Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • त्रुटिपूर्ण डिजाइन : कमला, तादी र त्रियुगा पुल लथालिङ्ग, सडकका डीजी नै अख्तियारको छानबिनमा


    बिहिबार, मंसिर २५ २०८२
    3.1K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौैं । गलत डिजाइन गरिएकै कारण कमला नदीको पुल भासिएपछि सडक बिभागका महानिर्देशक डा. बिजय जैशीदेखि उपमहानिर्देशक प्रभातकुमार झासम्म छानबिनको दायरामा तानिने भएका छन् ।

    महालेखा परीक्षकको प्रतिवेदन २०७९ अनुसार कमला पुलमाश डिजाइनमै त्रुटि देखाइएको छ । उक्त पुलको डिजाइनमा पाइलको लम्बाई पर्याप्त नभएको, माटो परीक्षणका लागि खन्नुपर्ने बोरहोलको संख्या र गहिराई पर्याप्त नभएको र निर्माणका क्रममा अनिवार्य रुपमा गर्नुपर्ने पाइल लोड परीक्षण नै नगरिएको गम्भीर त्रुटिका कारण उक्त पुल भासिन पुगेको थियो । उक्त पुलको डिजाइन तत्कालीन पुल महाशाखाका सीडीई तथा हालका सडक बिभागका महानिर्देशक डा. बिजय जैशीले नै गरेका थिए । पुल महाशाखामा सीडीई डा. जैशी र प्रभातकुमार झा हुँदा उनीहरुले नै डिजाइन गरेको नुवाकोटको तादीखोला पुल पनि उस्तै डाँवाँडोल छ ।

    कमला नदीकै जस्तो डिजाइनमा त्रुटि भएकै कारण तादी पुल पनि उस्तै छ । तादीखोलाको पुल एकातिर, खोला अर्कैतिर भएको छ । तादीको उक्त पुलको त पूर्वनिर्धारित क्षतिपूर्ति लगाइसकेको पुलको ठेक्कामा भेरियसन गरी ‘रिभर ट्रेनिङ’ बनाएकोसम्म देखिन्छ । २०७३ असार २९ मा शर्मा वाइवा जेभी नामक कम्पनीले ठेक्का सम्झौता गरेको पुल निर्माणमा भएको अनियमितताबारे महालेखाले पटक–पटक प्रश्न उठाएको छ ।

    तादीखोला पुलको सुरुको डिजाइनमा पुलको लम्बाई नपुगेको बिषयदेखि पूर्वनिर्धारित क्षतिपूर्ति(एलडी) लगाइसकेको पुलको ठेक्कामा भेरियसन गरी रिभर ट्रेनिङ बनाएको उजुरी अख्तियारमा परेको छ । तामेलीमा हालिसकेको उक्त उजुरी खोतलेर छानबिन गर्न अख्तियारमाथि दबाब परेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका निकायबाट छानबिन हुने भएपछि तादी पुल निर्माण गर्ने वाइवा कन्ष्ट्रक्सन कम्पनीका संचालक आफ्नो भ्रष्टाचार ढाकछोप गर्न शक्तिकेन्द्र धाउँदैछन् ।

    डा. जैशी र झाले पुल महाशाखामा हुँदा परामर्शदातासँग मिलेर कपीपेष्ट गरिएका डिजाइन पेश गर्दै डिजाइन स्वीकृत गराउँदा धमाधम पुल भासिने क्रम बढिरहेको बिभागकै अधिकारी बताउँछन् । पुल महाशाखाका प्रमुख अर्जुनकुमार थापा र उमेशबिन्दु श्रेष्ठ भएको समयमा डा. बिजय जैशी र प्रभातकुमार झाले पेश गरेका पुलका डिजाइनमात्र स्वीकृत हुने गरेका थिए । एउटा नदी वा खोलाको पुलको डिजाइन कपीपेष्ट गरी अर्को नदीको डिजाइन बनाउने, त्यही डिजाइन स्वीकृत गर्दा कमला नदीको पुल भासिन पुगेको सडक बिभागकै एक अधिकारी बताउँछन् ।

    पुल महाशाखाका तत्कालीन प्रमुखद्वय थापा र श्रेष्ठले पनि जैशी र झाले पेश गरेका पुलका डिजाइनमात्र स्वीकृत गर्ने गरेका थिए । जसका कारण ती पुल नबन्दै भत्किन थालेका छन् ।
    ती अधिकारीका अनुसार अलग अलग नदी वा खोलाका पुलका स्पानको बिम (गर्डर, स्पानको जग फरक फरक हुन्छन् । तर जैशी र झाले एउटा खोलाको पुलको डिजाइन कपीपेष्ट गर्दा पुल एकपछि अर्को भासिन थालेका छन् । सडक बिभागका ती अधिकारीका अनुसार कमला र तादीमात्र होइन, जैशी र झाले कपीपेष्ट गरी त्रुटिपूर्ण डिजाइन गरेका धेरै पुल जोखिममा छन् ।

    यसैगरी, उदयपुरको त्रियुगा नदीको पुलसमेत आजका मितिसम्म अलपत्र छ । यी सबै डिजाइनमै त्रुटिका कारण भासिएका पुल र ठेक्का लिएर बर्षौसम्म निर्माण पूरा नभएका पुलको ठेक्का तोड्न भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङको कत्तिको साहस देखाउँछन् ? त्यो भने भविष्यमा देखिनेछ । तर अख्तियारले डिजाइन नै कपीपेष्ट गरी पुल निर्माणको ठेक्का दिनेहरुका बिरुद्ध भने छानबिनमा कुनै कसर राख्नु नहुने आवाज उठिरहेको छ ।

    नेपाल बिद्युत प्राधिकरण, भूमि आयोग र राजदूत फिर्ताबिरुद्ध तीनवटा बिषय सर्वोच्च अदालतले उल्टाएपछि मन्त्री घिसिङ आफ्नै पद जोगाउन लाग्छन् कि सडक र पुलमा भइरहेका भ्रष्टाचारमा ध्यान दिन्छन् । मन्त्री भएको ३ महिनामा उनले सिंचाई र सडकका अनियमितताको जालो तोड्न देखाएको सक्रियताका हिसाबले उनी माथि उल्लेखित जालो तोड्न अग्रसरता लिने पक्षमै देखिन्छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार