काठमाडौँ, ६ बैशाख । धनुषामा सडकमा पैसा फालेर भागेका २ महिलालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका ७ निवासी मुस्लिम महिला आमुना खातुन र अलिना खातुन रहेका छन् । प्रहरीले सीसीटीभी फुटेजको आधारमा शनिबार जनकपुरधामको जानकी नगरबाट पक्राउ गरेको हो ।
उनीहरु दुवै नातामा भाउजू र नन्द हुन् । आज करिव अढाई बजे जानकी नगरस्थित मदरसाको पछाडिबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको धनुषा प्रहरीका नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।
जनकपुरधाम उपमहानगरपालिका(५ महावीर चौकको सडकमा उनीहरूले पैसा फालेका थिए । सीसीटीभी फुटेजमा मुख छोपेका २ जना महिला देखिएपछि प्रहरीले ती महिलाको खोजी शुक्रबारदेखि शुरु गरेको थियो । शुक्रबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका(५ महावीर चोकको सडकको विभिन्न ठाँउमा स्थानीयले पैसा देखे तर कसैले पनि पैसामा छुने आँट गरेनन । सडकमा १० र १ सयको नोट फालिएको अवस्थामा देखेपछि स्थानीय पैसा देख्नेबित्तीकै प्रहरीलाई खबर गरेको थियो ।