हाल महामारीको रुपमा बिश्वभर फैलिइरहेको कोरोना भाइरस र सो सँगै हाल हाम्रो देशमा पनि उब्जेका केही सवालहरुका सम्बन्धमा तपाईहरुमाझ केही कुराहरु राख्न चाहन्छु ।
जीवनमा कतिपय घटनाहरु हामीले कल्पनासम्म गरेका हुँदेनौं तर सामना गर्नुपर्ने स्थिति उत्पन्न भएर आउने गर्दछ । त्यसैमध्ये हामीले यस्ता धेरै घटना, दुर्घटनाहरु आफैले खुद भोग्यौ भने कति घटनाहरु पूर्बजको भोगाईलाई कथा जस्तै सुन्यौ र मनन् पनि गर्दै आएका छौ । इतिहासलाई फर्केर हेर्ने हो भने हामीलाई छर्लङ्ग हुन्छ कि समय समयमा देशमा बिभिन्न खालको साह्रो गाह्रो परिस्थिति हँुदै आएको छ । त्यस्ता परिस्थितिहरुसंँग हामी डटेर अगाडि बढ्दै आएका छौ ।
कुरा अहिलेको कोरोना कहरसंग जोडौ । जुन भाईरस हामीले फिल्मको पर्दामा हेर्न पनि मुश्किल परेको थियो । त्यो आज हाम्रो जीवनमा ज्वलन्त भएर घुमिरहेको छ । सिंगो पृथ्वीलाई कब्जा गरिरहेको छ, बिज्ञानलाई चुनौती दिइरहेको छ । यसले को ठूलो, को सानो, धनी, गरीब, यो जात, ऊ जात, बालक, बृद्घ, केही नभनी समानरुपले सर्बत्र आक्रमण गरिरहेको छ । यस्ले यो धर्म, त्यो धर्म पनि नभनि सारा जगतलाई सुनसान हुने गरि लकडाउन गरेर आफू मृत्युको नाङ्गो नाच नाचिरहेको छ ।
हिन्दु, इसाई, मुस्लिम, बुद्घिष्ट आदि इत्यादि, जो जुन धर्मसँग सम्बन्धित राष्ट्र भए पनि कोभिड १९ ले आफ्नो बसमा पार्न सफल भैरहेको छ । हाम्रो देश नेपाल अनि हामी नेपाली, परापूर्वकालदेखि नै सबै जनजाति, धर्म धर्मालम्बीहरु एक आपसमा मिलेर बसेका छौ, हाम्रो देशलाई चार बर्ण छत्तीस जातको साझा फूलवारी भनेर दुनियाँलाई चिनाएका पनि छौ । हामी जुन धर्ममा आस्था राखे पनि भगवान सिर्फ एक रुप अनेक भन्ने गर्दछौं ।
जिन्दगीमा आइपरेको अप्ठ्यारो अनि अन्धकारबाट बाहिर आउनका लागि हामी सबै नै आ–आफ्नो आस्था र बिश्वास राख्ने भगवानसँग प्राथना गर्दछौ । यो कुनै नौलो कुरा होइन, आस्था राख्नुपर्छ, म स्वयं अल्लाहमा आस्था राख्ने मान्छे हुँ । तर आस्था राख्नुपर्छ भन्दैमा अन्धबिश्वास नै गर्नुपर्छ भन्ने हैन । अहिले आएर मुस्लिम समूदायलाई नै असर पर्नेगरी बिदेशी मुस्लिमहरुलाई नेपालमा आवत जावतमा रोक नलगाई धर्मस्थलमा बास बस्न दिएकै कारणले उदयपुर गाईघाटमा धेरैजना मुस्लिममा कोभिड १९ पोजेटिभ देखिएको खबरले म अत्यन्तै दुखित भएको छु ।
म एक मुसलमान मात्र नभएर सच्चा नेपाली भएको नाताले हाम्रो नेपाली मुसलमान समुदायका सम्पूर्णलाई के भन्न चाहन्छु भने “अतिथी देवो भव “ लाई केही दिनका लागि मनबाट टाढै राखौं । यो कोभिड १९ ले तपाईं र मलाई मात्र मार्ने होइन, यदि हामिले अब पनि सोच्न ढिला गर्याै भने हामीले हाम्रो परिवार, छोराछोरी, दाजुभाइका साथै टोल छिमेकमा रहेका सबै साथीभाइलाई सार्न र मार्न पनि सक्छौं । यसमा कुनै दुईमत नै छैन । त्यसैले म सबैमा यो अपिल गर्दछु कि,! हामी आफू पनि बचौं र अरूलाई पनि बचाऔं भन्दै मेरो छोटो कविता पनि जोड्न चाहन्छु ।
यो हो बिपदको बेला धैर्यता गर मानव,
विश्वमा औषधि यसको तुरुन्तै छैन सम्भव,
एक आपसमा हामी टाढा सुरक्षित भर्ई बसौ,
मान्छेको दुखमा मान्छे, सबैले केही न केही गरौं ।
यो युद्व भनेको कुनै राजनीतिक दल, कुनै धर्मसँगको होइन । यो युद्व भनेको कोभिड १९ सँगको हो । त्यसैले हामीले सरकारको आज्ञा पालना गरी लकडाउनमा बसेर मात्र जीत हासिल गर्न सकिन्छ भन्ने कुरा सबैले बुझ्न जरूरी छ ।
मेरो मतलव भगवानमा आस्था नराखौ भन्ने पटक्कै हैन आस्था राखौं, राख्नुपर्छ । पूजा पाठ जे जे गर्नु छ आफ्नो घरभित्रै गरौ । बाहिर चटक देखाउन जरूरी छैन, अहिले मनलाई जे गर्दा शान्ति मिल्छ गरौं तर लकडाउन भित्र बसेर गरौं । अहिलेको समयमा रिस र बलले केही हुनेवाला छैन, त्यसैले संयमता अपनाऔ । घरमा सुरक्षित बसेर कोभिड १९ सँगको यो हाम्रो लडाईमा जीत हाँसिल गरौं । भोलि फेरि पहिलेकै अवस्थामा फर्किन सकौं भन्दै फेरि एक पटक सबैलाई हात जोडेर यो भन्न चाहन्छु कि हाम्रो नियमित ध्यान हुने मस्जिदहरू बन्द गरी मानव कल्याणको लागि कोरोना भाइरसबिरूद्व लड्न नेपाली मुस्लिम समाजलाई अनुरोध गर्दै म तपाईहरुको प्यारो कलाकार तैयव शाह, सदैब राष्ट्र र समाजप्रति समर्पित रहनेछु भन्दै अन्तमा महाकवि लक्ष्मीप्रसाद देबकोटाको एक पंक्ति स्मरण गर्न चाहन्छुः “मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।’