Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खुल्लामञ्च अब सधैंका लागि खुल्ला हुँदैछ : बालेन साह 


    बिहिबार, कार्तिक २७ २०८२
    695
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले खुल्लामञ्च अब सधैं खुल्ला हुने जानकारी दिएका छन् । प्राकृतिक दुबोसहितको खुल्लामञ्चको तस्वीर सेयर गर्दै मेयर साहले खुल्ला मञ्चको चौरमा १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको जनाएका छन् ।

    उबडखावड मिलाइएको ठाउँमा नेपाली दुवो रोपेपछि अहिले चौर लोभलाग्दो भएको उल्लेख गर्दै साहले सामाजिक संजालमा लेखेका छन्–प्राकृतिक दुबोसहितको घाँसे चौर, वरिपरि खुल्ला पैदल मार्ग, खुल्ला मञ्चको अहिलेको अवस्था हो ।

    खुल्ला मञ्चको चौरमा १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको छ । उबडखावड मिलाइएको ठाउँमा नेपाली दुवो रोपेपछि अहिले चउर लोभलाग्दो भएको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले कार्यान्वयन गरिरहेको, खेलकुद पूर्वाधारको मर्मत, सम्भार, सुधार तथा स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत चउरमा मलिलो माटो राखेर दुबो रोप्ने काम भएको हो ।

    महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधारमा काम गर्न, ६ करोड ९८ लाख ७० हजार रुपियाँ विनियोजन भएको छ । यही कार्यक्रमबाट खुल्ला मञ्चको चउरमा दुबो रोपिएको हो । यसका लागि करिब ९० लाख रुपियाँ खर्च भएको छ ।

    चउरको वरिपरि ४ मिटर चौडाइको पैदल बनाइएको छ । सहरका विभिन्न ठाउँका पैदल मार्ग स्तरोन्नति गर्दा निकालिएका हेक्जागोनल ब्लकहरु ल्याएर यस ठाउँको पैदल मार्ग बनाउन पुनःप्रयोग गरिएको छ ।

    पैदल मार्गमा २१ वटा विजुलीका पोल राखिएका छन् । यी पोलहरु न्यूरोडको पैदल मार्ग विस्तारका क्रममा निकालिएका पोल पुनःप्रयोग गरिएका हुन । यी पोलहरुमा टु आर्म छन् । यसमध्ये एउटा मैदानतर्फ फर्किएको आर्ममा १ सय वाट क्षमताको र एउटा पैदल मार्गतर्फ फर्किएको आर्ममा ३० वाट क्षमताको बत्ती राखिनेछ । यी बत्तीहरु डे नाइट सेन्सरयुक्त छन । रातमा बल्छन । दिनमा आफैँ निभ्छन् ।

    खुल्ला मञ्च सबैका लागि खुल्ला रहने, बहुउपयोगी स्थानका रुपमा प्रयोग हुनेछ । विहान शारीरिक अभ्यास गर्न सकिनेछ । वालबालिकाहरुका लागि स्वतन्त्र खेल्ने ठाउँ हुनेछ । पाका उमेरका व्यक्तिहरुका लागि टहल्ने, आराम गर्ने र सहरी जीवन नियाल्ने ठाउँ हुनेछ । मर्निङ वाकका लागि उपयुक्त मार्ग हुनेछ । युवाहरुलाई खेल प्रशिक्षण गर्ने तथा रमाउने ठाउँ हुनेछ ।

    चौरबाट पश्चिम तर्फको मुख्य द्वारबाट गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ् गर्ने ठाउँ बनाइएको छ । यो ठाउँ भलिवल, व्याटमिन्टन जस्ता खेलखेल्न सकिन्छ ।

    पूर्वाधार निर्माण र परामर्शमा सहकार्य गर्न महानगरपालिकाले नेपाल सरकारको स्वामित्व भएको पूर्वाधार निर्माण कम्पनीसँग २०८१ वैशाख १० गते नीतिगत सहमति पत्रमा हस्ताक्षर गरेको छ । त्यसै सहमतिका आधारमा त्यही महिनाको २३ गते खुल्ला मञ्चको ग्रेडिङ् र लेभलिङका लागि सम्झौता भयो ।

    त्यही सम्झौताका आधारमा २०८१ वैशाख २४ गतेदेखि महानगरपालिकाले खुल्ला मञ्चको ग्रेडिङ् र लेभलिङ्को काम थालेको थियो । यसपछि अर्थात् ग्रेडिङ र लेभलिङको काम सकिएपछि चउरमा पानी नजम्ने र सतहको पानी पुनःभरण हुने भएको छ ।

    यसका लागि चौरका ६ ठाउँमा ४ फिट व्यास र ४ फिट नै गहिराइ भएका वाटर रिचार्ज पिटहरु बनाइएका छन ।

    ग्रेडिङ र लेभलिङपछि दैनिक ५० जना जनशक्ति परिचालन गरेर करिब ३ महिना मैदानका ढुङ्गा टिप्न लगाएको थियो ।

    खुल्लामञ्च २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ । मञ्चको टुँडिखेलतर्फ २२० मिटर लामो छ भने रत्नपार्कतर्फ १९० मिटर छ । चौडाइमा प्राधिकरणतर्फ करिब ११० मिटर छ भने वीर अस्पतालतर्फ ११७ मिटर छ ।

    काठमाडौँ टावर निर्माण थालिएसँगै त्यस क्षेत्रबाट गन्तव्य तय गर्ने सार्वजनिक यातायात सञ्चालन गर्न खुल्लामञ्च प्रयोग भएको थियो । मञ्च र रत्नपार्कको बीच खण्डमा कालोपत्र गरेर बसपार्क सञ्चालन भएको थियो ।

    २०७२ सालको भूकम्पपछि क्षति भएको वीर अस्पताल र दरबार हाइस्कूल पुनःनिर्माण कार्यका लागि पनि यो ठाउँ प्रयोग भएको थियो । यस बेला निर्माण सामग्री सञ्चालन राख्ने, विद्यालय सञ्चालन गर्ने र श्रमिकहरुका लागि बासस्थान यही ठाउँमा बनाइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार