Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गयो: प्रचण्ड


    बिहिबार, चैत्र ७ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बन्दै गएको दाबी गरेका छन्। जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत बारामा आयोजित मधेश जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

    विगतमा कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर चुनाव लड्दा उनीहरूले फाइदा लिने तर माओवादीले घाटा व्यहोर्ने अवस्था रहेको उल्लेख गर्दै उनले अब एक्लैले चुनाव लडेर श्रेष्ठता हासिल गर्ने आधार बलियो बन्दै गएको बताए।

    ‘गत उपनिर्वाचनमा कांग्रेस एमाले मिलेर मात्र होइन, उनीहरुले आपसमा चुनाव चिह्न साटफेर गरेर माओवादीविरुद्ध लड्दा पनि हामीले धेरै ठाउँमा भारी मतान्तरले जितेका थियौँ,’ उनले भने, ‘अहिले स्ववियु निर्वाचनमा आउँदा पनि कांग्रेस र एमालेसमर्थित विद्यार्थी संगठनहरु मिलेर चुनाव लड्दा पनि अखिल क्रान्तिकारीले एक्लै देशव्यापी उत्साहप्रद नतिजा निकालेको छ।, कयौं ठूला क्याम्पसमा तिसौँ वर्षदेखिका रेकर्ड तोडिएका छन्। युवा विद्यार्थीहरु अब प्रतिगमन र यथास्थितिको पक्षमा नभई अग्रगमन र परिवर्तनको पक्षमा छन् भन्ने स्ववियु निर्वाचनले स्पष्ट सन्देश दिएको छ।’

    प्रचण्डले सरकारका गलत क्रियाकलापको फाइदा उठाएर प्रतिगामी शक्तिहरुले टाउको उठाउने दुस्साहस गरेको टिप्पणी गर्दै जनताको अधिकारको रक्षाका लागि प्रतिगामी र यथास्थितिवादी शक्तिका विरुद्ध लड्नुपर्ने दायित्व फेरि जनताकै काँधमा आएको बताए।

    पार्टीलेले अघि बढाएको तराई मधेस जागरण अभियानले दक्षिण नेपालका लाखौं जनतामा नयाँ भरोसा जगाएको उनको दाबी छ। अभियानका क्रममा यस क्षेत्रका जनताका समस्याको गहिरो अध्ययन गरी समाधानका लागि पहल गर्ने पनि उनको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार