ्रमणमा आएका गृहमन्त्री सुधन गुरुङले दिनुभएको नीति तथा निर्देशनले संगठनमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल उच्च रहने बताउनुहुँदै कार्यक्षेत्रमा खटिदा अनुशासित र परिणाममुखी कार्य गर्न थप प्रेरणा र हौसला मिलेको बताए ।

    उनले अधिकार विनाको खटाईले कार्यक्षेत्रमा कुनै पनि हालतमा परिणाम दिन नसक्ने कुरा बताउँँदै सशस्त्र प्रहरी बल नेपालको कार्यक्षमता अभिबृद्धि गर्न तथा समयानुकूल सुदृढीकरणका लागि २०५८ को विशेष नियमावलीहरुलाई परिमार्जन गरी सक्षम, प्रभावकारी, व्यवसायी बनाउने तथा सीमाको सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा लगायतका विषयमा स्पष्ट कानूनी व्यवस्थाको प्रस्ताव समेत पेश गरिएको बताए ।

    महानिरीक्षक अर्यालले विशेष गरी तल्लो तहका सशस्त्र प्रहरी कर्मचारीहरुले तलव सुविधाबाट आफ्नो जीविका आर्जन गर्न समेत गाह्रो परेकाले उनीहरुको घरपरिवार तथा बालबच्चाको शिक्षा र स्वास्थ्य नेपाल सरकारले निःशुल्क गर्दिन सक्यो भने जागीर छोडी विदेश गई आर्थिक सुधार गर्छु भन्ने भावनामा कम आउने विश्वास व्यक्त गरेका छन् ।
    उनले पेन्सन पकाई घर जाने समयसम्म तल्लो दर्जाका कर्मचारीहरु पनि जुनियर अधिकृतसम्म हुने व्यवस्था ल्याउन सकियो भने कार्यक्षेत्रमा खटिने कर्मचारीहरुको मनोवल उच्च रहनुका साथै सशस्त्र प्रहरी कर्मचारीहरु जागिर होइन, सेवा हो भन्ने भावनाले काम गर्ने समेत विश्वास व्यक्त गरे ।

    महानिरीक्षक अर्यालले नागरिकहरुमा आई परेका विभिन्न चुनौतीहरुको अवस्थामा समेत सशस्त्र प्रहरी साथमा छ भन्ने भावनाले काम गरिरहेको बताउँदै कार्यक्षेत्रमा खटिदा स्पष्ट नीति र निर्देशनको व्यवस्था नभएको हुँदा परिणममुखी कार्य गर्न समस्या परेको बताए ।

    कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक बिष्णुप्रसाद भट्टले सशस्त्र प्रहरी बल नेपालसँग सम्बन्धित विविध गतिविधिहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए ।\

    कार्यक्रम देशभरका इकाईहरुमा ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा प्रत्यक्ष प्रसारण हेर्ने र सुन्ने ब्यवस्था मिलाइएको थियो ।

    कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेशबहादुर ठाडा मगर लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार