काठमाडौं, ८ बैसाख । ‘साधारणतया म सुत्न त चार घण्टा मात्रै सुत्छु तर, शरीरमा जवान मिर्गाैला भएकाले उसको गति छिटो छ, उसको गतिमा अझैं मेरो गति मिल्न सकेको छैन ।’
गत फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ६९ वर्षीय प्रधानमन्त्री केपी शर्मा ओली भन्छन्, ‘जवान मिर्गाैलाले बढी काम गरौं भन्छ । उसले बढी पानी खा, व्यायाम गर भन्छ । म कोरोना प्रकोपको रोकथाम र नियन्त्रणमा लागिरहेको छु । यसमा सक्रिय रहँदा मलाई एक प्रकारको व्यायाम मिलको छ ।’
प्रधानमन्त्री ओलीलाई उनकी ३२ वर्षीया भाञ्जी समीक्षा सङ्ग्रौलाले मिर्गाैला दान गरेकी थिइन् । फागुन १९ गते प्रत्यारोपणका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओली २१ गते मिर्गाैला प्रत्यारोपणपछि फागुन ३० गते अस्पतालबाट निवास फिर्ता भएका थिए ।
पहिला मिर्गाैला प्रत्यारोपण भइसकेको र अन्य रोगका कारणले समेत शरीरले नयाँ मिर्गौला धान्न सक्नेमा आशंका गरिएको थियो । त्यसैले दोस्रो प्रत्यारोपण जोखिमयुक्त मानिएको थियो ।
त्यसबेला स्वदेशकै अनुभवी चिकित्सकको मेहनत र उहाँको दह्रो आत्मबलका कारण प्रत्यारोपण सफल भयो । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रधानमन्त्री ओलीलाई बधाई र शुभकामना व्यक्त गरिएको थियो । विश्वमा दोस्रो मिर्गाैला प्रत्यारोपण गरिएका बहालवाला प्रधानमन्त्रीमा सम्भवतः ओली मात्रै हुन् ।
अहिले प्रधानमन्त्री ओली पहिले जस्तो आफै मोबाइल आफै उठाउँदैनन्, अरूले उठाएको मोबाइलमा कुरा गर्छन् । आफूले गर्नु पर्दा पनि जरुरी बाहेक सहयोगीले सम्पर्क गराई दिन्छन् । प्रत्यारोपणका क्रममा उनको देब्रे खुट्टाका नसा अलि तानिएकाले त्यो बल्ल ठीक हुने स्थितिमा छ ।
उनको शरीरमा प्रतिरोधी क्षमताको औषधि चलाइएकाले कहिलेकाहीं चिनीरोग र न्यून रक्तचापको समस्या हुने गर्छ । प्रत्यारोपणको पुरानै बिरामी भएकाले यसको सामना गर्न आफू अभ्यस्त भएको उनी बताउँछन् ।
सरकारी स्वामित्वका सञ्चारमाध्यमका प्रतिनिधिले शनिबार विशेष अन्तर्वार्ता लिने क्रमको अन्त्यमा प्रधानमन्त्री ओलीलाई सोधेका थिए, ‘अहिले तपार्ईको स्वास्थ्यस्थिति कस्तो छ ? दैनिकी कसरी बितिरहेको छ ?’
दुई घण्टासम्म अन्तर्वार्तामा सहभागी रहेका ओलीको जवाफ थियो, ‘म ठीक छु, स्वस्थ छु । अन्यथा यसरी तपाईहरू समक्ष उपस्थित हुने थिइन । मेरो प्रत्यारोपण सफल हुनुलाई मैले जनता र पार्टीले मेरो काँधमा उत्तरदायित्व थपेको महसुस गरेको छु ।
यस्तो अवस्थामा आम मानिस हुँदो हो त यतिबेला ऊ अस्पतालमै आराम गरिरहेको हुन सक्थ्यो, संयोगले म तपाईहरूसँग छु ।’ दोस्रो मिर्गाैला प्रत्यारोपणभन्दा केही मात्र अघि प्रधानमन्त्री ओली गत मंसिरमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्दा १० दिन अस्पतालमा रहेका थिए ।
प्रधानमन्त्री ओलीले आफूलाई आहार, व्यायाम र आराम आवश्यक रहेकामा हाल आराम अलि नपुगेको अनुभूति भने गरेको देखिन्छ । आफू सामान्यतः बिहान ५ बजे उठेर राति १ बजे सुत्ने गरेको बताउँदै उनले भने, ‘सुत्ने समय बढाऊँ भन्छु तर व्यवस्थापन गर्न सकिरहेको छैन । ढिलो सुत्ने मेरो पुरानो बानी पनि हो ।’ उनी अब सुत्ने समय राति १२ बजे र उठ्ने प्रातः ६ बनाउने प्रयत्नमा छन् ।
प्रधानमन्त्री ओली अस्पतालमा रहँदा मुलुकमा कोरोना भाइरसको जोखिम बढिरहेको थियो । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आफ्नो ढङ्गले काम गर्ने अख्तियारी त पाएको थियो तर लकडाउन लागू गर्ने–नगर्ने, सङ्क्रमित एकाएक बढे भने के गर्ने, औषधि, जनशक्ति र उपकरणको प्रबन्ध कसरी गर्ने आदि विषयमा नीतिगत निर्णयका लागि प्रधानमन्त्रीको निर्देशन र मन्त्रिपरिषद्का निर्णय आवश्यक पर्थे । प्रधानमन्त्री नौ दिनमै निवास फर्केकाले त्यस प्रकारको समस्या र अन्योल देखिन पाएन । उनी अस्पतालबाट निवास आएको १० दिनपछि मुलुकमा लकडाउन आदेश जारी भयो ।
अस्पतालबाट फर्केपछि ओली पहिलो सार्वजनिक कार्यक्रमका रुपमा गत चैत २ गते सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एक्सन कक्षबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का राष्ट्र प्रमुख–सरकार प्रमुखसँगको भिडियो अन्तरक्रियामा सहभागी भए ।
त्यसयता मन्त्रिपरिषद्का नियमित बैठक भइरहेका छन् भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पनि सम्पन्न भएको छ । प्रधानमन्त्री ओलीले कोरोना रोकथाम र नियन्त्रणबारे कहिले सातै प्रदेशका मुख्यमन्त्री तथा कहिले विदेशमा रहेका नेपाली श्रमिक र विद्यार्थीको अवस्था बुझ्न विभिन्न मुलुकका समकक्षीसँग भिडियो संवाद गर्दै आएका छन् ।
सरकारलाई तथ्यहीन आरोप लगाउने र आफ्नो स्वास्थ्यबारे अनावश्यक टिप्पणी गर्नेप्रति प्रधानमन्त्री ओलीलेले भने, ‘तिनले बिरामी प्रधानमन्त्रीले देश चलायो भन्छन् । मबाट यसभन्दा बढी के अपेक्षा गर्ने ? आफैं बिरामी भएर पनि देशलाई सङ्क्रमणबाट जोगायो भन्न पनि सकिन्थ्यो । मेरो काम गर्ने बानी छ, गरिरहन्छु । म अहिले पनि दैनिक १८ घण्टा काम गर्छु । मलाई जस लिनुपर्ने वा मूल्याङ्कन होस् भन्ने भावना पनि छैन । बफादारिताका साथ देश र जनताका लागि काम गर्ने हो । त्यो गरिरहन्छु ।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली बिहान चाँडै उठेर घटनाक्रममा अद्यावधिक हुने तथा मन्त्री, सुरक्षा निकायका प्रतिनिधि र आवश्यक भेटघाट तथा निर्देशन दिने काम गर्दै आएका छन् ।
हाल पत्रपत्रिका आफैले नियमित अध्ययन नगरे पनि उनी सामाजिक सञ्जालबाट नियमित अपडेट हुने गरेको जनाउँदै थापाले भने, ‘सामाजिक सञ्जालमा उहाँ हामीभन्दा बढी अपडेट हुनुहुन्छ । सम्बन्धित पक्षसँग सूचना पनि लिइरहनु हुन्छ ।’ रासस
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अध्यावधिक गरिएको हो। निर्वाचन आयोगका...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै विपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन्...
काठमाडौं। विपक्षी दलहरूको बैठकले तत्काल सङ्घीय संसद्को बैठक बोलाउन सरकारलाई आह्वान गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बिचौलियासँग...
काठमाडौँ। नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको हो। बैठकमा कांग्रेस संसदीय दलका...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालनको अधिकार भएपनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको बताएको छ। आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend