सर्लाही, ६ बैशाख । कोरोना भाइरसको महामारी फैलिने क्रम जारी छ । शुक्रबारमात्रै नेपालमा १४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमा उदयपुरको मस्जिदमा बसेका १२ भारतीय नागरिक छन् ।
यसैक्रममा सर्लाहीमा र्यापिड टेष्ट गर्दा एक बालकमा कोरोना भाइरसको एन्टीबडी पोजेटिभ देखिएको छ ।
सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १४ वर्षीय बालकमा र्यापिड टेष्ट गर्दा कोरोना भाइरसको एन्टीबडी देखिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । एन्टीबडी पोजेटिभ देखिएका ती बालकलाई राति नै जनकपुरधाम पठाइएको प्रशासनले जनाएको छ । ती बालक गत चैत २३ गते भारतको दिल्ली हुँदै सर्लाही पुगेका थिए ।